शनिबार, साउन १२, २०८१
10:36 | १५:२१

चुनाव नजिकिंदै गर्दा एनआरएन नेताहरु बेलायतमा

एनआरएनए यूके नयाँ कार्यसमितिलाई बधाई र शुभकामना

नेपाली लिङ्क अगस्ट २१, २०२३

लन्डन – आउँदो अक्टोबरमा गैर आवासीय नेपाली संघको नयाँ नेतृत्व चयन गर्न चहलपहल बढिरहेको बेला एनआरएन नेताहरु बेलायतमा भेला भएका छन्। उनीहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी पनि घोषणा गरे । 

एनआरएनए यूकेको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आइतबार अल्डरशटमा आयोजित कार्यक्रममा संघका उपाध्यक्ष महेश श्रेष्ठले सन् २०२३-२५ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे।

उनले एनआरएनएको जननी मुलुक बेलायतबाट आफ्नो उम्मेदवारी घोषणा गर्न पाउँदा साह्रै खुसी लागेको बताउंदै विस्तृत एजेन्डासहित छिट्टै नेपालबाट औपचारिक घोषणा गर्ने पनि बताए।

संघका उपाध्यक्ष महेश श्रेष्ठ

उपाध्यक्ष श्रेष्ठले संघ अहिले निकै विषम परिस्थितिमा रहेको भन्दै सहमतिको आधारमा संस्थालाई अगाडि बढाउन सक्ने नेतृत्वको आवश्यकता रहेको बताए।

उनले देशले एनआरएनहरुबाट ठूलो अपेक्षा गरेको बताउंदै नेपालको समृद्धिमा योगदान गर्न र विदेशमा बस्ने नेपालीहरुको हक सुरक्षित गर्न आफूले रणनीतिक योजना बनाएको पनि बताए । ‘हामीले निर्वाचित भएको दिनदेखि नै क्यालेन्डर बनाएर एक्शन ओरिएन्टेड योजना कार्यान्वयन गर्ने छौं,” उनले भने। 

संघका महासचिव डा केशव पौडेलले आफू अध्यक्ष पदको आकांक्षी हुँदै गर्दा पनि संघको बृहत् एकतालाई ध्यानमा राखी एक कदम पछाडि हटेर भए पनि अब केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए। 

उनले सहमतिको आधारमा नयाँ नेतृत्व चुन्न आग्रह गर्दै संघलाई एकजुट गरेर अगाडि बढाउन महेश श्रेष्ठ सबै हिसाबले उपयुक्त उम्मेदवार रहेको धारणा व्यक्त गरे। 

उपाध्यक्ष नारायण आचार्यले पनि सहमतिको आधारमा सबैलाई समेट्न सक्ने नेतृत्व चयन गर्न आग्रह गरे। त्यस्तै उपाध्यक्ष हेमराज शर्माले आफू पनि सहकार्य र सहमतिको आधारमा केन्द्रको नयाँ नेतृत्व चयन गर्ने पक्षमा रहेको बताए।  “सहमतिमा जाउँ जसको नाम भए पनि हुन्छ,” उनले भने।

अध्यक्ष कुल आचार्य

संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले तीनजना अध्यक्ष भए पनि आफूहरुले संस्थाको मर्यादा जोगाएर काम गरिरहेको बताए।

उनले गएको २० वर्ष देखि थाती रहेका मुद्दाहरु समाधान हुने क्रममा रहेको बताउंदै आउँदो अक्टोबर महिनाभित्र गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा आइसक्ने बताए।  उनले अब आफू चुनावमा नउठ्ने बताउंदै सहमतिको आधारमा नयाँ नेतृत्व चुन्न आग्रह गरे।


नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना

उक्त अवसरमा बोल्दै समारोहका प्रमुख अतिथि तथा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गैर आवासीय नेपाली संघ नेपाललाई विश्वमा चिनाउने र संसारभरि फैलिएका नेपालीहरुसंग रहेको सीप, साधन र श्रोत नेपालको हितमा प्रयोग गर्ने कडीको रुपमा रहेको बताए। उनले जुन मुलुकमा नेपाली दूतावास छैनन्, त्यहाँ पनि संघले नेपाली समुदायलाई सहयोग गरिरहेको  बताए। 

राजदूत आचार्यले एनआरएनए यूकेको नयाँ कार्यसमितिलाई बधाई र शुभकामना दिंदै यूकेमा बसोबास गरिरहेका नेपालीहरुलाई एकतावद्ध गरी सामाजिकता र सहकार्य अभिवृद्धि गर्न सुझाव पनि दिए।

हाल बेलायतको भ्रमणमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले एनआरएनहरुको मातृभूमिप्रतिको मायालाई नेपालले नबिर्सेको बताइन्। उनले एनआरएनहरुलाई नेपाल फर्कन मात्रै हैन नेपालमै टिकाउने वातावरण बनाउनु पर्ने बताइन्। “हामी युवा पुस्ता नेपालको राजनीति सम्हाल्न तयार भएर आएका छौं। एनआरएनएमा पनि अब युवा पुस्ताको उदय हुनुपर्छ,” उनले भनिन्। 

उनले एनआरएन नागरिकता, सम्पत्ति सुरक्षा लगायत भूतपूर्व गोर्खाको हक अधिकारको लागि व्यक्तिगत र पार्टीको तर्फबाट पनि पूर्ण सहयोग हुने बताइन्।

कार्यक्रममा एनआरएनए यूकेका नवनिर्वाचित अध्यक्ष हित काजी गुरुङले आउँदो २ वर्षका लागि नयाँ कार्यसमितिको कार्ययोजना पढेर सुनाएका थिए। नवनिर्वाचित पदाधिकारीहरुलाई विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले खादा र फेटा लगाएर बधाई दिएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम

समारोहमा गैरआवासीय नेपाली संघका पूर्व सल्लाहकार विश्वआदर्श पण्डित, उपमहासचिव रामशरण सिम्खडा, सचिव गङ्गाधर गौतम, सह-कोषाध्यक्ष  कृष्ण तिमल्सेना, युरोप उपसंयोजक दयानिधि सापकोटा, युरोप युवा उपसंयोजक रोवर्ट लिम्बु, एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदी, एनआरएनए क्यानडाका पूर्व अध्यक्ष दिपक गौतम, एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष भीम कमल केसी, पूर्व आइसीसी सदस्य अनुजा प्रधान, नेपाली जनसम्पर्क समिति यूके सभापति युवराज गुरुङ, प्रवासी नेपाली मंच यूकेका अध्यक्ष तुङ्ग भद्र भुसाल, नेपाल पत्रकार महासंघ यूकेका पूर्व अध्यक्ष चिरन शर्मा लगायतले शुभकामना दिएका थिए।  

एनआरएनए यूके महासचिव गोविन्द खरेलले संचालन गरेको कार्यक्रममा चर्चित जनवादी गायक जीवन शर्माले लोकप्रिय गीतहरु सुनाएका थिए भने सुदीप क्षेत्री लगायत कलाकारहरुले पनि गीतसंगीतबाट सहभागीलाई नचाएका थिए ।

उक्त अवसरमा विदेशबाट आएका एनआरएनए पदाधिकारीहरु तथा निर्वाचन समितिका सदस्यहरुलाई सम्मानपत्र पनि प्रदान गरिएको थियो। सबै तस्बिर- मिलन तमु 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू