शनिबार, साउन १२, २०८१
02:36 | ०७:२१

लण्डनमा पूर्व कप्तान ज्ञानेन्द्र मल्लको सम्मान तथा विदाई

नेपाली लिङ्क अगस्ट ११, २०२३

लन्डन- नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बेलायतमा क्रिकेट खेलाडीका लागि अवसरको खोजी गर्न आग्रह गरेका छन् ।

ब्रिटिश नेपलिज प्रिमियर लिग पदाधिकारी र योर ड्राइभिङ स्कुलले बिहीबार संयुक्त रुपमा गरेको सम्मान तथा विदाई कार्यक्रममा बोल्दै मल्लले नेपालबाट खेलाडी बोलाएर उनीहरुलाई अवसर दिन नेपाली समुदायसमक्ष आग्रह गरे ।

‘म अहिले खेल हेर्न आउन पाएं । म जस्तै अर्को पटक नेपालबाट खेलाडी नै बोलाएर खेल्ने अवसर दिनुहोस् भन्ने मेरो आग्रह छ’, मल्लले भने, ‘बेलायत विकसित र अवसरहरुको देश हो । नेपाली खेलाडीले यहांबाट धेरै कुरा सिक्न सक्छन् ।’

बेलायतमा नेपाली क्रिकेट खेलाडीको संख्या वृद्धि भइरहंदा उनीहरुलाई पनि काउन्टी च्याम्पियनसीपमा जाने वातावरण बनाउन मल्लले सुझाव दिए ।


गत आइतबार सम्पन्न दोश्रो ब्रिटिश नेपलिज प्रिमियर लिगमा विशेष अतिथीका रुपमा उनी लन्डन आएका हुन् । लन्डन आउनुअघि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको घोषणा गरेका मल्लले नेपालको क्रिकेटको विकासमा भने आफ्नो योगदान सधैं रहिरहने बताए ।

लन्डन सड्बरीस्थित हिमालयन क्लवमा आयोजित सम्मान तथा विदाई कार्यक्रममा पूर्व कप्तान मल्लले बिएनपीएलको मुख्य आयोजक केटिएम ट्राभल एण्ड टुर्सका अपरेशन डाइरेक्टर सुनिल थापा, टुर्नामेन्ट डाइरेक्टर विनोदविकास सिम्खडा र मार्केटिङ डाइरेक्टर अभिषेक भट्टराईलाई नेपालको क्रिकेट जर्सी उपहार दिए भने बिएनपीएल पदाधिकारी र योर ड्राइभिङ स्कुलका होमराज विष्टले पनि मल्ललाई ‘टोकन अफ लभ’ प्रदान गरे ।


शुरुमा योर ड्राइभिङ स्कुलका होमराज विष्टले सबैलाई स्वागत गर्दै मल्लको बेलायत आगमनले नेपाली क्रिकेट खेलाडीलाई थप हौसला मिलेको बताए ।  

कार्यक्रममा प्रतियोगिताका दिन अनुपस्थित सहयोगी र मिडियाकर्मीलाई सिम्खडा र मल्लले प्रशंसा पत्र दिएका थिए । औपचारिक कार्यक्रमपछि फ्लोर डिजे हेम बिष्टले सम्हालेका थिए । 

तस्बिर- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू