शनिबार, साउन १२, २०८१
02:36 | ०७:२१

बेलायती सभामुखको उपस्थितिमा हेल्थ एक्सचेञ्ज नेपालको १५औं वार्षिकोत्सव च्यारिटी

नेपाली लिङ्क सेप्टेम्बर २४, २०२३

लन्डन । नेपालमा चिकित्सा तथा शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउंदै आएको बेलायतस्थित स्वास्थ्यकर्मीहरुको संस्था ‘हेल्थ एक्सचेञ्ज नेपाल’ यूकेले आफ्नो १५औं वार्षिकोत्सव एक च्यारिटी कार्यक्रम गरी मनाएको छ। 

शनिबार उत्तर-पश्चिम इंग्ल्याण्डको ‘श-हिल गल्फ कोर्स’मा आयोजित कार्यक्रममा बेलायती संसदका सभामुख सर लिन्डसे होयलसहित विशिष्ट अतिथिहरुको सहभागिता थियो। 

नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, एडिनबर्गको रोयल कलेज अफ फिजिसियनका अध्यक्ष प्रा एन्ड्रयु एल्डर, रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्गका तत्कालिन पूर्व अध्यक्ष प्रा माइकल ग्रिफिन र सांसद सर मार्क हेन्ड्रिकसहितका अतिथि  उपस्थित कार्यक्रममा बेलायत तथा नेपालमा कार्यरत झन्डै १ सय ७० डाक्टरहरु सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायती सभामुख सर लिन्डसे होयलले नेपाललाई सहयोग गर्ने ईच्छा जनाएका थिए। उनले नेपाली डाक्टरले आफ्नो ज्यान बचाएको स्मरण गरे।

यसअघि गत जुलाइमा उनले वेष्टमिन्स्टरस्थित बेलायती संसद भवनमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको परिचयात्मक कार्यक्रम आयोजना गरेका थिए।

एडिनबर्ग रोयल कलेजका दुवै अध्यक्षहरूले हेल्थ एक्सचेञ्ज नेपालमार्फत् नेपालसँग घनिष्ठ सम्बन्ध बनेको उल्लेख गर्दै नेपालमा चिकित्सक तालिमको स्तर सुधार गर्न आफूहरूले चालेका विभिन्न कदमबारे जानकारी दिए । प्रोफेसर एल्डरले ‘एमआरसिपी पेसेज’ चाँडै नेपालमा आयोजना हुने पनि बताए।

हेल्थ एक्सचेञ्ज नेपाल यूकेका महासचिव प्रा सत्यन राजभण्डारीले यो परोपकारी संस्था सन् २००८ मा स्थापना भएदेखिनै नेपाललाई चिकित्सा र शैक्षिक क्षेत्रमा सहयोग प्रदान गर्दै आएको बताए।

संस्थाले नेपालमा कयौं तालिम कार्यक्रम सञ्चालन गरेको, भूकम्प तथा कोभिडको समयमा सहयोग गरेको र बेलायतमा धेरै नेपाली डाक्टर र नर्सहरूलाई तालिमको अवसर दिएको जानकारी गराए ।

वार्षिकोत्सवमा सहभागीहरुलाई नेपाली पेय ‘खुकुरी बियर’ सर्भ गरिएको थियो। त्यस अवसरमा ११ वर्षीया मिशिका थापा, प्रसुना कँडेल र रमेश तथा प्रमिता खोजु दम्पतीले मनोरञ्जनात्मक नेपाली नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रमको अन्त्यमा नेपाली गीत बजाएर अतिथिहरूले रमाइलो गरी नाचगान गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू