शनिबार, साउन १२, २०८१
02:14 | ०६:५९

स्कटल्यान्डमा दूतावासको घुम्ती सेवामा आवेदन दिनेहरुलाई बांडियो पासपोर्ट

नेपाली लिङ्क अगस्ट १२, २०२३

लन्डन। स्कटल्यान्डमा लन्डनस्थित नेपाली दूतावासको घुम्ती सेवाका क्रममा आवेदन संकलन गरिएका दर्जनौँ पासपोर्ट वितरण भएका छन्।

एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषदका निवर्तमान अध्यक्ष काशीराम भण्डारीले गतसाता दूतावासबाट संकलन गरेका पासपोर्ट सम्बन्धित सेवाग्राहीकै स्थानमा पुर्‍याएर वितरण गरेका हुन्।

भण्डारीले ६६ पासपोर्ट र तीन एनआरएन कार्डसहित जम्मा ६९ वटा डकुमेन्ट वितरण गरिएको जानकारी दिए। 

स्थानीय सेवाग्राहीलाई सुविधा हुने गरी ग्लास्गो, एडिनबरा, फाइफ लगायत स्थानबाट पासपोर्ट वितरण गरिएको उनले बताए। लामो दूरीमा पर्ने एबर्डिनसहितका क्षेत्रका लागि भने सबै डकुमेन्ट एकमुष्ट पठाइएको उनले जनाए।  

यसअघि एनआरएनए स्कटल्यान्ड राज्य परिषदसंगको समन्वयमा केही महिनाअघि ती आवेदनहरु संकलन गरिएको थियो। गतसाता परिषदका निवर्तमान अध्यक्ष भण्डारी लन्डन दूतावास आएर तयार पासपोर्टहरु लिएर गएका थिए। 

घुम्ती सेवाले स्कटल्यान्डवासी नेपालीहरुलाई ठूलो सुविधा मिलेको भन्दै भण्डारीले दूतावासप्रति आभार प्रकट गरेका छन्।

‘हाम्रो कार्यकालमा दूतावाससंगको सहकार्यमा यहाँका नेपालीलाई सुविधा मिलोस् भनेर हामीले कोशिश् गरेका थियौँ’, केही साताअघि एनआरएनए स्कटल्यान्ड अध्यक्षको जिम्मेवारी पूरा गरेका उनले  भने, ‘आफूले उठाएको जिम्मेवारी आफै पूरा गरेर बिदा भएका छौं ।’

दूतावासले नेपालीहरुको उल्लेख्य वसोबास रहेका अन्य क्षेत्रबाट पनि घुम्ती सेवामार्फत् पासपोर्टसहितका विभिन्न सेवा उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू