बिहीबार, कार्तिक ८, २०८१
17:58 | २२:४३

लण्डन आइपुगे महानायक राजेश हमाल

नेपाली लिङ्क सेप्टेम्बर २, २०२३

लन्डन ।महानायक राजेश हमाल लन्डन आइपुगेका छन् ।  

शनिबार बेलुका सहयोगी रोशन हमालका साथ उनी लन्डन उत्रिएका हुन्।

निकट स्रोतका अनुसार महानायक हमालको यो बेलायत भ्रमण झन्डै एक महिना लामो हुनेछ। त्यसक्रममा उनले विभिन्न कार्यक्रमहरुमा सहभागी भएर बेलायतवासी नेपालीहरुसँग अन्तरक्रिया गर्नेछन्।

आउंदो सोमबार सेप्टेम्बर ४ को बेलुका हमालको सहभागितामा लन्डन ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा ‘ब्ल्याक टाई गाला डिनर’ हुँदैछ।हेल्प नेपाल नेटवर्क यूकेको आयोजनामा हुने कार्यक्रमबाट संकलन हुने कोष हेल्प नेपाल नेटवर्कद्वारा काभ्रेमा सञ्चालित बाल गृहलाई सहयोग गरिनेछ ।  

त्यस्तै, आउंदो शनिबार सेप्टेम्बर ९ को साँझ लन्डन साउथ ह्यारोस्थित गोल्डेनसिप रेष्टुरेन्टमा तय ‘मिट एन्ड ग्रिट विथ महानायक’ मा हमालले भाग लिनेछन्।त्यसबाहेक उनले मिडल्यान्ड र स्कटल्यान्डसम्म पुगेर पनि स्थानीय नेपालीहरु भेट्ने कार्यक्रमको तयारी भइरहेको छ।

बेलायतमा रहंदा महानायक हमालले विभिन्न ठाउँमा फरक पेशा व्यवसायमा संलग्न नेपालीहरुलाई भेट्नेछन् र उनीहरुको कथा सुन्नेछन् । 

उनले यहाँका धेरै नेपालीहरुलाई उनीहरुको कार्यक्षेत्रमै गएर भेट्ने र उनीहरुको भोगाइ तथा अनुभवबारे बुझ्ने प्रयास गर्नेछन्। 

सोही शिलशिलामा केही समय युरोप समेत पुग्ने उनको योजना छ।  

विदेशमा रहेका नेपालीहरुको कथा सुन्ने र विशेष टेलिभिजन सिरिज ल्याउने उद्घोष गरेका अभिनेता हमालले सोही अभियानको प्रारम्भिक चरणमा बेलायत र युरोपका विभिन्न देशहरुको भ्रमण गर्न लागेका हुन् ।

महानायक हमालले विदेशमा बसेर विभिन्न क्षेत्रमा राम्रो सफलता पाएका नेपालीहरुको कथा आम नेपालीमाझ ल्याउनु आवश्यक रहेको भन्दै उनीहरुको सकारात्मक कथा धेरैका लागि प्रेरणादायी हुने बताएका छन् । 

त्यतिमात्रै नभएर उनीहरुसंग भएको अनुभव र दक्षतालाई नेपालसंग जोड्नुपर्ने र त्यसबाट देशले कसरी फाइदा लिने भन्नेतर्फ सोच्नुपर्ने पनि उनको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू