शुक्रबार, वैशाख २१, २०८१
04:59 | ०९:४४

अल्डरसटको तीज कार्यक्रममा तीन पुस्ताबीच नाच प्रतियोगिता

नेपाली लिङ्क सेप्टेम्बर १६, २०२३

लन्डन । एसियन महिला एसोसिएसन (आमा) यूकेले एक कार्यक्रमबीच नेपाली महिलाहरुको महान पर्व तीज मनाएको छ । गत १० सेप्टम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम भएको हो ।

कोभिड महामारीपछि आयोजित उक्त कार्यक्रममा महिलाहरुले उत्साहजनक सहभागिता जनाए ।

राजदूत पत्नी सुनिता आचार्यको प्रमुख आतिथ्य र संस्थाकी अध्यक्ष विभा गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

सो अवसरमा अध्यक्ष गुरुङ र उपाध्यक्ष कल्पना गुरुङले प्रमुख अतिथी आचार्यलाई क्रमशः खादा र पुष्पगुच्छाले स्वागत गरेका थिए ।

कार्यक्रमको विशेष अतिथीमा रसमोर बरो काउन्सिलकी डेपुटी मेयर मारा माकुनुरा, लेफटिनेन्ट कर्णेल समान्था डज, उका वेयरकी सिइयो रुबी राउत लगायत थिए ।


प्रमुख अतिथी आचार्यले दीप प्रज्ववलन गरेपछि नेपाली र ब्रिटिश राष्ट्रिय गान बजाइएको थियो । त्यसपछि संस्थाकी उपाध्यक्ष कल्पना गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् ।

मन्तव्यका क्रममा उका वेयरकी सिइयो रुबी राउतले बेलायतमा संघर्षको अनुभव सुनाउंदै पिरियड प्यान्ट बनाउने आफनो ब्राण्ड कसरी अन्तरराष्ट्रिय बजारमा स्थापित भयो भन्नेबारे प्रेरक मन्तव्य दिइन् ।

लेफटिनेन्ट कर्णेल समान्था डजले तीज शुभकामना दिंदै नेपाली परिवारमा सफल पुरुषको पछाडि एउटा श्रीमतिको ठूलो देन हुने गरेको पाएको बताइन् ।


प्रमुख अतिथी आचार्यले सन् २००६ मा स्थापित एसोसिएसनले नेपाली कला संस्कृति जगेर्ना, महिला सशक्तिकरण र अन्य कार्यमा महत्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा गरिन् । उनले संस्थाको प्रगतिको कामना पनि गरिन् ।

संस्थाकी अध्यक्ष विभा गुरुङले सहभागी र सहयोगी सबैप्रति धन्यवाद दिंदै आमाका गतिविधिबारे प्रकाश पारेकी थिइन् ।

कार्यक्रममा संस्थाकी कोषाध्यक्ष दुर्गा पुन, पल गुरुङ र संगीता गैरेले नृत्य प्रस्तुत गरेका थिए ।

सो अवसरमा उत्कृष्ट पहिरन लगाएवापत अन्जु गुरुङले प्रमुख अतिथीबाट उपहार स्वरुप चित्रकला प्राप्त गरिन् भने वेष्ट ड्रेसको पुरस्कार उका वेयरका तर्फबाट दुर्गा पुन र ललिता गुरुङले पाए ।

त्यसैगरि, वेष्ट डान्सरको उपहार कमला विश्वकर्मा (वेष्ट डान्सर हजुरआमा), निलु मानन्धर (वेष्ट डान्सर आमा), कोपिला मगर (वेष्ट डान्स छोरी) र इभाना कालीकोटेले सान्त्वना पुरस्कार पाए।


राफलमा रेबिका श्रेष्ठ, कृस्तिका गुरुङ र सुस्मिता गिरीले आधा तोला सुनको उपहार पाए भने जानकी सुनारले पहिलो पुरस्कारवापत छड्के तिलहरी पाइन् ।

आमाले प्रत्येक वर्ष राफलबाट संकलित रकम च्यारिटी कार्यमा खर्च गर्ने गरेको छ ।

उक्त कार्यक्रम श्रद्धा गुरुङ र माया केसीले सन्चालन गरेका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू