शनिबार, साउन १२, २०८१
16:40 | २१:२५

कोजाग्रत पूर्णिमामा कांग्रेसको चियापान

रासस अक्टोबर २८, २०२३

नेपाली कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा बडादसैँ, तिहार, नेपाल संवत र छठ पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल …’प्रचण्ड’ नेका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल । तस्बिर- प्रदीपराज वन्त/रासस

पाटन (ललितपुर), ११ कात्तिक रासस आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले विगतमा झैं यो वर्ष पनि कोजाग्रत पूर्णिमाका अवसरमा आज नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वसभामुखहरू अग्निप्रसाद सापकोटा र दमननाथ ढुंगाना, जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित उच्चपदस्थ राजनीतिकर्मीसहित विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति थियो ।

चियापानमा प्रधानमन्त्री दाहालले चाडपर्वका अवसरमा आयोजित यस्ता कार्यक्रमले आपसी एकता अभिवृद्धि, राष्ट्रिय राजनीतिलाई स्थिरता, सहमति र सहकार्यको दिशातिर लैजाने बताए । उनले यस्ता कार्यक्रमले आउने दिनमा जनताको विकास र समृद्धिको अपेक्षा पूरा गर्ने विश्वाससमेत व्यक्त गरे ।

“यो चियापान संस्कृति विपी कोइराला जीवितै हुँदा सुरु गरिएको संस्कृति हो । यसले आपसी एकता र सद्भाव वृद्धि गरेको छ, यो बीचमा मेरो दौडधुप पनि परिवर्तनका लागि सङ्घर्षमा होमिएका सबै राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउनमा केन्द्रित छ”, प्रधानमन्त्री दाहालले भने ।

त्यस्तै पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले प्रमुख राजनीतिक दलमाथि प्रश्न उठाउने प्रयास गरिएको बताए । “हामीमाथि प्रश्न उठेको होइन, प्रश्न उठाउने प्रयासमात्र भएको छ, त्यस्तो प्रयासलाई हामी उचित समयमा उचित जवाफ दिनेछौँ”, ओलीले भने ।

चियापानमा उपस्थित विशिष्ठ व्यक्तित्वहरू तथा सर्वसाधारणलाई पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र केन्द्रीय सदस्यले स्वागत अभिवादन गरेका थिए ।

दिउँसो १ बजेदेखि सुरु भएको कार्यक्रम अपराह्न ५ बजेसम्म सञ्चालन भएको थियो । कांग्रेसले बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन गर्दै आइरहेको चियापान कोरोना महामारीका कारण विगतका केही वर्षमा आयोजना हुनसकेको थिएन ।

विपी कोइराला विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो ।

उपत्यकाका विभिन्न अस्पतालहरूमा देखिएको रगतको अभावलाई परिपूर्ति गर्ने अभिप्रायले चियापान समारोहको अवसरमा रक्तदान कार्यक्रमसमेत गरिएको थियो । कार्यक्रममा कांग्रेसका कार्यकर्तासहित शुभेच्छुकहरूले रक्तदान गरे ।

दलहरुप्रतिको आलोचना सकारात्मक रुपमा लिनुपर्छः देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मकरुपमा लिएको बताएका छन् ।

चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसंग कुराकानी गर्दै देउवाले भने “दलहरुप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु ।”

राजनीतिक दलहरुले आफूलाई जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सबै राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको दाबी गरे । देउवाले भने, “राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन ।”

कांग्रेस पार्टीभित्र बेमेल भइरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा देउवाले पार्टीभित्र बेमेल रहेको कुरा सत्य नभएको बताए । उनले भने, “दलभित्रको फरक मत हुन सक्लान,यसलाई हामीले व्यवस्थापन गरिरहेका छौँ ।”

सो अवसरमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्कटका बेला दल हातेमालो गर्दै अगाडि बढेको विगतका घटना स्मरण गर्दै अबका चुनौतीलाई हल गर्न पनि दल एक हुनुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दलबीच सद्भाव बाँड्ने परम्पराका रुपमा चियापान कार्यक्रम हुँदै आएको उल्लेख गर्दै चियापानले दलहरुप्रति संवाद आदानप्रदान हुने विश्वास व्यक्त गरे ।

“चुनावी प्रतिस्पर्धा आफ्नो ठाउँमा छ, प्रतिस्पर्धालाई एक ठाउँमा राखेर आपसी सद्भावका लागि गरिएको यस्तो कार्यले उच्च राजनीतिक संस्कार प्रदर्शन गरेको छ”, लामिछानेले भने ।

तस्विरहरु- रासस

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू