शनिबार, साउन १२, २०८१
05:56 | १०:४१

बेलायतको नेपाली रेष्टुरेन्ट ‘द २९०२९’ लाई ‘वेष्ट रेष्टुरेन्ट अफ द इयर’ अवार्ड

नेपाली लिङ्क अक्टोबर १९, २०२३

लन्डन । बेलायतको डोरसेटस्थित नेपाली व्यवस्थापनको एसियन रेष्टुरेन्ट ‘द २९०२९’ ले वेष्ट रेष्टुरेन्ट अफ द इयरको अवार्ड जितेको छ ।

करी लाइफ मिडिया ग्रुपको आयोजनामा सम्पन्न ‘करी लाइफ अवार्ड २०२३’ मा ‘द २९०२९’ रेष्टुरेन्टले उक्त अवार्ड प्राप्त गरेको हो।

विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई (२९०२९ फिट) बाट नामाकरण गरिएको उक्त रेष्टुरेन्ट सन् २०१४ देखि सञ्चालन भएको हो । उत्सव विष्ट, सिमलाल खरेल र माधव पोखरेल रेष्टुरेन्ट सञ्चालक छन् ।

करी लाइफ मिडिया ग्रुपले करी लाइफ म्यागेजिन र करी लाइफ इभेन्ट आयोजना गर्दै बेलायती करी उद्योगमा उत्कृष्ट, नवीनता र प्रेरणा पुरयाउने व्यक्ति तथा व्यवसायीलाई पुरस्कृत र हौसला प्रदान गर्दै आएको छ ।

विगत दुई दशकदेखि करी लाइफ म्यागजिन र करी लाइफ इभेन्ट्सले यूके, स्पेन, इटाली, जर्मनी, स्वीडेन, नर्वेलगायत विभिन्न देशमा व्यापार मेला, फूड फेस्टिभल, बिजनेस नेटवर्किङ इभेन्टहरू, प्रदर्शनी, प्रतियोगिता र पुरस्कार समारोह सफलतापूर्वक गर्दै आएको छ । करी लाइफ म्यागजिनले ‘ब्रिटिश करी फेस्टिभल’ नामक अन्तर्राष्ट्रिय खाना महोत्सव पनि गर्ने गर्छ ।

‘‘द २९०२९’ रेष्टुरेन्टले वेष्ट रेष्टुरेन्ट अफ द इयर अवार्ड जित्न सफल भएको छ, यसको योगदान रेष्टुरेन्टमा काम गर्ने सम्पूर्ण कर्मचारीलाई जान्छ, यसले हामीलाई काम गर्न थप हौसला प्रदान गर्नुका साथै अझ बढी जिम्मेवार र मिहिनेतकासाथ अघि बढ्न प्रेरणा दिएको छ’, रेष्टुरेन्ट सञचालक उत्सव विष्टले भने ।

वेरहाम, ब्रोडस्टन तथा वीन वर्णको रिमझिम रेष्टुरेन्टसहित तीनवटा शाखा सञ्चालन गर्दै आएको रेष्टुरेन्टले अब चाडै अर्को नयाँ रेष्टुरेन्ट पनि संचालनमा ल्याउने भएको छ ।

‘नयाँ रेष्टुरेन्टको नाम पनि ‘२९०२९’ नै रहनेछ जसको ७५ प्रतिशत काम सकिएको छ केहि दिनमा नै उद्घाटन र संचालनको मिति तय गर्नेछौं’, विष्टले भने । सकेसम्म धेरै जनालाई समेट्ने उद्देश्यले नयाँ रेष्टुरेन्टमा भने रामचन्द्र बन्जाडे र लक्ष्मण अर्यालसमेत सामेल हुने भएका छन् । तीन दर्जन बढी कर्मचारी कार्यरत ‘द २९०२९’ मा प्रायजसो नेपाली र केही युरोपियन तथा भारतीय कार्यरत छन् ।


‘द २९०२९’ रेष्टुरेन्ट बेलायतको चर्चित पर्यटकीय स्थलहरुमध्येको एक डर्डल डोर नजिक छ । रेष्टुरेन्टले विभिन्न सामाजिक कार्य समेत गर्दै आएको छ । यसले महामारीका वखत अस्पताल तथा सर्जरीमा निशुल्क खाना वितरण गरेर ‘कोभिड १९ विरुद्ध अग्रमोर्चामा खटिएका एनएचएस स्टाफ र स्वास्थ्यकर्मीलाई रेष्टुरेन्टमा बोलाएर निशुल्क खानपिन समेत प्रवन्ध गरेको थियो । सो रेष्टुरेन्ट डोरसेट क्षेत्रमा एशियन रेष्टुरेन्टमध्येकै प्रतिष्ठित छ ।

https://youtu.be/zfgTOC7wigk?si=yIDOrtI0V3CoVqTq

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू