आइतबार, वैशाख १६, २०८१
10:20 | १५:०५

लन्डनमा दशकभित्र लोभलाग्दो बन्यो राजको व्यवसायिक सफलता

नेपाली लिङ्क अक्टोबर २०, २०२३

राज आफ्नी जीवनसंगिनी रक्षाका साथ

लन्डन । ११ वर्ष अघि लन्डन उत्रंदा उनको साथमा केही थिएन, थियो त केवल सुन्दर सपना । बिरानो शहर, आकांक्षा अनेक । कुहिरोको काग जस्तै रुमल्लिरहेका बेला अभावै अभाव थियो विदेशी माटोमा ।

विद्यार्थीका रुपमा आफ्नी जीवनसंगिनी रक्षा थापाको डिपेन्डेन्ट थिए राज पाण्डे । करिब एक दशक समयमा अहिले उनीसंग सबथोक छ । लन्डनमा गाडी, घर, कम्पनी, कामदार, साथीभाई छन् । नेपाल हेटौंडामा जन्मघर यथावत छ, हाल भैंसेपाटीमा दुईटा घर जोडेका छन् ।

माया सपोर्टेड लिभिङका प्रवन्ध निर्देशक पाण्डे लन्डनका सफल युवा व्यवसायीको पंक्तिमा छन् । सन् २०१८ जुनमा दर्ता भएर फेबुअरी २०१९, २१ तारिखदेखि सेवा दिन थालेको माया सपोर्टेड लिभिङका अहिले ९ वटा शाखा पुगेको छ ।

लर्निङ डिसेबलिटी, अटिजम, मेन्टल हेल्थ (डिमेन्सिया) जस्ता बिरामीलाई सपोर्ट गर्ने काम गर्छ उनको कम्पनीले । विरामीलाई सन्चो बनाएर पुनः कम्युनिटीमा फर्किन सहयोग गर्ने मायाको प्रमुख प्राथमिकता छ । ‘हाम्रो घरमा आएपछि सबै सिकाइन्छ, होलिडे लाने देखि खेल गतिविधि गराउनेसम्म गर्छौं हामी’, पाण्डेले सुनाए ।

राजले केही समयअघिमात्र नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई आफ्नो कम्पनीको ब्राण्ड एम्बासडर समेत बनाएका छन्

नेपाली त्यति आवद्ध नभएको पेशामा राज कसरी आए ? उनकै शब्दमा सन् २०१२ मा लन्डन उत्रिएर सु सेफको काम गरे उनले, सेफ भए तर हेड सेफ हुन दिएनन् । केही रचनात्मक र पृथक काम गरौं भन्ने मानसिकता बनाइरहेका राज यस कामबाट कत्ति खुशी थिएनन् । ‘रेष्टुरेन्ट लाइनमा छुट्टी पनि नपाइने, न कुनै प्रगति हुने अनि केही नयां गरौं भनेर यस काममा लागें’, उनले नेपाली लिंकसंग भने ।

उनले घर घरमा गएर बिरामीको रेखदेख गर्ने काम गर्न थाले । यस कामले उनलाई खुशी दिन थाल्यो । ‘यो काममा मलाई हरि भट्टले इन्करेज गर्नुभयो । लेभल थ्री हेल्थ एण्ड सोसियल केयर कोर्स पनि गरें’, उनी विगत स्मरण गर्छन्, ‘शुरुमा २ हप्ताभित्र ११ वटा इन्टरभ्यू दिएको थिएं अप्टिमा केयरमा असिस्टेन्ट म्यानेजरको काम थालें ।’ राजलाई यो काम ओके गरेकै दिन अर्को कामबाट पनि फोन आएको थियो तर उनले यही रोजे ।

सन् २०१६ तिर हो । ४ महिनामा एरिया म्यानेजर बने । ३८ वटा शाखा रहेको अप्टिमा केयरमा ५ महिनापछि क्राइसिस म्यानेजरको रोल पाए । जिम्मेवारी वृद्धि भएसंगै उनलाई पावर पनि थपियो । कर्मचारी राख्ने निकाल्ने उनकै हातमा थियो । राजले उक्त कम्पनीलाई धेरै उचाइमा पुरयाइदिए ।

‘म गर्वका साथ भन्छु मैले त्यो बेला धेरै रामो काम गरें’, उनले सम्झिए, ‘डेढ वर्ष जति काम गरेपछि त्यहां छाडेर आफनै कम्पनी खोलें ।’

कम्पनी खोलेर मात्र पुग्ने थिएन । सबैं आफैंले गर्नु परेपछि शुरुमा गारहो पनि भयो उनलाई । उनले सन् २०१९ देखि २०२० सम्म केयर म्यानेजमेन्ट एक्सपर्ट लिन्डसे रोबर्टसनलाई लिए । आफ्नी जीवनसंगिनी रक्षा थापा एचआर हेर्थिन् । कम्पनीले गति लिन थाल्यो ।

च्यारिटी संस्था द डिसेबिलिटी ट्रष्टमा प्रोगाम म्यानेजमेन्ट हेर्ने लिन्डसेले अहिले पनि आवश्यक पर्दा सबै सुझाव सल्लाह दिने बताउंछन् राज ।

लन्डन हन्स्लोस्थित आर्गाइल एभिन्यूमा खुलेको पहिलो साइट थियो माया सपोर्टेड लिभिङको । अहिले उनका ९ वटा साइट र ३६ क्लाइन्टस छन् ।

‘मान्छेको संख्या भन्दा पनि निड्सबाट व्यवसायिक फाइदा हुन्छ’, उनी भन्छन् ‘म चुनौति भएको क्लाइन्ट लिन्छु । थोरै सर्भिस पैसा धेरै हुन्छ यसमा । क्लाइन्टको सबै खर्च स्थानीय हन्स्लो काउन्सिलले पे गर्छ ।’

उनी म्यानेजर अनुभवी खोज्छन् तर कांचो मान्छेलाई काम दिन्छन् किनकि सिकाउन सजिलो हुन्छ । यो व्यवसायमा कम चुनौति भने छैन् । ‘केयर क्वालिटी कमिसनको कम्प्लायन्स अनुशरण गर्नु पर्छ । यसको रुट के हो थाहा पाउनुपर्छ । क्लाइन्ट ल्याउन सक्नु पर्छ’, राजले चुनौति सुनाए ।

बिजनेशमा सबै सफल हुंदैनन् । तर, राजसंग के छ त्यस्तो जादु ? ‘कुनै पनि व्यवसायमा दीर्घकालिन सोच्नु पर्छ । लगानी गर्ने बित्तिकै प्रतिफल आउन्न’, उनी भन्छन्, ‘बिजनेशबारे आफूलाई थाहा हुन जरुरी छ । आफू दक्ष छैन भने लगानी नगर्नु नै उत्तम हुन्छ । मेरो तीन वर्ष लगानी उठेको थिएन ।’

अहिले कन्सल्टेशन पनि दिन्छन् राज । विजनेश सेटअप गरिदिने काम पनि गर्छन् । तर, उनी महंगा छन् । ‘कसैलाई काम लगाएपछि उसलाई समयको पैसा तिर्नुपर्छ, व्यवसायिक हुनुपर्छ भन्ने मेरो मान्यता छ’, उनले भने, ‘म पनि लिन्छु अरुलाई पनि निशुल्क काम लगाउन्न ।’

राजले लन्डनमा पहिलो तलव मासिक ८७१ पाउण्ड थापेका थिए । ‘त्यो बेला म र बुढी पैसा बचाउन पार्टी छलेर काम गर्दथ्यौं । स्टारबक्स कफी पिउने हाम्रो सपना हुन्थ्यो । बुढीको कलेज फि तिर्न साथमा पैसा नै हुन्थेन’, राज भावुक बने, ‘लन्डनको वुलवीचमा बस्थ्यौं हामी । धेरै दिन चाउचाउ खाएर पनि गुजारा गरियो ।’ अहिले १२ हजार मासिक कमाइ छ उनको ।

यो वर्षमात्र राज दम्पत्तिले करिब २७ हजार पाउण्डको च्यारिटी गरिसकेका छन् । नेपाल 
भैंसेपाटीस्थित द अर्फान्स् होम्स्का लागि उनले ५ लाख रुपैयां पठाइदिएका छन् दशैं सामान किन्न । 
राज दम्पत्तिसहित बेलायतका मनकारी केही नेपालीले धेरथोर सहयोग गरेर संकलित उक्त रकमबाट टुहुरा बालबालिकाका लागि दशैं मनाउन एक ट्रक सामान किनिदिने राजको योजना छ ।

विगतमा पनि उनले धेरै च्यारिटी काम गरेका छन् । नेपालको क्रिकेट खेल विकासमा उनको योगदान छ । बेलायतमा हुने हरेक क्रिकेट इभेन्ट्समा प्रायोजन गरिदिने गरेका छन् राज ।

राज दक्षिण लन्डनको ल्याम्बेथ बरोमा अवस्थित अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्डमा नेपाली प्रतियोगिता गर्ने तयारीमा जुटेका छन् । सन् १८४५ मा स्थापना भएयता सरे काउन्टी क्रिकेट क्लवको घरेलु मैदान बनेको उक्त स्थानमा माया इभेन्ट्सले ‘टी टेन क्रिकेट प्रतियोगिता’ गर्न लागेको हो ।

आयोजक माया इभेन्ट्स तथा माया सपोर्टेड लिभिङ लि. का निर्देशक पाण्डेले नेपालस्थित द अरफान्स होमको सहयोगार्थ आउंदो जुन २०२४ मा टी टेन प्रतियोगिता गर्ने तयारी भएको जानकारी दिए ।

पाण्डेका अनुसार, नेपाल र विदेशमा रहेका अन्तर्राष्ट्रिय खेलाडी र विदेशी खेलाडी गरि ६ टिम किया ओभल स्टेडियममा भिड्नेछन् ।

उक्त प्रतियोगिताको अनुमानित खर्च झण्डै एक लाख १० हजार पाउण्ड हुनेछ । नेपालीले निजी क्षेत्रबाट संयुक्त अधिराज्य (यूके) मा गर्न लागेको यो पहिलो ठूलो महत्वकांक्षी इभेन्ट हो । प्रतियोगितालाई बेलायती प्राविधिकको सहयोगमा प्राइम टिभीबाट लाइभ गर्ने तयारी छ ।

नेपालले क्रिकेटमा ठूलो फड्को मारिरहेका बेला बेलायतमा त्यो स्तरमा प्रतियोगिता गर्दा नेपाली खेलाडीको एक्पोजर थप बढ्ने विश्वास पाण्डेको छ ।
‘मेरो उद्देश्य नेपाली खेलाडीलाई बेलायतसंग लिंकअप गराउने हो’, पाण्डेले भने, ‘यस्ता प्रतियोगिताले खेलाडीको मनोवल पनि बढ्नेछ ।’

त्यसो त राज र अर्का युवा व्यवसायी टंक भट्टराईको नाममा लन्डन सुपरस्पोर्टस क्रिकेट क्लव दर्ता छ । नेपालमा हेटौंडा छंदा क्षेत्रीय स्तरको क्रिकेट खेलाडी थिए उनी । यस कारण पनि उनको नशा नशामा छ क्रिकेट । राजले केही समयअघिमात्र नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई आफ्नो कम्पनीको ब्राण्ड एम्बासडर समेत बनाएका छन् ।

नेपालमा खेल विकास र खेलाडीको आर्थिक स्तर उकास्न केही योगदान गर्न सकिन्छ कि भन्ने सोच आफ्नो रहेको उनी बताउंछन् ।

‘म एक्लैले गर्न सक्ने त केही होइन तर सबैको सहयोग भए गर्न सकिन्छ’, उनले भने, ‘मलाई च्यारिटी र समाजसेवामै आत्मसन्तुष्टि मिल्छ । थाहा छैन् कतिपय मानिस किन च्यारिटी गर्न हिच्किचाउंछन् ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू