शनिबार, साउन १२, २०८१
05:38 | १०:२३

लण्डनमा राष्ट्रिय बक्सिङ खेलाडीहरु सम्मानित

नेपाली लिङ्क अगस्ट ६, २०२३


लन्डन । बेलायतको स्कटल्याण्डमा खेल्न आएका नेपाली राष्ट्रिय बक्सिङ खेलाडीहरुलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संगठन यूके र यती नेपाली एसोसिएसन यूकेले संयुक्त रुपमा सम्मान तथा विदाई गरेका छन् ।

५ अगष्ट शनिबार लन्डन साउथ हयारोस्थित नेवा छेः माया रेष्टुरेन्टमा भेट्रान बक्सर पुरण राई, जुनियर नेशनल च्याम्पियन आकाश डाँगी र अर्का खेलाडी म्याक्स बस्नेतलाई पुष्प गुच्छा, नगद र खादाले सम्मान गरियो ।

यती अध्यक्ष पिपला देवान पाण्डे, महासचिव टंक भट्टराई, यती पूर्व अध्यक्ष उमेश मोक्तान, खेलाडी संगठनका अध्यक्ष सिद्धार्थ विक्रम क्षेत्री, उपाध्यक्ष सुरज कार्की, पूर्व बक्सर तथा भेट्रान गायक योगेश्वर अमात्य लगायतले सम्मान गरे ।


गायक अमात्यले तीन खेलाडीलाई जनही दुई सय पाउण्ड र उनका साथीहरुको तर्फबाट बेग्लै २५० पाउण्ड प्रदान गरेका थिए । सिद्धार्थले खेलाडीलाई उपहार स्वरुप खेल सामग्री प्रदान गरे भने यती अध्यक्ष देवानले आफ्नो व्यक्तिगत रुपमा जनही एकसय पाउण्ड र संस्थागत तर्फबाट प्रमाणपत्र, पुष्पगुच्छा र संस्थाको ब्याज प्रदान गरिन् ।

नेपालका अनुभवी बक्सर राईले संयुक्त अधिराज्य (यूके) को स्कटल्यान्डमा आयोजित एक प्रोफेसनल बक्सिङ प्रतियोगिता जितेका थिए । २० वटा राष्ट्रिय स्वर्ण पदक विजेता राईले स्कटल्यान्डमा शनिबार भएको ‘रम्बल इन द जंगल’ प्रतियोगितामा रायन कार्टरलाई तेस्रो चरणमा टेक्निकल नकआउट (टीकेओ) का आधारमा पराजित गरेका हुन् ।

करिब २०० अमेचर म्याच खेलिसकेका राई युनिभर्सल बक्सिङ एलायन्स (यूबीए स्कटल्यान्ड) च्याम्पियन पनि बने । १३ औं साफमा उनले कास्य पदक जितेका थिए ।

सम्मान तथा विदाई कार्यक्रम सञ्चालन गर्दै यती महासचिव टंक भट्टराईले खेलाडीहरुलाई हौसला प्रदान गर्न सम्मान गरिएको बताए ।

यती अध्यक्ष पिपला देवानले खेलाडीलाई बधाई दिंदै उनीहरुले देशको नाम अन्तरराष्ट्रियस्तरमा राखेर गौरव बढाएको बताइन् ।


खेलाडी संगठनका अध्यक्ष सिद्धार्थ विक्रम क्षेत्रीले नेपालबाट आएका खेलाडीलाई बेलायतमा अवसरको खोजी, सम्मान र हौसला बढाउन आफूहरुले विगतदेखि निरन्तर पहल गर्दै आएको बताए ।

गायक अमात्यले राज्यले केही नगरेपनि खेलाडीहरु आफ्नै प्रयासमा देशको नाम र इज्जत राखेको भन्दै उनीहरुलाई बधाइ दिए।

यती पूर्व अध्यक्ष उमेश मोक्तानले खेलाडीको सहयोगका लागि संस्थाले भविष्यमा विशेष केही गर्ने प्रतिवद्धता जनाए ।

काउन्सिलर तथा ब्रेन्टका पूर्व मेयर भगवानजी चौहानले खेलाडीलाई बधाइ दिंदै उनीहरु राष्ट्रिय गहना भएको र नेपाली खेलाडीलाई नेपाल सरकारले पनि प्रोत्साहन दिनुपर्ने बताए।

सम्मानित खेलाडीहरुले आफ्नो सम्मान गरेकामा आयोजकप्रति आभार व्यक्त गरेका थिए । 

मन्तव्यका क्रममा खेलाडी म्याक्स बस्नेतले बेलायतमा नेपाली खेलाडी ल्याउने वातावरण बनाउन सकिए देशको नाममात्र होइन, आर्थिक रुपमा पनि खेलाडीको स्तर उकासिने सम्भावना औंल्याए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू