शनिबार, साउन १२, २०८१
02:20 | ०७:०५

आरजीएनएसमा नयाँ नेतृत्व चयनको तयारी, सेप्टेम्बर २४ मा अधिवेशन

नेपाली लिङ्क अगस्ट २३, २०२३

लन्डन। रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी (आरजीएनएस) नयाँ नेतृत्व चयनको तयारीमा जुटेको छ।

शनिबार प्लमस्टिडमा सम्पन्न कार्यसमिति तथा सल्लाहकारहरुको संयुक्त बैठकले आगामी सेप्टेम्बर २४ तारिख आइतबार अधिवेशन गर्ने निर्णय गरेको हो। सोही अधिवेशनले आगामी दुई वर्ष हांक्ने नयाँ कार्यसमिति निर्वाचित गर्नेछ।  

संस्थामा यसअघि तीन वर्षे कार्यकाल रहने गरेकोमा त्यसलाई २ वर्षमा संशोधन गरी वर्तमान कार्यसमिति निर्वाचित भएको दुई वर्षमै नयाँ अधिवेशन गर्न लागिएको हो।

यसअघि वर्तमान अध्यक्ष जीत रानाभाट स्थानीय रोयल ग्रीनवीच बरोमा काउन्सिलर एवम् उपमेयर निर्वाचित भएपछि उपाध्यक्ष पुण्य रेग्मीलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिइएको थियो।

बैठकले नयाँ अधिवेशनमार्फत् चयनका लागि सल्लाहकार एलएन पाण्डेको संयोजकत्वमा कुमार श्रेष्ठ र सहदेव गिरी सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ।  

त्यस्तै, सल्लाहकार अर्कराज तिम्सिना संयोजक तथा माधवलाल श्रेष्ठ र शर्मिला हिराचन थकाली सदस्य रहेको विधान समिति गठन गरिएको छ।

बैठकले नयाँ सदस्यता तथा नवीकरणको आवेदन दिने म्याद सेप्टेम्बर १५ साँझ ५ बजेसम्म राख्ने र कार्यसमितिले स्वीकृत सदस्यहरुको अन्तिम नामावली सेप्टेम्बर १७ सम्ममा निर्वाचन समितिलाई बुझाउन म्याद तोक्ने निर्णय गरेको छ।

संस्थाले आउंदै गरेका नेपालीका महान पर्व दशैं र तिहारको अवसरमा एक शुभकामना कार्यक्रम गर्ने र सो कार्यक्रम संयोजनको जिम्मा सल्लाहकार ह्यारी गुरुङलाई लगाउने निर्णय पनि गरेको छ।

अध्यक्ष जीत रानाभाटको अध्यक्षतामा सम्पन्न बैठकमा सल्लाहकारहरु मोहन गुरुङ, एलएन पाण्डे, संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, पासा पुच: साउथ इष्ट अध्यक्ष माधवलाल श्रेष्ठसहित सल्लाहकार एवम् कार्यसमिति पदाधिकारीहरुको उल्लेख्य सहभागिता थियो। बैठक सञ्चालन उपाध्यक्ष पुण्य रेग्मीले गरेका थिए।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू