शनिबार, साउन १२, २०८१
05:46 | १०:३१

लन्डनमा ‘ब्राण्ड एम्बासडर’ बने पूर्वकप्तान ज्ञानेन्द्र मल्ल

नेपाली लिङ्क अगस्ट १८, २०२३


लन्डन- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल लण्डनमा एक निजी कम्पनीको ‘ब्रान्ड एम्बासडर’ नियुक्त भएका छन् । 

बिहीबार आयोजित एक कार्यक्रममा नेपाली युवा व्यवसायीद्वारा संचालित ‘माया सपोर्टेड लिभिङ लिमिटेड’ का लागि मल्ललाई ब्राण्ड एम्बासडर घोषणा गरिएको हो । कम्पनीका निर्देशक एवम् क्रिकेटर राज पाण्डे र पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सोही अवसरमा मल्ललाई कम्पनीको लोगो अंकित टिसर्ट प्रदान गरिएको थियो । पाण्डेलाई पनि मल्लले क्यानको लोगो अंकित टोपी प्रदान गरे ।  

खलकुदको माध्यमबाट बेलायतवासी नेपाली समुदायमा केहि गर्ने उद्देश्यले मल्ललाई आफ्नो कम्पनीको ब्राण्ड एम्बासडर नियुक्त गरेको र यसबाट क्रिकेट खेल क्षेत्रमा थप प्रोत्साहन मिल्ने निर्देशक पाण्डेले बताए ।

‘नेपाली क्रिकेट खेत्रमा मल्लले पुरयाएको योगदानको कदर गर्दै हामीले उहाँसँग सहकार्य गरेका छौं, यसबाट क्रिकेट खेलले थप फड्को मार्नेछ’, पाण्डेले भने । आफूहरु लिन मात्र नभई दिन पनि चाहने भएकाले क्रिकेट खेललाई माथि उठाउने प्रयासमा लागिपरेको उनले बताए ।

भर्खरै सम्पन्न ब्रिटिश नेप्लिज प्रिमिएर लिग (बिएनपीएल) क्रिकेट प्रतियोगिताका साथै अन्य  विभिन्न नेपाली समुदायमा आफूले सहयोग गर्दै आएको र भावी दिनमा सहयोग निरन्तर रहिरहने पाण्डेले बताए ।

‘माया सपोर्टेड लिभिङ लिमिटेड’ को ब्राण्ड एम्बासडर बनेर संस्थागत रुपमा जोडिन पाएकोमा खुसी व्यक्त गर्दै मल्लले बेलायती नेपाली समुदायसंग सहकार्य गर्ने अवसर प्रदान गरेकोमा कम्पनीलाई धन्यवाद दिए । 

‘कम्पनीका निर्देशक राज पाण्डेले क्रिकेट खेलका लागि गरेको मिहिनेत र सहयोग अत्यन्त सह्रानीय छ, उहाँसंगको सहकार्यले क्रिकेट खेल अझ बढी अघि बढ्ने आशा एवंम् विश्वाश गरेको छु’- मल्लले भने । 

शारीरिक अशक्त तथा मानसिक रोगबाट पीडितहरुका लागि सेवा र सहयोग पुरयाउंदै आएको कम्पनीले नेपालमा पनि यस्तै किसिमको सेवा र सहयोग गर्ने प्रयास गरेमा अझ बढी प्रभावकारी हुने उनले बताए ।


कम्पनीकी अप्रेशन हेड रक्षा थापाले कम्पनीबारे उल्लेख गर्दै खेलकुदको माध्यमबाट फिजिकल र मेन्टल हेल्थका लागि ठूलो फाइदा पुग्ने बताइन् ।

आफ्नो कम्पनीमा पनि बेलाबखत स्पोर्ट्स एक्टिभिटीज् गर्दै आएको र आफ्ना स्टाफहरुसमेत क्रिकेट प्रतियोगितामा सहभागी हुँदै आएकाले आफ्नो सहकार्यले यसमा थप सहयोग पुग्ने उनले बताइन् । 

आफ्नो कम्पनीले निकट भविष्यमा नै एउटा ठूलो इभेन्ट आयोजना गर्न लागेको तर कस्तो इभेन्ट भन्ने बारेमा भने अहिले नै खुलासा नगर्ने उनले बताइन् । यद्धपि उक्त इभेन्ट बेलायती नेपाली समाजमा हुने इभेन्टमध्येकै ठूलो हुने बताइएको छ । 

कार्यक्रममा असिस्टेन्ट म्यानेजर पूजा हाइर, हाउस म्यानेजर आशिस भट्ट, अफिस एडमिन आंचल तिमल्सिना, ट्रेनी म्यानेजर प्रज्ञा आचार्यलगायतको सहभागिता थियो ।

सन् २०१८ मा स्थापना भएको ‘माया सपोर्टेड लिभिङ लिमिटेड’ ले शारीरिक रुपमा अपाङ्गता भएका तथा मानसिक रोगबाट पीडित व्यक्तिहरुलाई आवश्यक सम्पूर्ण सेवा सुविधा प्रदान गर्दै आएको छ । 

कम्पनीमा हाल करिब तीन दर्जन कर्मचारी रहेका र तीमध्ये झन्डै दुई दर्जन नेपाली छन् । तिमध्ये कतिपय क्रिकेट क्लबमा समेत आवद्ध छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू