शनिबार, साउन १२, २०८१
03:13 | ०७:५८

बीसीसी यूकेले गर्‍यो ३ दिने चिल्ड्रेन समर क्याम्प

नेपाली लिङ्क अगस्ट १४, २०२३

लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले ३ दिने चिल्ड्रेन समर क्याम्प आयोजना गरेको छ । गत ९ अगष्ट बुधबारदेखि ११ अगष्टसम्म बीसीसी यूकेको अल्डरसटस्थित बौद्ध गुम्बा परिसरमा चिल्ड्रेन समर क्याम्प गरिएको हो ।

विशेषगरी बेलायतमा रहेका नेपाली बालबालिकालाई बुद्धिजम, मेडिटेशन, योगा, दैनिक पूजापाठ, साम्बुटा लिपी लगायत विषयमा जानकारी गराउने उद्देश्यका साथ कोभिड–१९ पश्चात तेश्रो पटक समर क्याम्प आयोजना गरिएको हो ।

विभिन्न उमेर समूहका ३१ जना बालबालिका सहभागी चिल्ड्रेन समर क्याम्पमा यसपटक नेपालीबाहेक अरु समुदायका वच्चाहरुको समेत सहभागिता थियो ।

बीसीसी यूकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङको संयोजकत्वमा सम्पन्न उक्त समर क्याम्पमा बीसीसी यूकेका खेन्पो कर्म छुल्त्रिम र खेन्पो फुतेम्बाले फोर नोवल त्रुथ एण्ड फाइव पर्सेप्ट, मेडिटेशन, व्हील अफ लाइफलगायत बुद्धिजमबारे जानकारी गराएका थिए । त्यस्तै, बीसीसी यूके आमा सचिव शारदा गुरुङ र मेरिटले वच्चाहरुलाई योगा अभ्यास गराएका थिए ।

समर क्याम्पबाट बालबालिकाहरुले बौद्ध धर्म, संस्कार, संस्कृति र परम्पराबारे जानकारी लिन सफल भएको कार्यक्रम संयोजक मेजर गुरुङले बताए । क्याम्पमा बिहान १० देखि दिउँसो ४ बजेसम्म प्रत्येक दिन बालबालिकालाई बौद्ध शिक्षासंगै मनोरञ्जनात्मक खेलहरु समेत खेलेका थिए ।

कार्यक्रमको अन्त्यमा हाल बेलायत भ्रमणमा रहेका लामा लुङ्रिग निमा रिन्पोछेले सहभागी बालबालिकालाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

बौद्ध दर्शनसंग सम्बन्धित विभिन्न वृत्तचित्र समेत प्रस्तुत गरिएको उक्त समर क्याम्पमा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष नरेश गुरुङ, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, पुष्पा गुरुङ लगायत सल्लाहकार, पदाधिकारी तथा सदस्यहरु, आमाहरु एवं स्वंयसेवकहरुको बिशेष उपस्थिति थियो ।

यसैबीच, बीसीसी यूकेले खेन्पो कर्म छुल्त्रिमको स्वागत गरेको छ । गत आइतबार ६ अगष्टका दिन अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको गुम्बामा बीसीसी यूके अध्यक्ष, आमा अध्यक्ष, खेन्पो फुर्तेम्बा, पदाधिकारी, सल्लाहकार, सदस्य, आमाहरुसाथै भक्तजनहरुले उनलाई स्वागत गरेका हुन् ।

सोही दिन बेलायत भ्रमणमा रहेका लामा लुङ्रिग निमा रिन्पोछेले पेचा र च्योद्को लुङ्ग प्रदान गरेका थिए । बौद्ध परम्परामा पेचा (ग्रन्थ), च्योद् (डमरु घन्टी) साधनालाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।

सन् २०१९ मा बीसीसी यूकेको निमन्त्रणामा बेलायत आउँदा बीसीसी यूकेका भक्तजनहरुलाई च्योद् साधना गराएका रिन्पोछेले बीसीसी यूकेका भक्तजनहरुलाई सो लुङ्ग प्रदान गरिएको हो । बीसीसी यूकेका पूर्व अध्यक्ष नारायण प्रसाद गुरुङ बीएमइको संयोजकत्वमा सम्पन्न भएको उक्त लुङ्ग प्रदान तथा स्वागत कार्यक्रम बीसीसी यूकेका अध्यक्ष गुरुङले अध्यक्षता गरेका थिए भने महासचिव मेजर हितमान गुरुङले सञ्चालन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू