शनिबार, साउन १२, २०८१
05:58 | १०:४३

लन्डनको ओभल क्रिकेट ग्राउण्डमा नेपाली प्रतियोगिता तयारी

नेपाली लिङ्क अक्टोबर ६, २०२३

लन्डन- दक्षिण लन्डनको ल्याम्बेथ बरोमा अवस्थित अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्डमा नेपाली प्रतियोगिताको तयारी भएको छ ।

सन् १८४५ मा स्थापना भएयता सरे काउन्टी क्रिकेट क्लवको घरेलु मैदान बनेको उक्त स्थानमा माया इभेन्ट्सले ‘टी टेन क्रिकेट प्रतियोगिता’ गर्न लागेको हो ।

आयोजक माया इभेन्ट्स तथा माया सपोर्टेड लिभिङ लि. का निर्देशक राज पाण्डेले नेपालस्थित द अरफान्स होमको सहयोगार्थ आउंदो जुन २०२४ मा टी टेन प्रतियोगिता गर्ने तयारी भएको जानकारी दिए ।

पाण्डेका अनुसार, नेपाल र विदेशमा रहेका अन्तर्राष्ट्रिय खेलाडी र विदेशी खेलाडी गरि ६ टिम किया ओभल स्टेडियममा भिड्नेछन् ।

उक्त प्रतियोगिताको अनुमानित खर्च झण्डै एक लाख १० हजार पाउण्ड हुनेछ । नेपालीले निजी क्षेत्रबाट संयुक्त अधिराज्य (यूके) मा गर्न लागेको यो पहिलो ठूलो महत्वकांक्षी इभेन्ट हो । प्रतियोगितालाई बेलायती प्राविधिकको सहयोगमा प्राइम टिभीबाट लाइभ गर्ने तयारी छ ।

नेपालले क्रिकेटमा ठूलो फड्को मारिरहेका बेला बेलायतमा त्यो स्तरमा प्रतियोगिता गर्दा नेपाली खेलाडीको एक्पोजर थप बढ्ने विश्वास पाण्डेको छ ।

‘मेरो उद्देश्य नेपाली खेलाडीलाई बेलायतसंग लिंकअप गराउने हो’, पाण्डेले भने, ‘यस्ता प्रतियोगिताले खेलाडीको मनोवल पनि बढ्नेछ ।’

यही प्रतियोगिताका लागि आफूले छिट्टै पूर्व कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित सचिव पारस खड्का लगायत पदाधिकारीलाई भेट्ने पाण्डेले बताए ।

नेपाल छंदा आफैं पनि क्षेत्रीय स्तरको क्रिकेट खेलाडी रहेका पाण्डेले नेपाल भ्रमणका बेला यसपटक खेलाडीलाई प्रत्यक्ष भेटेर उनीहरुका लागि क्रिकेट सामग्री (किट्स) खरिद गरिदिने पनि बताएका छन् । ‘राष्ट्रको गहनालाई सानो भएपनि सहयोग गरें भने यसबाट अरुमा पनि सहयोगको भावना आउला कि भन्ने आशा छ’, पाण्डेले भने, ‘खासमा आफ्नो आत्मसन्तुष्टि र समाजका लागि केही होस् भन्ने हो ।’

पाण्डेको माया सपोर्टेड लिभिङले बेलायतमा हरेक क्रिकेट प्रतियोगितामा प्रायोजन गर्दै आएको छ । यसैवर्षमात्र आफ्नो कम्पनीले खेल र अन्य सामाजिक गतिविधिमा करिब २७ हजार पाउण्ड च्यारिटीमा खर्च गरेको उनले जनाए ।

माया सपोर्टेड लिभिङ लि. ले अगष्ट पहिलो साता ब्रिटिश नेपलिज प्रिमियर लिग पनि प्रायोजन गरेको थियो । सो अवसरमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल सोही कम्पनीको ब्राण्ड एम्बासडर बनेका छन् भने १० गत सेप्टेम्बरमा तेस्रो माया सुपर सिक्स क्रिकेट पनि भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू