शनिबार, साउन १२, २०८१
06:05 | १०:५०

चर्चित कलाकारको प्रस्तुतिमा लेष्टरमा प्रवासी मञ्चको दशैंतिहार कार्यक्रम

नेपाली लिङ्क अक्टोबर ३, २०२३

लन्डन- प्रवासी नेपाली मञ्च यूकेले दशैंतिहारसहितका नेपाली पर्वहरुको अवसर पारेर एक शुभकामना कार्यक्रम गरेको छ।  

नेपालबाट आएका राष्ट्रिय कलाकारहरुको प्रस्तुतिमा सोमबार लेष्टरको ‘जंगल क्लब’ मा दशैंतिहार शुभकामना कार्यक्रम गरिएको हो।  

मिडल्यान्डका विभिन्न क्षेत्रसहित लन्डन र आसपासबाट समेत तीन सय बढी सहभागी कार्यक्रम कम औपचारिक र बढी मनोरञ्जनात्मक थियो।  

जनवादी गायक जीवन शर्मा, लोकप्रिय गायक राजु परियार र गायिकाद्वय शिला आले र पूर्णकला बिसीले दिएको बेजोड सांगीतिक प्रस्तुतिमा उपस्थित दर्शकले भरपूर मनोरञ्जन लिएका थिए।

मञ्चका अध्यक्ष तुंगभद्र भुषालले अध्यक्षता गरेको कार्यक्रममा अन्यत्रजस्तो अनावश्यक आसन र भाषणको दिक्दारी थिएन।  

कसैलाई प्रमुख वा विशेष अतिथि समेत नबनाएर उपस्थित सबैलाई समान दर्जा कार्यक्रममा अर्को नौलोपन थियो।  

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, उपनियोग प्रमुख रोशन खनाल, मञ्चका अन्तरराष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापा र पूर्व अध्यक्ष भक्त गुरुङ, मञ्चका संस्थापक अध्यक्ष आङकल जंग लामालगायतले दिएका शुभकामना सन्देशका भिडियोहरु बजाइएको थियो।

मञ्चका अध्यक्ष तुंगभद्र भुषालले संस्थाका तर्फबाट दशैं, तिहार, छठ, नेपाल संवतसहितका सबै नेपाली पर्वको शुभकामना व्यक्त गरे ।  कार्यक्रम सफल पार्न योगदान गर्ने सबैप्रति उनले आभार प्रकट गरे।  

सो अवसरमा एनआरएनए यूके तथा आइसीसीका विभिन्न जिम्मेवारीमा रहेर योगदान गर्ने झन्डै दुई दर्जन अभियन्ता तथा मिडियामार्फत् समुदायमा योगदान गर्ने पत्रकारसमेतलाई मञ्चका तर्फबाट दोसल्ला ओढाएर सम्मान गरिएको थियो। 

कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष एनआरएनएनए उपमहासचिव रामशरण सिम्खडा, पूर्व अध्यक्षहरु भक्त गुरुङ, दिनेश घिमिरे, राजेन्द्र पुडासैनी र सुरेन्द्र थपालियासहित बेलायतभरबाट मञ्चका अन्तराष्ट्रिय तथा बेलायत कमिटीका नेता, कार्यकर्ता भेला भएका थिए।

त्यस्तै, एनआरएनए यूकेका पदाधिकारी एवम् अभियन्ता, मिडल्यान्डसहित बेलायतका विभिन्न क्षेत्रस्थित संघसंस्थाका प्रतिनिधिलगायतको पनि उल्लेख्य उपस्थिति थियो ।  

कार्यक्रमका संयोजक मञ्चका नेता पशुपति पोखरेलले सञ्चालन गरेको कार्यक्रममा स्थानीय सिर्जनशिल लेष्टर नेपालका अध्यक्ष पुण्डरी अर्यालले सबैलाई स्वागत गरेका थिए।टिकेटिङमा पदम गोले र विद्या गौतमले सहयोग गरेका थिए ।  

स्थानीय कलाकार अनिशा गौतम र चन्द्र खत्रीले आकर्षक नृत्य देखाएका थिए। कार्यक्रमका सहाभागीलाई जंगल क्लबको स्वादिष्ट मौलिक नेपाली खाना आयोजक प्रवासी मञ्चले निशुल्क खुवाएको थियो।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू