शनिबार, साउन १२, २०८१
12:20 | १७:०५

बेलायतको एयर ट्राफिक समस्यामा साइबर आक्रमण नभएको दावी  

नेपाली लिङ्क अगस्ट २९, २०२३

लन्डन । बेलायतमा भएको एयर ट्राफिक कन्ट्रोल समस्यामा कुनै पनि साइबर आक्रमण नभएको सरकारले दावी गरेको छ । बेलायतको एयर ट्राफिक कन्ट्रोलमा सोमबार मध्यान्हबाट देखिएको प्राविधिक समस्याका कारण हजारौँ उडान रद्द भए भने संचालनमा रहेका उडान पनि सुस्त गतिमा सञ्चालन भइरहेका छन् । नेशनल एअर ट्राफिक सर्भिसमा भएको त्रुटीका कारण सोमबार बेलायतका एक चौथाई भन्दा बढी उडान प्रभावित हुनुका साथै हजारौं यात्रु मारमा परे ।

उडान रद्ध हुने र ढिलाई हुने क्रम मंगलबार पनि यथावत रहेको र पूर्ण रुपमा संचालन हुन् अझै केहि दिन लाग्ने यातायात मन्त्री मार्क हार्परले जनाएका छन् । घटनाबारे उड्डयन विभाग (सिभिल एभिएसन अथोरिटी) ले चाडै अनुसन्धान तथा छानबिन गर्ने प्रधानमन्त्रीका प्रवक्ताले बताएका छन् । प्राविधिक घटनाको वास्तविक छानबिन गरि उड्डयन विभागले सरकारलाई बुझाउनेछ ।

विश्वकै अति व्यस्त एअपोर्टमध्ये टप फाएभमा पर्ने लन्डनको हिथ्रो विमानस्थालमा सोमबार मात्र ७९० उडान रोकिएका थिए जुन कुल उडान संख्याको करिब २७ प्रतिशत रहेको उड्डयन कार्यालयको तथ्यांकले देखाएको छ । यसैगरी ७९० उडानहरु अवतरण गर्नबाट बन्चित भए । गेट्वीक तथा म्यानचेस्टर एअरपोर्टको तुलनामा हिथ्रो एअरपोर्टमा बढी उडान रद्ध भएका थिए ।

मंगलबार र बुधबार उडान भर्ने यात्रुहरुलाई एयरलाइन्समा बुझेर मात्र एअरपोर्ट जान अनुरोध गरिएको छ । उडान ढिला तथा रद्ध हुन सक्ने भएकाले पहिला बुझेर मात्र यात्रा तय गर्न भनिएको छ । साथै आफ्नो टिकट पछिको लागि मिति परिवर्तन गर्न चाहेमा निशुल्क व्यवस्थाको समेत आव्हान गरिएको छ ।

होलिडे समय भएकाले छोटो समयका लागि होलिडे जाने यात्रुहरुको होलिडे यात्रा नै रद्ध हुन पुग्यो भने होलिडे गएर फर्किन लागेका यात्रुहरु पनि अन्यत्र नै रोकिन बाध्य भएका छन् । सामान्यतया ३/४ दिनको पारिवारिक होलिडे जाने यात्रुहरुको भने होलिडे सपना नै अधुरो रहन पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू