शनिबार, साउन १२, २०८१
06:32 | ११:१७

रूसी आक्रमणमा परी पूर्वी युक्रेनमा ५१ जनाको मृत्यु

रासस/एएफपी अक्टोबर ५, २०२३

ग्रोजा, युक्रेन, १८ असोज–युक्रेनको पूर्वी गाउँमा बिहीबार भएको रूसी आक्रमणमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघका एक अधिकारीले बताएका छन् ।

युक्रेनी प्रहरीले सार्वजनिक गरेको फुटेजमा ग्रोजा गाउँमा ठूलो मात्रामा धुवाँको मुस्लो देखिएको भग्नावशेषबाट कैयौँ मृत शरीरलाई उद्धारकर्मीले लगेको देखिएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणमा मारिएका व्यक्तिप्रति सम्मान व्यक्त गर्दै शवमाथि घुँडा टेकेर खिचिएको तस्बिर पोस्ट गर्नुभएको छ ।

खार्किभको उत्तरपूर्वी क्षेत्र, जहाँ हाल कूल ३३० जना जनसङ्ख्या रहेको छ, मा रहेको उक्त गाउँमा शोक व्यक्त गर्नेहरू एक क्याफेमा थिए र सोही भवनको एउटा पसलमा मृतकका आफन्तहरू थिए ।

गृहमन्त्री इगोर क्लाइमेन्कोले राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै भन्नुभएको छ, “एक जना मृतक गाउँलेको सम्झनामा श्रद्धाञ्जलि सभा आयोजना गरिएको स्थानमा आक्रमण भएको छ ।”

उहाँका अनुसार ६० जनाको सहभागिता रहेको कार्यक्रममा मृत्यु हुनेमा एक छ वर्षीय बालकदेखि विभिन्न उमेरसमूहका मानिस छन् ।

अग्रस्थानमा रहेको शहर कुपियान्स्कबाट ग्रोजा ३० किलोमिटरभन्दा बढी दूरीमा अवस्थित छ जहाँ युक्रेनी सेनाले रूसी सेनासँगको लडाईंमा गत वर्ष गुमाएको क्षेत्र फिर्ता लिन प्रयास गरिरहेको छ ।

द्वन्द्वले युक्रेनमा १५० अर्ब डलरको क्षति

जारी रुस–युक्रेन द्वन्द्वले यस वर्षको सेप्टेम्बरसम्ममा युक्रेनको पूर्वाधारमा एक सय ५१ अर्ब २० करोड अमेरिकी डलरबराबरको प्रत्यक्ष क्षति पुगेको इन्टरफ्याक्स–युक्रेन समाचार समितिले जनाएको छ ।

किएभ स्कुल अफ इकोनमिक्सको अध्ययनअनुसार द्वन्द्वले सबैभन्दा बढी आवास क्षेत्र प्रभावित भएको छ । युद्धका कारण करिब एक लाख ६७ हजार दुई सय निजी घर, अपार्टमेन्ट भवन र छात्रावासहरू नष्ट वा क्षतिग्रस्त भएका छन् ।

त्यसैगरी दुई मुलुकबीच द्वन्द्व सुरु भएयता युक्रेनमा १८ वटा विमानस्थल र सिभिल एयरफिल्डका साथै तीन सय ४४ पुल र ओभरपास क्षतिग्रस्त भएका छन् भने कम्तीमा चार सय २६ ठूला र मध्यम आकारका उद्यमहरू प्रभावित भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू