शुक्रबार, वैशाख २१, २०८१
14:43 | १९:२८

सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूकेले गर्‍यो वार्षिक साधारणसभा

नेपाली लिङ्क सेप्टेम्बर १२, २०२३

लन्डन । सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूके (सोने यूके) ले आफ्नो वार्षिक साधारण सभा र सामाजिक कार्यक्रम गरेको छ । गत २ सेप्टेम्बर, २०२३ का दिन रेडिङ, यूकेको कोरोनेसन हलमा कार्यक्रम भएको हो ।

सोसाइटीका अध्यक्ष रुद्र कोइरालाले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

अध्यक्ष कोइरालाले ज्ञानवर्धक प्रस्तुतिसंगै साधारणसभा उद्घाटन गरेका थिए जसमा उनले सन् २०२२–२०२४ का लागि सोसाइटीको मार्गचित्र (रोडम्याप) र सदस्यता वृद्धि सम्बन्धि रणनीति सार्वजनिक गरे ।

कोइरालाले नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) र इन्स्टिच्यूट अफ इन्जिनियरिङ (आइओइ) पुल्चोकसंग पाँच वर्षको साझेदारीका लागि समझदारीपत्र (एमओयू) नवीकरण सहित अगस्ट २०२२ देखि समाजले गरेका उल्लेखनीय उपलब्धि र गतिविधिबारे प्रकाश पारे।

सभामा सोसाइटीका पूर्वअध्यक्ष घनश्याम पौड्यालले इन्जिनियरहरूबीचको सहकार्यलाई बढावा दिन समाजको प्रतिवद्धता र फोरम विकासका लागि सुरु गरिएका प्रयासहरूको विस्तृत विवरण दिए।

त्यसैगरि, महासचिव डा. रविचन्द्र कोइरालाले सोसाइटीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए जसमा संस्थाका सर्वसाधारण, सक्रिय र नयाँ दर्ता भएका सदस्यहरूको विवरणसहित संस्थाको बढिरहेको दायराबारे विश्लेषण समावेश थियो ।

वार्षिक साधारण सभामा सोने यूकेको नयां न्यूजलेटरका केही मुद्रित प्रतिहरू पनि प्रदान गरिएको थियो । उक्त न्यूजलेटर संस्थाको वेबसाइटमा समेत प्रकाशित छ ।

सभामा सचिव सज्ञान खरेलले विस्तृत आर्थिक प्रतिवेदन प्रस्तुत गरे । प्रस्तुत प्रतिवेदनहरु सहभागीहरूले सर्वसम्मतिले अनुमोदन गरेर समाजको पारदर्शीता र प्रभावकारी कार्यसञ्चालनप्रति आफ्नो विश्वास पुनः प्रकट गरे ।

औपचारिक कार्यक्रमपछि सामाजिक कार्यक्रम संयोजक तुलसी फुयाँलले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए । उक्त चरणमा राष्ट्रिय लोकगायिका सूश्री पूर्ण कला बीसीले मनमोहक लोक शृङ्खला प्रस्तुत गरेकी थिइन् । सदस्य मनोज पुनले कलाकार व्यवस्थापनमा भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा सहभागी ‘फ्लोर डान्स’ मा रमाएका देखिन्थे । उक्त कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रका इन्जिनियरहरु, तिनका परिवारसहित अन्य पाहुनाको उत्साहजनक सहभागिता थियो ।

अन्तरक्रियात्मक सत्रहरूले सदस्यता विस्तार रणनीति जस्तै- आजीवन सदस्यता प्रावधान र साधारण सदस्यता जारी राख्ने जस्ता विभिन्न विषयमा छलफल गर्न सहज भएको थियो । सहभागीले दुवै सदस्य र सम्भावित सदस्यहरूका लागि संस्थाको सामाजिक सञ्जाल पहुँचमा सुधार गर्न सुझाव दिए ।

कार्यक्रम सफलताले बेलायतमा नेपाली इन्जिनियरहरूका लागि जीवन्त र गतिशील प्लेटफर्म वृद्धिमा संस्थाको भूमिकालाई अझ बलियो बनाएको सहभागी सदस्यहरुले बताएका छन् ।

सोने यूके बेलायतका नेपाली इन्जिनियरहरूलाई एकै ठाउँमा ल्याउने, व्यावसायिक विकासलाई बढावा दिने र आफ्ना सदस्यहरूबीचको सौहार्द बढाउने आफ्नो मिसनमा प्रतिवद्ध छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू