पहिरोमा विस्थापित इलामवासीलाई हेल्प नेपाल नेटवर्क युकेको सहयोग



लन्डन – हालै नेपालमा भारी वर्षात् पछि पहिरोमा परेर धनजनको ठूलो क्षति भएको इलाम जिल्लामा विस्थापित परिवारहरुलाई हेल्प नेपाल नेटवर्क युकेले सहयोग गरेको छ।
इलाम नगरपालिकाको वडा नं ५, ६ र १० मा १९ वटा अस्थायी टहरा बनाउन हेल्प नेपाल युकेले रु चार लाख सहयोग गरेको हेल्प नेपाल युकेका अध्यक्ष सचिन श्रेष्ठले बताए।
उनले अहिले पनि अस्थायी टहरा बनाउन र अन्य मानवीय सहयोगका लागि स्थानीय समुदायबाट माग भैरहेकोले सक्दो सहयोग गर्न युकेस्थित हेल्प नेपालका सम्पूर्ण सहयोगी तथा शुभचिन्तकहरुलाई आग्रह गरे।
हेल्प नेपाल नेटवर्क नेपालका अध्यक्ष अरुण सिंह बस्नेतले इलाममा पहिरो गए लगत्तै आफुहरुलाई सहयोग का लागि अनुरोध आएको बताए।
उनले अस्थायी टहरा बनाउन बाँस लगायतका सामग्री दिने स्थानीय समुदाय र सहयोग गर्ने नेपाली सेना लगायत सबैलाई हार्दिक धन्यवाद पनि दिए।
हेल्प नेपाल नेटवर्क युकेले यो पेजमा गएर मन खोलेर सहयोग गर्न आग्रह गरेको छ।
“इलामका पहिरो पीडित लगायत मुगुमा संचालित हेल्थ पोस्ट तथा धुलिखेलस्थित बाल गृहको संचालनका लागि तपाईंहरुको अमूल्य सहयोगका लागि हामी हार्दिक अपिल गर्दछौं,” हेल्प नेपाल नेटवर्क युकेका अध्यक्ष सचिन श्रेष्ठले भने ।
उनले दाताहरुको सम्पूर्ण सहयोग संकलन पारदर्शी हुने पनि जनाए ।
हेल्प नेपाल नेटवर्कका गतिविधिबारे यो लिंकमा गएर थप जानकारी पाउन सकिन्छ ।