शनिबार, साउन १२, २०८१
02:15 | ०७:००

गेसोमा एकता, भावी आन्दोलन एकसाथ गर्ने सहमति

नेपाली लिङ्क अक्टोबर २६, २०२३

लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) को आन्तरिक विवाद साम्य भएको छ । यसअघि संस्थापक सभापति पदम बहादुर गुरूङ र वर्तमान सभापति कृष्ण कुमार राईबीच नेतृत्वलाई लिएर असमझदारी एवं विवाद थियो ।

केही वर्ष निष्क्रिय रहेका संस्थापक गुरुङले पछि एक्कासी गेसो सभापति ‘म आफैं हो’ भन्दै बेग्लै भेला गर्न थालेका थिए । राईको नेतृत्व विधि विधान सम्मत नभएको जिकिर गुरुङको थियो । उनको पक्षमा सानो समूह रहेपनि गोर्खा समुदायमा देखिएको भ्रम अब अन्त्य भएको छ ।

२५ अक्टोबरका दिन गेसो पूर्व महासचिव महेन्द्र लाल राईको संयोजकत्वमा भएको एक वार्तामा वर्तमान सभापति राई र संस्थापक सभापति गुरूङ एकै ठाउंमा आएर आफ्ना मतभेद अन्त्य गर्न राजी भएका छन् ।

उपसभापति धर्म बहादुर तामाङ र महासचिव नरहाङ राई समेत सहभागी उक्त वार्तामा एकजुट भएर गेसोले गर्ने भावी कार्यक्रम र रणनीतिबारे सौहार्दपूर्ण छलफल भएको वर्तमान सभापति राईले जनाए ।

सो अवसरमा आउंदो २२ नोभेम्बरमा हुने तय भएको बेलायत र नेपाल सरकार (जीटुजी) वार्ताका विषय र त्यसपछि हुन सक्ने सम्भावित परिणामबारे समेत गहन छलफल भएको राईले बताए ।

गोर्खा संगठनहरुबीच नै असमझदारी हुंदा बेलायती रक्षा मन्त्रालय (एमओडी) ले गोर्खा माग पुरा गर्न आनाकानी गरिरहेको कतिपयको बुझाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू