शुक्रबार, वैशाख २१, २०८१
05:06 | ०९:५१

बेलायतका एनआरएनए आइकन सिम्खडा आइसीसी उपाध्यक्ष उम्मेदवार

नेपाली लिङ्क सेप्टेम्बर १४, २०२३

लन्डन। बेलायतमा ‘एनआरएनए’ अभियानका पर्यायजस्तै छन् रामशरण सिम्खडा।

दुई दशकअघि स्थापित प्रवासी नेपालीहरुको प्रतिनिधि संस्थाका संस्थापकध्ये एक उनी अहिलेसम्म पनि यो अभियानमा उत्तिकै समर्पित र क्रियाशिल छन्।

एनआरएनए एनसीसी बेलायतमा महासचिव (तत्कालिन राष्ट्रिय संयोजक) तथा आइसीसीमा सदस्य, सचिव हुँदै हाल उपमहासचिवको भूमिकामा आफ्नो क्षमता देखाइसकेका सिम्खडा आसन्न आइसीसी महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवार बन्ने भएका छन्।

हालसम्म काम गर्दा संगालेको अनुभव, संस्थाको आवश्यकता र आफ्नो क्षमताले भ्याएसम्म योगदान गर्ने तीव्र ईच्छाशक्तिका जगमा उपाध्यक्ष पदमा उम्मेद्वारी दिने सोचमा पुगेको उनले नेपालीलिंकलाई बताए।

‘गैरआवासीय नेपाली संघभित्र थुप्रै विमति, असमझदारी र विकृति देखिएका छन्। यीनै चुनौतिहरुको सामना गर्न र सबैले सोचेजस्तो सुन्दर संस्था निर्माणका लागि योगदान दिन लालायित रहेकोले यस पटकको महाधिवेशनमा म उपाध्यक्षमा उम्मेद्वारी दिने निचोडमा पुगेको छु’, सिम्खडाले भने। ‘संस्थागत विकास, दर्बिलो एकताः साझा एनआरएन, हाम्रो प्रतिवद्धता’ उनको मूल एजेण्डा छ ।

यसअघि महासचिव उम्मेदवारका रुपमा आँकलन गरिएका उनी किन उपाध्यक्षमा उममेदवार बने त ? ‘अभियानप्रति समर्पित एक अभियन्ताले आफ्नो चाहनासंगै समय र संस्थाको आवश्यकतालाई पनि बुझ्न सक्नुपर्छ भन्ने मेरो मान्यता छ’, उनको जवाफ छ।

सन् २०११–१३ मा एनसिसी बेलायतको राष्ट्रिय संयोजक (हालको महासचिव) पदमा सिम्खडाले निर्वाह गरेको सक्रिय र सशक्त भूमिका अहिले पनि एनआरएनए वृत्तमा स्मरण र चर्चा हुने गरेको छ। सोहि कार्यकालमा उनकै सोच र पहलमा एनआरएनए अन्तरराष्ट्रिय पत्रकारिता पुरस्कारको अक्षय कोष स्थापना भएको थियो ।

सन् २०१७–१९ मा बेलायतको तर्फबाट आइसीसी सदस्य बनेका उनले परोपकार तथा मानवीय सहयोग विभागको सदस्यसचिवका रुपमा काम गरे भने सन् २०१९–२१ कार्यकालमा केन्द्रीय नीति निर्माण समितिको संयोजकको जिम्मेवारी सम्हाले। सन् २०२१–२३ को वर्तमान कमिटीमा उनी उपमहासचिव छन्।

कार्यकारी भूमिकाबाहेक आइसीसीका विभिन्न टास्कफोर्स संयोजक र एनआरएनए यूके सल्लाहकार रहंदा पनि उनी आफ्नो जिम्मेवारीमा सधै सक्रियतासाथ खटिंदै आएका छन्।

एनआरएनएको जननी मानिने बेलायतमा संस्था जन्माउने संस्थापकमध्येकै एक सिम्खडा अहिलेसम्म पनि अविच्छिन्न क्रियाशिल र उस्तै सक्रिय छन्। संस्थाका हरेक मञ्चहरुमा ‘भिजिबल’ उनी एनआरएनए आइकनकै रुपमा परिचित छन्।

एनआरएनए अभियान र यसका एजेन्डाहरुलाई सुक्ष्म ढंगले बुझेका सिम्खडा संस्थामा अध्ययन गर्ने र तर्कसंगत ढंगले प्रस्तुत हुने नेताका रुपमा चिनिन्छन्। संस्था विधि र प्रक्रियासम्मत् ढंगले सञ्चालन हुनुपर्ने पक्षमा उनको निरन्तर लबिङ रहंदै आएको छ।

प्रवासी नेपालीहरुबीच आपसी भाईचारा बढाउने, नेपालसंग जोडिने र संसारभर संजाल बिस्तार गर्ने एनआरएनएको लक्ष्यले आफू यस अभियानको सुरुआतदेखि नै आकर्षित बनेको अनुभव सिम्खडा सुनाउँछन्।

गैरआवासीय नेपाली संघ स्थापनाका दुई दशकमा भएका थुप्रै कार्यहरुमा एक अभियन्ताको रुपमा उनलाई गौरव छ । वर्तमान कार्यकालको जम्बो टीमकै पालामा पनि एनआरएनए नागरिकता, सामाजिक सुरक्षा नीतिलगायतका गैरआवासीय नेपालीका सरोकार रहने महत्वपूर्ण उपलब्धि हासिल हुनुलाई सिम्खडाले सुखद ठानेका छन् ।

तर पनि कार्यशैली, जनअपेक्षा र धरातलीय अवस्थाको सुक्ष्म मुल्याङ्कन गर्दै २१औ शताब्दी सुहाउंदो सांगठानिक संरचना र कार्यशैली अपनाएर मात्रै संगठनलाई दिगो र भरपर्दो बनाउन सकिने उनको धारणा छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू