शनिबार, साउन १२, २०८१
05:42 | १०:२७

लन्डनको दोस्रो बिएनपीएल क्रिकेट प्रतियोगिता मिडल्याण्ड वारियर्सले जित्यो

नेपाली लिङ्क अगस्ट ७, २०२३

लन्डन– बेलायतको नेपाली समुदायमा सबैभन्दा बढी खेल पुरस्कार रहेको दोस्रो ब्रिटिश नेप्लिज् प्रिमियर लिग (बिएनपीएल) क्रिकेट प्रतियोगिता मिडल्याण्ड वारियर्सले जितेको छ ।

आइतबार लन्डन साउथलस्थित ‘लन्डन टाईगर स्पोर्ट भेन्यू’ मा आयोजित प्रतियोगितामा वीनर मिडल्याण्ड वारियर्सले २५५० पाउण्ड नगदसहित, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको हो ।

उक्त पुरस्कार मुख्य प्रायोजक द रवि फाउण्डेशनका संस्थापक रविन्द्रजंग लामिछानेले प्रदान गरे । उक्त क्लवलाई अक्सब्रीज मःमःका सुरज तुलाचनले प्रायोजन गरेका थिए ।

प्रतियोगितामा गोर्खा क्रिकेट क्लव रनर अप भयो । उक्त टिमले एकहजार पाउण्ड नगद, प्रमाणपत्र र ट्रफी जितेको छ जुन पुरस्कार माया सपोर्टेड लिभिङले प्रायोजन गरेको थियो । विजेतालाई माया सपोर्टेड लिभिङका तर्फबाट सत्या विष्टले पुरस्कार प्रदान गरिन् ।

उक्त टिमलाई गोर्खा कन्सट्रक्सनका प्रमिस श्रेष्ठले प्रायोजन गरेका थिए ।

विजयी खेलाडीलाई इलिङ तथा साउथहल सांसद वीरेन्द्र शर्मा, लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनाल र नेपाल क्रिकेट टिमका पूर्व राष्ट्रिय कप्तान ज्ञानेन्द्र मल्लले ट्रफी, प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगितामा खुकुरी क्रिकेट क्लब, एडिनबरा फाएरबल, लन्डन सुपर स्पोर्टस, नयां युवा क्रिकेट क्लब, गोर्खा क्रिकेट क्लब र मिडल्यान्ड वारियर्स गरि ६ टिमले प्रतिस्पर्धा गरेका थिए । सुपर एट (८ ओभर) संरचनाको उक्त खेलमा प्रति टिम ८ खेलाडी थिए ।

खेलमा प्रमुख आकर्षण थिए नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल । प्रतियोगिताकै लागि उनी विशेष अतिथिका रुपमा लन्डन आएका हुन्। अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएको भोलिपल्ट लन्डन आइपुगेका ज्ञानेन्द्र विन्दास देखिन्थे ।

लिगको मुख्य आयोजक ‘केटिएम ट्राभल एण्ड टुर्स’ का अपरेशन डाइरेक्टर सुनिल थापाले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रायोजक, अतिथी, दर्शक र खेलाडीप्रति आभार व्यक्त गरे ।

टुर्नामेन्ट डाइरेक्टर विनोदविकास सिम्खडा र मार्केटिङ डाइरेक्टर अभिषेक भट्टराईले पनि प्रतियोगिता सोचेभन्दा बढी सफल भएकामा सबैप्रति आभार व्यक्त गरेका छन् । उनीहरुले अर्को वर्ष खेल अझ व्यापक र परिष्कृत बनाउने प्रण गरे ।

बिहान ८ बजे सुरु भएर साँझ ८ बजेसम्म सञ्चालन भएको खेल हेर्न करिब तीन हजार दर्शक सहभागी भएको आयोजकको दावी छ ।

सो अवसरमा डिजे हेम विष्टको संगीत, बाउन्सी क्यासल र स्ट्रिट फुडको स्टल पनि राखिएको थियो ।

प्रतियोगितालाई गोर्खाज कन्सट्रक्सन, सोलिसिटर रोजन भन्डारी, एफिनिटी एसोसिएट्स, खुकुरी बियर, माया सपोर्टेड लिभिङ, एचटिआर रिक्रुटमेन्ट, अक्सब्रिज मःम, वर्ल्ड रेमिट, गोर्खा मःम, हिरेन पटेल सोलिसिटर, केटिएम स्टोर, च्यानल लन्डन, सुभु कन्स्ट्रक्सन लिमिटेड, लन्डन टाइगर, राजन अधिकारी फोटोग्राफी, क्यापिटल किड्स क्रिकेट, मिडलसेक्स क्रिकेट, युनी ल्याडर कन्सलटेन्सी, चुलो इन–ची, रेड प्यारोट एकाउन्टिङ, गोर्खा क्लिनिङ सर्भिस, रुबी एमयस रेष्टुरेन्ट, द कोनोइसियुर रेष्टुरेन्ट, योर ड्राइभिङ स्कुल, आर के अटोज लगायतले प्रायोजन गरेका थिए ।

तस्विरहरु- राजन अधिकारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू