शनिबार, साउन १२, २०८१
03:06 | ०७:५१

लन्डनमा युवा नेतृ सोविताले भनिन्-‘एनआरएनएमा युवा पुस्ताको उदय हुनुपर्छ’

नेपाली लिङ्क अगस्ट २१, २०२३

लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले एनआरएनएमा युवा पुस्ताको उदय हुनुपर्ने बताएकी छन् । गैर आवासीय नेपाली संघ यूकेद्वारा आइतबार आयोजित  शुभकामना तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

निजी भ्रमणमा हाल बेलायत रहेकी गौतमले एनआरएनहरुले आफ्नो मातृभूमिप्रति गरेको योगदान आफूले नबिर्सेको बताइन् । उनले एनआरएनहरुलाई नेपाल फर्कन मात्रै हैन नेपालमै बस्ने सहज वातावरण सृजना गर्नुपर्नेमा जोड दिइन् । आफूहरु युवा पुस्ताको रुपमा नेपालको राजनीति सम्हाल्न तयार भएको बताउंदै एनआरएनएमा पनि युवा पुस्ताको उदय हुनुपर्ने उनले बताइन् ।

उनले एनआरएन नागरिकता, सम्पत्ति सुरक्षा लगायत भूतपूर्व गोर्खाको हक अधिकारको लागि व्यक्तिगत र पार्टीको तर्फबाट पनि पूर्ण सहयोग हुने बताइन्। विश्वभरमा रहेका नेपालीहरुको मुद्धालाई नेपाल सरकारसमक्ष पुर्याएर एनआरएनएले कुनै पनि आग्रह पूर्वाग्रहमा नलागी मातृभूमिसंगको सम्बन्धमा पुलको रुपमा काम गर्न उनले जोड दिइन् ।

सम्पूर्ण संघसंस्थाहरु मिलेर आफ्ना छोराछोरीहरुलाई सहभागी गराई नेपालसंगको सम्बन्धलाई थप मजबुत बनाउन आग्रह गरिन् । पछिल्लो समयमा उठेका विभिन्न मुद्धाका कारण नेपाल सरकारले बिर्सन खोजेको हो कि भनेर चिन्तित नहुन र धैर्य गर्न उनले आग्रह गरिन् । विदेशमा बस्ने नेपालीहरुलाई संधैभरी नेपालसंग जोडि राख्ने वातावरण बनाउनुपर्ने र त्यसका लागि देखिएका बाधा अड्चनहरु फुकाउन आफूहरु लागिपर्ने आश्वासन दिइन् ।

‘विदेशमा बस्ने नेपालीलाई मात्र नेपाल चाहिने नभई नेपाललाई पनि विदेशमा बस्ने नेपालीहरु चाहिन्छ’ उनले भनिन् । विगतको स्मरण गर्दै उनले भनिन् ‘मैले केहि समय अगाडि खुल्ला मन्चमा भनेको थिएँ, विदेशमा बस्ने नेपालीलाई नेपाल फर्काउने मात्र हैन उनीहरुलाई सहज वातावरण पनि बनाउनुपर्छ । हिजोमात्र हैन आज पनि आफ्नो सोहि धारणा रहेको उनले बताइन् । पार्टी, धर्म, रंग र जातको बहानामा अल्झिएर होइन एक नेपालीको रुपमा अघि बढ्न उनले सुझाव दिइन् ।

भूतपूर्व गोर्खा मुद्दाको प्रसङ्ग कोट्याउँदै उनले भनिन्, ‘म नेपाल पुगेर गोर्खाहरुको मुद्दाबारे मेरो पार्टीका अरु नेताहरुसँग पनि छलफल गर्नेछु र आवश्यक सहजीकरण गर्नेछु ।’ नेपाली भन्दा पनि गोर्खालीको रुपमा संसारभर नै परिचय बनाएका गोर्खाहरुको मुद्धा किन ओझेलमा परेको हो यसबारेमा आवाज उठाउने गौतमले बताइन् । पार्टीको नाताले नभई एक संघीय संसद्को हैसियतले आवाज उठाउने उनले बताइन् । गोर्खाहरुको मुद्धा राष्ट्रिय समस्या भएकाले यसको समाधानको पहल राज्यस्तरबाटै हुनुपर्ने उनको भनाइ थियो।

आफू नेपाल फर्किएपछि विदेशमा बस्ने नेपालीहरुको विषयमा आवश्यक छलफल र पहल गर्ने आश्वासन गौतमले दिइन् । निजी भ्रमणमा बेलायत आएपनि उनी बेलायतस्थित विभिन्न नेपाली संघसंस्थासंग भेटघाट तथा अन्तरक्रियामा व्यस्त छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू