शनिबार, साउन १२, २०८१
06:50 | ११:३५

भूतपूर्व गोर्खाहरुको आमसभा विवादमा, ‘जी टेन’ आयोजक नभएको प्रष्टिकरण

नेपाली लिङ्क अगस्ट १९, २०२३

लन्डन । १० वटा भूतपूर्व गोर्खा संगठनहरुको समूह ‘जी टेन’ ले बेलायतमा पहिलोपटक संयुक्त रुपमा गर्ने भनिएको आमसभा विवादमा परेको छ ।

ग्रेन्ज कम्युनिटी जुनियर स्कुल हल, फार्नबरोमा २० अगष्ट आइतबार एक वृहत आमसभा 
गर्ने भनिएकोमा उक्त आमसभा ‘जी टेन’ को नभएको समूहले प्रष्टयाएको छ ।

समूहका प्रवक्ता मेजर रि. जुदबहादुर गुरुङले एक विज्ञप्ति जारी गर्दै आइतबारको आमसभा गेसो र बिजिडब्लुएसको मात्र भएको तर यो जी टेनले नगरेको प्रष्टयाएका हुन् ।

मिडियामा वितरण गरिएको लेटर प्याड पनि जी टेन समूहको आधिकारिक नभएको उनको भनाइ छ । बेलायत र नेपाल सरकारबीच जारी जीटुजी वार्ता सम्बन्धमा भइरहेका प्रगति आफ्ना सदस्यहरुलाई अवगत गराउन ति दुई संस्थाले आमसभा गरेको गुरुङले जनाएका छन् ।

‘आमसभामा मलाई पनि वार्ता मध्यस्तकर्ताको हिसावले बोलाइएको छ, म जान्छु’, गुरुङले भनेका छन्, ‘पहिला पनि म सत्याग्रह, गोर्खा पेन्सन इन जस्टिस ग्रुप, नेसाको कार्यक्रममा गएको थिएं । तर यो जी टेनले गरेको होइन ।’

उनले वार्ताबारे जानकारी दिन आफू वेल्स, स्वीन्डन, रेडिङ, वुलवीच र अल्डरसटमा गइसकेको र अब ननिटन, डोन्काष्टर र क्याट्रिकमा जाने कार्यक्रम रहेको पनि बताए ।

नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसमेत सहभागी हुने आमसभा भनेर प्रचार प्रसार गरिएकोमा दूतावास समेत खुशी नभएको श्रोतको दावी छ । राजदूत आचार्य हाल नेपालमा रहेको र नेपाल सरकारको प्रतिनिधि एउटा कुनै समूहको कार्यक्रममा जाने भन्ने नहुने श्रोतले बतायो ।

उता, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले पनि उक्त आमसभामा आफूहरुको संलग्नता अस्वीकार गरेको छ । जी टेनको आयोजना भनिएकोमा खण्डन गर्दै सत्याग्रहले वार्ता प्रगतिबारे आफ्नै ढंगले जानकारी सभा गर्दै आएको र अहिले जानकारी नै दिनुपर्ने कुनै ‘अपडेट’ नभएको जनाएको छ ।

सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईले बिना सरसल्लाह आफूहरु समेत संलग्न जी टेनको नाम जोडेर अहिले गलत अपव्याख्या भइरहेको बताए ।

‘भूतपूर्व गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल सरकार (जीटुजी) वार्ता विलम्ब भइरहेको छ । सेप्टेम्बरसम्म वार्ता टुंगो लगाउने भनिएपनि वार्ता सोचे जसरी अगाडि बढेको छैन्’, राईले भने, ‘अहिले जनमानसमा के भन्दै जाने ? गेसो र बिजिडब्लुएसले आफ्नो ढंगले जे गर्छन् गरुन् तर हामी यसमा संलग्न छैनौं ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू