शुक्रबार, वैशाख २१, २०८१
06:43 | ११:२८

कोलचेस्टर कार्निभलमा झल्कियो विविध नेपाली कला-संस्कृति

नेपाली लिङ्क सेप्टेम्बर १७, २०२३

लन्डन । कोलचेस्टर डाइभर्स कम्युनिटी नेटवर्कले गत सेप्टेम्बर ३ मा कोल्चेष्टर सहरमा गरेको कार्निभल एवं कन्सर्टमा नेपाली कला संस्कृति आर्कषणको केन्द्र बन्यो ।

उक्त आर्कषक उत्सवमा नेपालीसहित विभिन्न २२ समुदायको सक्रिय सहभागिता थियो । कोलचेस्टर नेपाली समाजले उत्साहका साथ आफ्ना कला–कृतिहरू प्रदर्शन गर्दै विश्वव्यापी रुपमा आफ्नो गर्विलो उपस्थिति जनायो ।

विभिन्न समुदायहरुको परम्परागत भेषभूषा, झांकी, मनोरञ्जनात्मक खेल र सामुदायिक भावनाको मिश्रणलाई प्राथमिकता दिंदै उक्त कार्निभल उत्सव मनाइएको थियो ।

उक्त उत्सव मध्यान्ह १२ बजेतिर सहरको प्रतिष्ठित स्थान सर आइज्याक वाकबाट सुरु भएको थियो । कोलचेस्टरको मुटुमा अवस्थित यो स्थानमा कोलचेस्टर डाइभर्स कम्युनिटी नेटवर्कको २२ समुदायको एकताको प्रतिक झल्कने गरी विभिन्न आर्कषक झांकी जुलुसमा सहभागी भएका थिए ।

दिउसो करिब १२:४५ मा दुई युवती अग्रपंक्तिमा नेटवर्कको ब्यानर बोकेर जुलुसलाई नेतृत्व गर्दै मुल सडकतर्फ प्रस्थान गरे । जुलुस कोलचेस्टरको सांस्कृतिक विविधताको उत्कृष्ट नमुनाका रुपमा प्रदर्शन भएको थियो।

उत्सवमा विभिन्न समुदायको परम्परागत पहिरनमा सजिएका सहभागीहरूले विभिन्न संगीत, एक्रोब्याटिक्स, आगो–खाने प्रदर्शन, ब्रेक डान्स र परम्परागत नृत्यहरु प्रस्तुत गरे ।

कोलचेस्टर सडकहरूमा प्रदर्शन भएको आकर्षक झांकी र मनोरन्जनात्मक कार्यक्रमले कोलचेष्टर सहर लाई गुन्जायमानमात्र बनाएन, दर्शकहरूसमेत मन्त्रमुग्ध भए ।

पाम वालरद्वारा तयार कोलचेस्टर कार्निभलको रानी र राजकुमारीसहितको जुलुसले मुल सडक परिक्रमा गरेको थियो । उक्त आकर्षक कार्निभल म्यूजियम सडकसम्म लाइनमा उभिएर हजारौं दर्शकले अवलोकन गरे ।

कोलचेस्टर कार्निभलको जुलुस सिटी हलमा पुगेर  टुंगिएको थियो। कोलचेस्टर कार्निभल तथा कन्सर्ट निर्देशक मेजर (रिटार्यड) उदयबहादुर गुरुङ एमबीइले कोलचेस्टरका मेयर, काउन्सिलर जोन जोवर्स र प्रायोजकहरूप्रति धन्यवाद दिए । यो 
प्रतिकात्मक सन्देशले कोल्चेष्टर सहरको नेतृत्वप्रति सबै समुदायको गहिरो सम्मान र कृतज्ञता झल्कन्थ्यो ।

कार्निभल जुलुस सांगीतिक माहोलमा रुपान्तरण

कार्निभल सहितको जुलुस म्यूजियम सडक हुँदै तल्लो क्यासल पार्कसम्म आइपुग्दा कार्निभल सांगीतिक माहोलमा परिणत भएको थियो । कोलचेस्टरको समृद्ध सम्पदा र एकताको उत्सव मनाएर राष्ट्रिय गान गांउदै सांगीतिक प्रस्तुति सुरु भएको थियो ।

त्यसपश्चात, कोल्चेस्टर कार्निभल र कन्सर्टका निर्देशकले स्वागतसहित सांझपखको सांस्कृतिक एवं मनोरन्जनात्मक कार्यक्रम प्रस्तुतिका लागि ब्यवस्थापन गरे । साथै कोलचेस्टरका मेयर काउन्सिलर जोन जोवर्सले पनि आफ्नो विचार राख्दै कार्यक्रमको प्रशंसा गरे ।

मनोरन्जन कार्यक्रम लियाम वालरले कुशलतापूर्वक सन्चालन गरेका थिए । विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रदर्शनको क्रममाः मनमोहक कोलचेस्टर पाइप्स र ड्रम्स, नौमती बाजा, रमाइलो खेल एक्रोब्याटिक्स र साहसिक आगो खाने जस्ता खेल प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सहभागीलाई खानपिन ब्यवस्था गर्न विश्वभरका विभिन्न परिकार प्रदान गर्ने ११ वटा फूड स्टल थिए । बाउन्सी महलहरूमा केटाकेटीले मज्जाले रमाइलो गरे । चिनियाँ ड्रयागन नृत्यले सबै दर्शकलाई उत्सवमा भाग लिन प्रेरित गरेको थियो ।

कार्यक्रममा मोहम्मद इस्माइलद्वारा आयोजित इप्सवीच र कोलचेस्टर क्रिकेट क्लब टि २० क्रिकेट प्रतियोगिताका विजेताहरूलाई पदक प्रदान गरियो ।

कोलचेस्टर कार्निभल र कन्सर्टका निर्देशकले सगरमाथा लगायत अफ्रिका, दक्षिण अमेरिका र एसियाका अग्लो हिमालहरु आरोहण गरेकी नायिका दीया पुनलाई बधाई तथा सम्मान स्वरुप प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रायोजकहरूको अपार समर्थन, कोलचेस्टर डाइभर्स कम्युनिटी नेटवर्कका स्वयंसेवकहरूको प्रतिवद्धता र सबै समुदायको उत्साहजनक सहभागिताबाट कार्यक्रम सफल भएको मेजर (रिटार्यड) उदयबहादुर गुरुङ एमबीइले बताए ।

कोलचेस्टर कार्निभल र कन्सर्टका निर्देशकले कार्निभल र कन्सर्टलाई उत्कृष्ट रूपमा सफल बनाउन भूमिका खेल्ने सबैलाई ह्दयदेखि धन्यवाद ज्ञापन गरे । यस अलाबा कार्यक्रम सफल बनाउन सामुदायिक पुलिस, जेड सुरक्षा, एमसीएम प्लान्ट लिमिटेड, एकलिप्स साउन्ड एण्ड लाइट, कोलचेस्टर सिटी काउन्सिलकी सामन्था ल्यान्कास्टर तथा कोलचेस्टर सिटीका व्यापारी समूह एम्फोरा लिमिटेडकी मेगन रफको उल्लेखनीय भूमिका थियो ।

कोलचेस्टर कार्निभल मनाउने दिनमा मौसमले पनि राम्रो साथ दिएको थियो । मनोरन्जनात्मक कार्यक्रम साँझ ६ बजे समापन भएको थियो ।

यस उत्सव सबै समुदायका मानिसलाई एकीकृत गरी उनीहरुका विविध कला संस्कृति र संस्कार प्रदर्शन गर्न सफल भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू