शनिबार, साउन १२, २०८१
06:56 | ११:४१

यूकेमा विविध कार्यक्रमसहित गुल्मेली भेला, १५ सयको जमघट (तस्विरहरु)

नेपाली लिङ्क अगस्ट ७, २०२३

लन्डन। गुल्मी जिल्ला समाज यूकेको पन्ध्रौं वार्षिक भेला आइतबार लन्डनमा सम्पन्न भयो। 

बेलायतभरबाट आएका झन्डै १५ सय नेपालीको सहभागिता रहेको कार्यक्रममा विविध मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुतिहरु गरिएको थियो।

कार्यक्रमस्थल लन्डन फेल्थामको ट्युडोर पार्क स्पोर्ट्स् एन्ड लिजर सेन्टरको मैदानमा नौमती बाजा, लोकदोहोरी, तीजगीतदेखि भजनसम्ममा रमाइरहेको दृश्य हेर्न लायक थियो।

एकातिर प्रथम नौमती बाजा गुल्मी यूकेको प्रस्तुतिमा नाचगान चलिरहेको थियो भने महिलाहरु नजिकिंदै गरेको तीजका भाकाहरु गाउँदै र नाच्दै रमाइलो गरिरहेका देखिन्थे। साथमा, कतिपयले मौलिक भजनकिर्तनमा नाचगान गरेर पनि मनोरञ्जन लिए।

सो अवसरमा नेपालबाट आएका कलाकारहरु तिलक बस्नेत, पवित्रा सर्तुङे, सन्तु थापा मगर र शोभा कार्कीले पस्किएको सांगीतिक प्रस्तुतिले पनि रौनक थपेको थियो। स्थानीय कलाकारले आकर्षक नृत्यहरु देखाएका थिए।

यसअघि समाजका अध्यक्ष वीर बलालको अध्यक्षतामा सम्पन्न कार्यक्रम पन्डित निलहरि घिमिरेको स्वस्तिवाचनबाट शुभारम्भ गरिएको थियो।

कार्यक्रमलाई प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले शुभकामना दिएकी थिइन्। नेपालमा थुप्रै च्यारिटी कार्य गरेको गुल्मी जिल्ला समाज यूकेले बेलायतमा मौलिक नेपाली कला, संस्कृति प्रवर्द्धनमा पनि महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै प्रशंसा गरिन्।

विशेष अतिथि प्रा डा प्रेम ज्ञवाली, समाजका पूर्व अध्यक्ष राम गलामी, सल्लाहकार फत्त थापा र रणबहादुर खाती क्षेत्रीलगायतले पनि शुभकामना मन्तव्य दिए। अध्यक्ष बलालले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे। 

कार्यक्रममा समाजलाई विभिन्न ढंगले सहयोग पुर्‍याउने एक दर्जनलाई सम्मान गरिएको थियो।  


महासचिव रुद्र थापा र सचिव महलाल घिमिरेले सञ्चालन गरेको कार्यक्रममा उपस्थित सबैलाई संयोजक एवम् समाजका उपाध्यक्ष वरुण भण्डारीले स्वागत गरेका थिए । आकर्षक  सुनका गरगहना पुरस्कारसहितको राफल ड्र उपाध्यक्ष मञ्जु भण्डारीले गरेकी थिइन्।

कोषाध्यक्ष मुकुन्द खरालले टिकेटिङ तथा गेट व्यवस्थापन सम्हालेका थिए। उपाध्यक्ष तारा भट्टराई, प्रवक्ता राधा खरेल, सांस्कृतिक संयोजक माया केसीलगायत अतिथि सत्कारमा खटिएका थिए।  

कार्यक्रममा सहभागी हुन साउथ इष्ट लन्डन र मिडल्यान्डका बर्मिङहम, नटिङहम लगायत क्षेत्रबाट कोचहरु बुकिङ गरेर गुल्मेलीहरु भेला भएका थिए। स्कटल्यान्डबाट समेत रातभर ड्राइभिङ गरेर आउनेहरु पनि मेलामा भेटिए।

तस्विरहरु- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू