शनिबार, साउन १२, २०८१
02:58 | ०७:४३

सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेको साधारणसभा, उपमेयर रानाभाटलाई सम्मान

नेपाली लिङ्क अगस्ट ८, २०२३

लन्डन । बेलायतमा कार्यरत नेपाली प्रोफेसनलहरुको संस्था सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् (एसओएनपी) यूकेले लन्डन रोयल ग्रीनवीच बरोका उपमेयर जीत रानाभाटलाई सम्मान गरेको छ ।  

आइतबार डाटफोर्डको फ्लिटडाउन युनाइटेड फुटबल क्लब मैदानमा आयोजित वार्षिक साधारणसभाका अवसरमा संस्थाका पूर्व कोषाध्यक्षसमेत रहेका उपमेयर रानाभाटलाई सम्मान गरिएको हो।

सोसाइटीका तर्फबाट अध्यक्ष विष्णु न्यौपाने र महासचिव डा ओम गौतमले सम्मानपत्रसहित उनलाई सम्मान गरेका थिए।  

लन्डनको रोयल बरोहरुमा नेपाली मूलबाट पहिलोपटक उपमेयर निर्वाचित भएकोमा उनलाई सम्मान गरिएको हो।  

सम्मानका लागि उपमेयर रानाभाटले सोसाइटीप्रति आभार प्रकट गरे। सम्मान ग्रहणपछि उनले भने, ‘आफै सदस्य रहेको संस्थाको सम्मान पाउंदा गौरव मात्र होइन, हौसला पनि थपिंदो रहेछ।’

त्यसअघि सोसाइटीको वार्षिक साधारणसभामा महासचिव डा गौतमले प्रगति विवरण र भावी कार्ययोजनासम्बन्धि प्रतिवेदन तथा कोषाध्यक्ष शम्भु अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

सो अवसरमा अर्क तिम्सिना, डा तेजेन्द्र फेराली, डा नारायण भट्टराई र विष्णु न्यौपाने सम्मिलित विधान समितिले तयार गरेको विधान संशोधनको प्रस्ताव पनि छलफलपछि पारित गरिएको थियो ।  

संस्थाको सदस्यता बिस्तारको लक्ष्यमा ‘राइज् एसओएनपी’ अभियान चलाउने महासचिव डा गौतमको प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ।  

सोही अवसरमा मनोरञ्जनका लागि विभिन्न पुरस्कारसहित फुटबल, तातो आलु, फेमिली लाइफ गेम, बालबालिकाको लागि चित्रकलासहितका प्रतिस्पर्धा पनि गराइएको थियो।

कार्यक्रममा सोसाइटीआबद्ध झन्डै डेढ सय जनाको सहभागिता थियो।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू