शनिबार, साउन १२, २०८१
06:27 | ११:१२

लन्डनमा सांसद सोविताले भनिन्- गोर्खा मुद्दा सुल्झाउन रास्वपाले सहजीकरण गर्छ

नेपाली लिङ्क अगस्ट १७, २०२३

तस्विर- वीरेन्द्र नेपाल

लन्डन । चर्चित युवा सांसद सोविता गौतमले भूतपूर्व गोर्खाहरुको मुद्दा सुल्झाउन राष्ट्रिय स्वतन्त्र पार्टीले सहजीकरण गर्ने बताएकी छन्।

विहीबार लन्डन प्लमस्टिडमा स्थानीय नेपालीहरुसँगको अन्तरक्रियामा उनले पूर्व गोर्खाका हकअधिकारका पक्षमा ऐक्यवद्धतासहित सहजीकरणको प्रतिवद्धता व्यक्त गरिन्।

‘अब म नेपाल पुगेर गोर्खाहरुको मुद्दाबारे मेरो पार्टीका अरु नेताहरुसँग पनि छलफल गर्छु’ उल्लेख्य संख्यामा उपस्थित पूर्व गोर्खाहरुमाझ उनले भनिन्-‘तपाईंहरुलाई हाम्रो ऐक्यवद्धता रहन्छ र समस्या समाधानका लागि आवश्यक सहजीकरण पनि गर्छौं।’

गोर्खाहरुको मुद्धा राष्ट्रिय समस्या भएकाले यसको समाधानको पहल राज्यस्तरबाटै हुनुपर्ने उनको भनाइ थियो।

सांसद गौतमले देशका लागि केही राम्रो गर्ने अठोट बोकेर आफूसहित युवाहरु राजनीतिमा आएको बताइन्। पुराना पार्टीहरुको कार्यशैलीको आलोचना गर्दै उनले भनिन्- संसदमा उहाँहरु अर्को पार्टीलाई गाली गरेरै समय बिताउनुहुन्छ। तर हामीले अरुलाई गाली गर्दैनौँ, जनताको पक्षमा बुलन्द आवाज उठाउंछौं।’

रास्वपा प्रवास विभाग यूके सभापति पवन शर्माले सञ्चालन गरेको कार्यक्रममा जिगेसा अध्यक्ष हरिकुमार मल्ल, गोर्खा सत्याग्रहआबद्ध लेफ्टिनेन्ट याम गुरुङलगायतले पूर्व गोर्खाका समस्याबारे सांसद गौतमलाई जानकारी गराएका थिए। कार्यक्रम व्यवस्थापन वीरेन्द्र नेपालले गरेका थिए।

व्यक्तिगत भ्रमणमा गत शनिबार बेलायत आएकी सांसद गौतम अगस्ट २५ मा नेपाल फर्किंदैछन्।त्यसअघि आउंदो विहीबार उनले मिडल्यान्डका नेपालीसँग नटिङहममा पनि अन्तरक्रिया गर्नेछिन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू