मिसेस नेपाल युनिभर्स २०२३ घोषणा आइतबार लन्डनमा
लन्डन । मिसेस नेपाल युनिभर्स २०२३ को औपचारिक घोषणा यही २४ सेप्टेम्बर आइतबार लन्डनमा हुने भएको छ ।
मिसेस नेपाल युनिभर्स आयोजक लन्डन फेसन हाउसले लन्डन साउथ हयारोस्थित नेवा छेः मा आयोजना गर्न लागिएको ‘कोरोनेसन नाइट’को तयारी पूरा भएको जनाएको छ ।
मिसेस नेपाल युनिभर्स २०२३ ले नेपालको प्रतिनिधित्व गर्दै आगामी अक्टोबरमा फिलिपिन्समा हुने ४६औं मिसेस युनिभर्स प्रतियोगितामा भाग लिन पाउनेछिन् ।
विगतमा प्रतिष्पर्धाद्वारा छनोट गरिंदै आएपनि यसपटक भने आन्तरिक छनौट प्रक्रियाबाट विजेता चयन गरिएको र यसको औपचारिक घोषणा आइतबार गरिने लन्डन फेशन हाउसकी संस्थापक तथा सन् २०१८ की मिसेस नेपाल युनिभर्स मनिषा डंगोलले जानकारी दिइन् ।
बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी तथा संचारकर्मीहरुको सहभागितामा विशेष कार्यक्रमबीच मिसेस नेपाल युनिभर्स २०२३ घोषणा गर्न लागिएको उनले बताइन् ।
आइतबार मिसेस नेपाल युनिभर्स २०२२ की फष्ट रनर अप विमला बुढाथोकीलाई मिसेस नेपाल युनिभर्स २०२३ का रुपमा औपचारिक घोषणा गरिंदैछ ।
बुढाथोकीले मनिलामा हुने ४६ औं मिसेस युनिभर्समा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन्, जहां विश्वका सय बढी मुलुकबाट मिसेस सुन्दरीहरुले प्रतिष्पर्धा गर्दैछन् ।
सन् २०१० मा बेलायत आएकी विमला बेलायतको नेपाली समाजमा विभिन्न इभेन्ट्समा नृत्य एवम् सामाजिक कार्यहरुमा आवद्ध रहँदै आएकी छन् । फिलिपिन्समा हुन गइरहेको मिसेस युनिभर्समा सहभागिता जनाउन आफू निकै उत्साहित रहेको जनाउंदै उनले सबैको साथ र सहयोगका लागि आग्रह पनि गरेकी छन् ।
मिसेस नेपाल युनिभर्स २०२३ का रुपमा आफूलाई चयन गरेकामा बुढाथोकीले आयोजकलाई धन्यवाद दिंदै आफ्नो जिम्मेवारीलाई समाजको हितमा सदुपयोग गर्ने बताइन् ।