शनिबार, साउन १२, २०८१
06:42 | ११:२७

लन्डनमा नेपाली चलचित्र ‘गोर्खा वारियर’ प्रिमियरको भव्य तयारी

नेपाली लिङ्क सेप्टेम्बर ४, २०२३

लन्डन । नेपाली चलचित्र इतिहासमा एउटा नयां अध्याय थप्दैछ चलचित्र ‘गोर्खा वारियर’ ।

आउंदो साता १० सेप्टेम्बर आइतबार लन्डनको लेष्टर स्क्वायरस्थित प्रतिष्ठित आइम्याक्स सिने वर्ल्डमा ‘गोर्खा वारियर’ को प्रिमियर तयारी अन्तिम चरणमा छ ।

फिल्म निर्माण युनिटले हलिउड, बलिउडदेखि नेपाली प्रतिष्ठित कलाकारसम्म निम्त्याइसकेको छ भने कयौं बेलायती राजनीतिज्ञहरुको आगमन पनि निश्चित भएको छ ।

बेलायती सेनाका अभिन्न अंग गोर्खा सैनिकहरुको कथामा निर्मित ‘गोर्खा वारियर’ लाई बेलायती प्रधानमन्त्री ऋषि सुनकले समेत शुभकामना पठाइसकेका छन् । यद्यपि कार्यव्यस्तताका कारण सहभागी हुन असमर्थ भएको भन्दै उनले एक पत्रमार्फत दुःख व्यक्त गरेका छन् ।

नेपाली फिल्म इतिहासमै पहिलोपटक प्रिमियर गर्न लागिएको लण्डनको आइम्याक्स सिने वर्ल्डमा हलिउड र बलिउडका चर्चित मूभीहरु टप गन, मिसन इम्पोसिबल तथा जेम्स बन्डका चलचित्रहरु प्रदर्शन भएका छन् । संसारकै ठूलो मध्येको ७० एमएमको पर्दामा पहिलोपल्ट नेपाली प्राविधिकहरुले निर्माण गरेको चलचित्र प्रदर्शन गर्न लागिएको हो ।

सेप्टेम्बर १० ‘गोर्खा वारियर’ चलचित्रको प्रिमियर मात्र नभएर पुर्खाहरुको सम्झना गर्ने एउटा ठूलो उत्सव भएको चलचित्रका प्रेस को–अर्डिनेटर आकाश सुनुवारले बताए । यस दिनलाई कलाकारहरुले मात्र नभई नेपाल र नेपालीले नै गौरव र उत्साहकासाथ लिनुपर्ने उनको धारणा छ ।

नेपाली प्राविधिकद्वारा तयार गरिएको चलचित्र अन्तरराष्ट्रिय स्तरको पर्दामा पुरयाउन निर्देशक मिलन चाम्सको दशकौं लामो प्रयास अन्ततः सफल भएको छ । यो अवसर बेलायतवासी मात्र हैन नेपाल लगायत अन्य मुलुकमा रहेका नेपाली कलाकारका लागि समेत ऐतिहासिक भएको सुनुवारले बताए । ‘गोर्खा वारियर’ नेपाली चलचित्र पहिलो मेघा मूभीको रुपमा स्थापित हुने उनले बताए ।

अति विशिष्ट व्यक्तिहरुको सहभागिता रहने पक्का भएपनि सुरक्षाका दृष्टिकोणले उनीहरुबारे खुलासा गर्ने नमिल्ने उनले बताए ।

बेलायतमा रहने जतिपनि नेपाली कलाकारहरु छन् उनीहरु सबैलाई उपस्थित हुन निर्माण पक्षको आग्रह छ । टिकट पूर्ण रुपमा विक्री भइसकेको तर कलाकारिता क्षेत्रका व्यक्तिहरुलाई थप सुविधा उपलब्ध गराउने उनले बताए । वेबसाइट तथा सोसियल मिडियामार्फत सम्पर्क गरेमा आफ्नोतर्फबाट सहयोग मिल्ने उनले बताए ।

गोर्खा सैनिकहरुको वीरता, समर्पण र त्याग केन्द्रित फिल्मको उक्त प्रिमियर शोमा बेलायती सेना प्रमुख, बेलायतको हाउस अफ लर्डसका सदस्य लर्ड होवार्ड, सांसद डामियन नोएल थोमस कोलिन्ससहितका बेलायती र नेपाली दुवै समुदायका विशिष्ट अतिथिहरु आउने पक्का भइसकेको छ ।

चलचित्र प्रिमियरमा रातो कार्पेट बिछ्याएर नेपाली कलाकारलाई अन्तरराष्ट्रिय स्तरको सिनेमा हलमा हिंडाइने छ । त्यहाँ बेलायती सेनाको ‘द ब्याण्ड अफ द ब्रिगेड अफ गोर्खाज’ ले विशेष प्रस्तुति दिने तयारी छ ।

नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्र निर्मातामा बेलायतस्थित अनुग्रह ज्वेलर्सका सञ्चालक सुमन राई र सुष्मिता वाइवा छन्।

गोर्खा वारियरमार्फत चलचित्रको प्रमुख नायकमा डेब्यू गरेका रितेश चाम्सले फिल्मबारे झण्डै डेढ सय बेलायती मिडियाले कभर गरिसकेको बताए । यसलाई उनले आफ्नो करिअरको कोशेढुंगाका रुपमा समेत लिएका छन् । टिकट बुकिङको लागि यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू