शनिबार, साउन १२, २०८१
03:06 | ०७:५१

राष्ट्रपतिद्वारा नवदुर्गाको विशेष पूजा

रासस अक्टोबर २८, २०२३

राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा शनिबार भक्तपुरको नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको विशेष पूजा अर्चना गर्दै । तस्बिर- रमेश गिरी/रासस

भक्तपुर, ११ कात्तिक– कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका, प्रसाद ग्रहण गरेका छन् ।

प्रथम महिला सविता पौडेलसहित राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पूजा गरेका हुन् ।

राष्ट्रपतिले नवदुर्गालाई ८४ व्यञ्जन अर्पण गर्दै विशेष पूजा गरे । साथै उनले नवदुर्गा नाचसमेत अवलोकन गरे ।

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सङ्कल्प पूजा गराएका थिए । त्यसैगरी नवदुर्गाका मूल नाइके कृष्णकुमार बनमाला, सहायक नाइकेहरू भैलबहादुर बनमाला र इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद प्रदान गरेका थिए ।

राष्ट्रपति पौडेलले नवदुर्गा देवगणको दर्शन पनि गरेका थिए । विगतका वर्षमा नवदुर्गा मन्दिर प्रवेश गरी राष्ट्रप्रमुखले दर्शन गर्ने परम्परा रहेकामा यो वर्ष मन्दिरको प्राङ्गणमा विशेष पूजा गरिएको थियो ।

राष्ट्रपति पौडेललाई बागमती प्रदेशका पशुपक्षीमन्त्री डा राजेन्द्रमान श्रेष्ठ, बागमती प्रदेशसभा सदस्यद्वय किरण थापा र सुरेश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौला, गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख खिमा वलीले स्वागत गरेका थिए ।

मल्लकालदेखि राजाहरूले नवदुर्गाको पूजा आए पनि बीचमा यो परम्परा टुटेको थियो । विसं २०४५ को भूकम्पपछि दैवीप्रकोपबाट देश र जनतालाई जोगाउने विश्वासमा तत्कालीन राष्ट्रप्रमुखले यो पूजालाई निरन्तरता दिएको नवदुर्गा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणप्रसाद बनमालाले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू