शनिबार, साउन १२, २०८१
03:06 | ०७:५१

लन्डनमा तीन संस्थाले गरे निशुल्क दन्त शिविर

नेपाली लिङ्क अक्टोबर ३, २०२३

लन्डन । वृद्धवृद्धालाई लक्षित गर्दै लन्डनमा निशुल्क दन्त शिविर भएको छ ।

वेम्बलीस्थित तमु समाज यूकेको कम्युनिटी सेन्टरमा मुख स्वास्थ्य सचेतना तथा दन्त परीक्षण भएको हो ।

गत १ अक्टोबर आइतबार तमु समाज यूके, कोडेक यूके र हिमालयन डेभलप्मेण्ट इन्टरनेशनलको संयुक्त आयोजनामा भएको ‘ओरल हेल्थ अवेयरनेस एण्ड डेन्टल स्क्रिनिङ’ कार्यक्रममा कयौं वृद्धवृद्धा लाभान्वित भएका छन् । कार्यक्रममा ४३ जना उपस्थित थिए भने १७ जनाले दन्त परीक्षण गरि लाभ लिए ।

तीन संस्था मिलेर यस किसिमको महत्वपूर्ण कार्यक्रम पहिलो पटक भएको तमु समाज यूकेले जनाएको छ ।

कार्यक्रम चार चरणमा विभाजन गरिएको थियो । शुरुमा संस्थाहरुको परिचय, तिनको उद्देश्य र भूमिकाबारे चर्चा गरियो भने दोस्रो चरणमा बेलायतका विभिन्न तीन क्षेत्रबाट आएका दन्त चिकित्सकहरूको परिचय र कार्यक्रम उद्देश्यबारे प्रष्ट पारिएको थियो ।

तमु समाज यूके अध्यक्ष शिवकुमार गुरुङको अध्यक्षतामा बिहान ११:३० बजे कार्यक्रम शुरु भएको थियो । हिमालयन डेभलप्मेन्ट इन्टरनेशनलका कार्यकारी निर्देशक डा. प्रकाश खनालले कार्यक्रम सञ्चालन गरेका थिए भने कोडेक यूकेका अध्यक्ष अरुण चालिसेले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रमको तेस्रो भागमा दन्त स्वास्थ्यको महत्व, दन्त सम्बन्धी समस्या बिग्रनबाट रोक्ने तरिका र बेलायतमा उपलब्ध दन्त उपचार प्रणालीका प्रकारहरूबारे प्रस्तुतिकरणमार्फत मुख स्वास्थ्यबारे जागरूकता बढाउन केन्द्रित गरिएको थियो।

त्यसपश्चात ‘स्वास्थ्य मुख स्वास्थ्य शरिर’ भन्ने दन्त पुरण नामकारण चेतनामूलक भिडियो देखाइएको थियो।

चौथो चरणमा दाँत र गिजा सम्बन्धि प्रश्न उत्तर कार्यक्रम थियो । त्यसपछि इच्छुक सहभागीलाई दन्त परीक्षणको अवसर प्रदान गरिएको थियो ।

कार्यक्रममा उपस्थित सबैले जानकारीमूलक कार्यक्रम गरेको भन्दै दन्त चिकित्सकहरुप्रति आभार यक्त गरे । सहभागीले खुशी व्यक्त गर्दै भविष्यमा पनि यस्तो कार्यक्रम होस् भनि संस्थाहरुलाई आग्रह गरेका थिए ।

सो अवसरमा कोडेक यूकेले सहभागीलाई लन्च र पेय पदार्थ प्रायोजन गरेको थियो । तमु समाज यूकेले हल र साउन्ड सिस्टम उपलब्ध गराएको थियो भने हिमालयन डेभलप्मेन्ट इन्टरनेशनलले विशेषज्ञ चिकित्सकहरुको संयोजन गरेको थियो ।

कार्यक्रममा तमु समाज यूके अध्यक्ष तथा सभापति शिवकुमार गुरुङले डा. रजनी कोइराला, डा. रचयिता पन्त र डा. विधान वाग्लेलाई विशेष धन्यवाद ज्ञापन गर्दै सबै सहभागीप्रति धन्यवाद ब्यक्त गरे । उनले कार्यक्रम समन्वय सहज रुपमा गरेकामा डा. प्रकाश खनाल, अरुण चालिसे र धरम बल गुरुङलाई धन्यवाद दिए ।

कार्यक्रमको अन्तमा तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ र अध्यक्ष शिवकुमार गुरुङ र तमु समाज यूके प्रथम महिला श्रीमति मिना गरुङले दन्त विशेषज्ञहरु डा. रजनी कोइराला, डा. रचयिता पन्त, डा. विधान वाग्ले, कोडेक यूके अध्यक्ष अरुण चालिसे, हिमालयन डेभलप्मेण्ट इन्टरनेशनलको कार्यकारी निर्देशक डा. प्रकाश खनाल र तमु समाज यूकेका महासचिव धरम बल गुरुङलाई खादा लगाई सम्मान गरेका थिए ।

तिनै संस्थाले भविष्यमा पनि यस्तै कार्यक्रम संयुक्त रुपमा सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू