मंगलबार, जेठ १, २०८१
03:09 | ०७:५४

रेडिङ कपमा ३० टिमको सहभागिता

नेपाली लिङ्क सेप्टेम्बर ५, २०२३

लन्डन । ग्रेटर रेडिङ नेप्लिज कम्युनिटी एसोसिएसन यूकेले हरेक वर्ष आयोजना गर्दै आएको १६औं रेडिङ फुटबल कप सम्पन्न भएको छ । पाल्मर पार्क रेडिङमा गत सेप्टेम्बर २ मा भएको खेलमा ३० फुटबल टिमको सहभागिता थियो ।

खेलमा अन्य थुप्रै टिमले सहभागिता जनाउन चाहेपनि पिचको संख्या सिमित भएकाले सबैलाई समेट्न नसकिएको रेडिङ फुटबल कपका संयोजक तथा समाजका उपाध्यक्ष प्रेम गुरुङले जानकारी दिए ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथीको रुपमा मुख्य प्रायोजक रयाप लिमिटेडका डाइरेक्टर मुबिंन अहमदकासाथै एनआरएनए अध्यक्ष हितकाजी गुरुङ, एनआरएनए आइसीसी सदस्य दिलराज गुरुङ, एनआरएनए अभियन्ता विश्व आदर्श पण्डितलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।


समाजका अध्यक्ष भीमसेन खड्का तथा पूर्व अध्यक्षहरु अर्जुन बस्नेत, महेश गुरुङ, कृष्ण न्यौपाने, टेक गुरुङ र सल्लाहकारहरु विश्व आदर्श पण्डित र ढक गुरुङको उपस्थितिमा स्थानीय काउन्सिलर रब व्ह्वाइटको बाहुलीबाट रेफ्रीलाई फुटबल पास गर्दै  १६औं रेडिङ कप उद्घाटन  गरिएको थियो ।

सन् २००६ देखि आयोजना गरिंदै आएको रेडिङ फुटबल कपमा यसपटक युथ टिम टुर्नामेन्ट केन्ट एफसी प्रथम भएको छ भने ८ वटा टीमले भाग लिएको भेट्रान्सतर्फ बीबीसी विजयी र धरान एफसी रनर अप भएको छ । ६ वटा टिमले भाग लिएको सुपर भेट्रान्सतर्फ इलाम एफसी प्रथम भएको छ भने धरान एफसी रनर अप भएको छ ।

युथतर्फ सबैभन्दा बढी गोल स्कोररको पुरस्कार इबान गुरुङले जितेका छन् भने भेट्रान्सतर्फ बढी गोल स्कोररको पुरस्कार सौगात गुरुङले पाए ।

त्यस्तै भेट्रान्सतर्फ बेस्ट प्लेयरमा यदु आले चुनिए । उत्कृष्ट म्यानेजरको पुरस्कार केन्ट एफसीका प्रकाशले गुरुङले प्राप्त गरे ।

प्रथम विजेतालाई नगद पुरस्कार २०२३ पाउण्डका साथै ट्रफी तथा प्रमाणपत्र दिइएको थियो । उक्त पुरस्कार राशी अघिल्लो वर्षहरुको तुलनामा ४२३ पाउण्ड बढाएर २०२३ पाउण्ड पुरयाइएको हो ।

यसैगरी भेट्रान र सुपर भेट्रानका साथै विजेता र उपविजेतालाई नगद ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

नेपालीहरुको मेलाको रुपमा हरेक वर्ष मनाइंदै आएको रेडिङ कपमा पन्चेबाजा, नेपाली खानाका विभिन्न परिकार विशेष आकर्षणको रुपमा थिए । यसका साथै नाचगान, ‘लक्की ड्र’ तथा निशुल्क स्वास्थ्य परीक्षणसमेत गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू