शनिबार, साउन १२, २०८१
02:47 | ०७:३२

बेलायतमा नेपालीको आकर्षण ध्यानतिर, स्वामी अर्हतद्वारा शिविर

नेपाली लिङ्क अगस्ट २४, २०२३

लन्डन – काठमाण्डूस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले गत साता लन्डनको ह्यारो तथा फाल्कनउडमा ध्यान शिविर संचालन गरेका छन्।

गत शनिबार ह्यारोस्थित अन्तर्राष्ट्रिय सिद्धाश्रम शक्ति केन्द्रमा आयोजित ध्यान शिविरलाई  सम्बोधन गर्दै स्वामी अर्हतले विश्व स्वास्थ्य संगठनका अनुसार प्रति वर्ष संसारमा हुने सबै मृत्युहरुमध्ये ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको बताए।  “हाम्रो शरीरलाई चलायमान बनाउनुका साथै  खानपिन र आफ्नो मनको  ख्याल गरेर हामीले नसर्ने रोगका कारण हुने मृत्युलाई धेरै हदसम्म घटाउन सक्छौं,” उनले भने।

खाना, व्यायाम, आराम, स्वस्थ वातावरण, नियमित सामाजिक सम्पर्क र कुलत छाडेर संतुलित जीवन यापन गर्न सकिने उनले बताए।  उनले हरेक दिन बिहान उठेर कम्तीमा ५ मिनट  छिटो छिटो स्वाश बाहिर फ्यांक्न र स्वासप्रश्वास प्रक्रियालाई हेर्न पनि सुझाव दिए।  “हामीले खाना किन्न सक्छौं, भोक किन्न सक्दैनौं, बेड किन्न सक्छौं, निन्द्रा किन्न सक्दैनौं।  त्यसैले संतुलित जीवन यापन गर्नुको विकल्प छैन,” उनले भने।


ओशो आनन्दबोधी मेडिटेशन सेन्टर, युके तथा नेप्लिज ब्रिटिश कम्युनिटी यूकेद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा एनबीसी यूकेका समीरनाथ प्याकुरेलले स्वागत गरेका थिए भने  एनबीसी यूकेका अध्यक्ष राज ओझाले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रम संचालन स्वामी भगीरथ योगीले गरेका थिए।

यसैगरी ह्यारिस एकेडेमी, फाल्कनउडमा आयोजित एक दिवसीय शिविरमा स्वामी आनन्द अर्हतले आफ्नो शरीरलाई सम्मान गर्न आग्रह गरे।  “यदि तपाईंले आफ्नो शरीरको सम्मान गर्नु भएन भने तपाईंको शरीरले पनि तपाईंको सम्मान गर्दैन,” उनले भने। “राजनीति होस् वा सार्वजनिक जीवन, आफ्नो परिवारमा होस् वा व्यवसायमा सुख, शान्ति र सम्यक जीवनकालागि ध्यान बाहेक अर्को विकल्प छैन। आफ्नो व्यस्त जीवनबाट केही समय निकालेर ध्यानको माध्यमबाट जीवनलाई अरु बढी आनन्दित बनाउन म सबै मित्रहरुलाई आग्रह गर्दछु,” स्वामी अर्हतले भने।

कार्यक्रममा बेक्स्ली नेपाली समाजका अध्यक्ष हरिश ज्ञवालीले स्वागत गरेका थिए भने डार्टफोर्ड नेपाली समाजकी अध्यक्ष डा बिना घिमिरेले धन्यवाद ज्ञापन गरेकी थिइन्। उक्त दिवा शिविरमा झन्डै ८० जना साधकहरुको सहभागिता थियो।

आनन्दबोधी मेडिटेशन सेन्टर युकेका संयोजक स्वामी ध्यान शंकरले यही सप्ताहान्त (अगष्ट २६ देखि २८ तारिखसम्म) लन्डन नजिकै CIM Moor Hall, Maidenhead, Berkshire, SL6 9QH मा स्वामी आनन्द अर्हतले  तीन दिवसीय ध्यान शिविर सन्चालन गर्न लागेको बताए । शिविरमा सहभागी हुन इच्छुक मित्रहरुले [email protected] वा [email protected] मा सम्पर्क गरेर आफ्नो स्थान सुरक्षित गर्न आयोजक आनन्दबोधी मेडिटेशन सेन्टर यूकेले आग्रह गरेको छ।


स्कटल्याण्डमा ध्यान शिविर

स्वामी अर्हतले शनिबार, २ सेप्टेम्बरमा  नेप्लीज हिमालयन एसोसियशन स्कटल्याण्डद्वारा Bridge of Don, Balgownie Road, Aberdeen AB22 8GU (NHAS Hall) मा आयोजित कार्यक्रममा बिहान ८ बजे देखि अपरान्ह १ बजे सम्म ध्यान शिविर संचालन गर्ने हेमराज पहारीले जानकारी दिए।

यसैगरी स्वामी अर्हतले आइबार, ३  सेप्टेम्बरमा  द हिमालयन सेन्टर 121 Great Junction Street, Edinburgh EH6 5LD मा  बिहान ९ बजे देखि अपरान्ह १ बजेसम्म ध्यान शिविर संचालन गर्ने मनिश खत्रीले जानकारी दिए।

ओशो तपोवनका संस्थापक बोधिसत्त्व स्वामी आनन्द अरुणसंगै स्वामी आनन्द अर्हतले गत १६ वर्षदेखि बेलायतमा ध्यान शिविरहरु सन्चालन गर्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू