शनिबार, साउन १२, २०८१
03:17 | ०८:०२

एनआरएनलाई अझ बढी सुदृढ गर्दै लैजानुपर्ने दायित्व हामीमाथि छ-तिमिल्सेना

नेपाली लिङ्क अक्टोबर १५, २०२३

कृष्ण प्रसाद तिमिल्सेना बेलायतका एक सालिन र स्वच्छ एनआरएन अभियन्ता हुन् । उनको सहयोगी भावना बेलायतको नेपाली समुदायमात्र होइन, विश्वभरका गैर आवासीय नेपालीले एक उदाहरणका रुपमा लिन्छन् । दुई दशक बढी समयदेखि बेलायत बस्दै आएका उनी एनआरएनए अभियानमा स्थापनाकाल देखि नै जोडिए । यसपटक तिमल्सेनाले फेरि सहकोषाध्यक्षमा मनोनयन दर्ता गरेका छन् । आइतबार मनोनयन दर्तापछि उनीसंग गरिएको संक्षिप्त कुराकानीः

तपाईं फेरि सह-कोषाध्यक्षको उम्मेदवार बन्नु भएको छ । अब तपाईंको एजेण्डा के हो ?

मैले फेरि सहकोषाध्यक्ष बन्ने इच्छा जाहेर गरेको छु । यसभन्दा अगाडि पनि मैले यो पदमा काम गरेको छु । मसँग  काम गरेको राम्रो अनुभव पनि छ । म कुनै पदमा जम्प नगरेर त्यही पदमा दोहोरिन चाहेको छु । लामोसमयदेखि गैर आवासीय नेपाली संघको अभियानमा हिँडेको अनुभव छ । मलाई सम्पूर्ण अग्रजहरुले विश्वास गर्नुहुन्छ । खास मैले त साथीहरुसँग सल्लाह गरेर कोषाध्यक्ष पदमा उम्मेदवार बन्न चाहेको थिएं । तर त्यहाँ अलिकति मिलेन । त्यसैले सहकोषाध्यक्षमा भए पनि साथीहरुसँगै मिलेर जाउँ र सकिन्छ भने राम्रो काम गरौं भनेर नै यही पदमा दोहोरिन खोजेको छु । ३ जना सहकोषाध्यक्षको पद हुन्छ भने एक जना कोषाध्यक्ष । सह-कोषाध्यक्षले प्रतिवद्धता जनाएर त्यहाँ केही हुनेवाला छैन । त्यसैले होल टिमले गरेको प्रतिवद्धता नै मेरो पनि प्रतिवद्धता हो ।

समग्रमा यसअघि तपाईंको कस्तो रह्यो कार्यकाल ?

पछिल्लो कार्यकाल कस्तो रह्यो भन्दा पनि हामी त्यतिबेला विशेष परिस्थितिबाट गुज्रिएका थियौं । त्यसैले हाम्रो कार्यकाल एकदम राम्रो पनि भएन र एकदमै खराब नै भन्ने अवस्था पनि रहेन । हामीले गर्नु पर्ने कामहरु बीचमा अधुरो अवस्थामा छन् । अब चुनाव पछि बन्ने नयाँ कार्यसमितिले बीचमा अलपत्र परेका कामहरुलाई पूर्णता दिने प्रयास गर्छौं ।

एनआरएनएप्रति अहिले विभिन्न नकारात्मक सन्देश गएको देखिन्छ । एनआरएनले के कुरामा ख्याल गर्नुपर्छ ?

गैर आवासीय नेपाली संघको अभियान २० वर्ष भइसकेको छ र यो एकदमै ठूलो पनि भएको छ । कुनै समय थियो, एनआरएनको सञ्जाल फैलाउनु पर्ने अवस्था थियो । अहिले करिब करिब संसारभर यसको अभियान पुगिसकेको छ । अब हामीले यो अभियानलाई अहिलेको भन्दा बढी सुदृढ गर्दै लैजाने र यसलाई अझ राम्रो बनाउने दायित्व हामीहरुको हो ।

तपाईं बेलायतबाट प्रतिनिधित्व गर्नुहुन्छ, बेलायतमा बंशजको नागरिकता निरन्तरताको कुरा खुबै उठेको छ नि ?

‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने हाम्रो पनि मूल नारा नै हो । पछिल्लो २० वर्षदेखि नै हामीले लविङ गर्दा गर्दा बल्ल नागरिकता ऐन जारी भएर अहिलेको अवस्थामा एनआरएन नागरिकता पाउने अवस्था आएको छ । राजनीतिक अधिकारबाहेक अरु अधिकार एनआरएन नागरिकताले दिएको छ । संविधानले दिएको अधिकार सुरक्षित गर्दै एक पटकको नेपाली सधैंको नेपाली अभियान नै हो ।

बेलायतमा गोर्खाहरुको समस्या पनि छ, यसमा सरकारले के गर्नु पर्छ जस्तो लाग्छ ? 

एनआरएनको ११ औं महाधिवेशनपछि हाम्रो जुन कार्यसमिति बन्छ, त्यसपछि गोर्खाको इस्यु हेर्ने छुट्टै टास्क फोर्स बन्छ । त्यो टास्कफोर्सले गोर्खासम्बन्धी विषयहरु कार्यसमितिमा ल्याउँछ । कार्यसमितिले नेपाल सरकारसँग लविङ गर्छ । त्यसैले अब आउने कार्यसमितिले यो विषयमा केही न केही निकास दिन्छ भन्ने अपेक्षा गरेका छौं ।

तपाईं नेपालबाट बेलायत कसरी पुग्नु भयो ?

मेरो जन्मस्थल धादिङ जिल्ला हो । २०४९ सालमा एसएलसी पास गरेपछि क्याम्पस लेभल पढ्न नयाँ दिल्ली गएँ । काम गर्ने सिलसिलामा कुवेत गएर ६ वर्ष बसें । त्यसपछि कामको सिलसिलामा बेलायत पुगें र अहिले पनि बेलायतमा बस्दै छु । बेलायतमा ४–५ वर्ष काम गरेपछि २००६ देखि बेलायतमा आफ्नो ब्यवसाय सुरु गरेको छु । कोभिड पछिको कुरा नगरौं । कोभिड भन्दा अगाडि सबै कुरा राम्रो थियो । ब्यापार व्यवसायलाई ‘क्यारीअन’ नै गरेर केही नयाँ सोच बनाएर अगाडि बढिरहेको छु ।

तपाईंलाई के कुराले समाजसेवामा अभिप्रेरित गर्छ ?

म बचपनदेखि नै आफ्नो भन्दा अरुको ध्यान दिने वानी र समाजको सेवा गर्ने खालको मान्छे थिएं । आफ्नो लागि भन्दा पनि अरुको लागि पनि सहयोग सेवा गर्नुपर्छ भन्ने भावना छ । यसमा बुवा आमा र परिवारको आर्शिवाद छ । म अहिले ५० वर्ष हाराहारीमा पुगें । अहिलेसम्म सबै कुरा राम्रो चलेको छ र म समाजसेवामा सन्तुष्ट छु ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू