शनिबार, साउन १२, २०८१
05:56 | १०:४१

लण्डनमा नेपाली मसला चियालाई ‘ग्रेट टेष्ट अवार्ड’

नेपाली लिङ्क अगस्ट ३, २०२३

लन्डन । बेलायतमा आयोजना गरिएको खाना र पेय पदार्थहरुको एक विश्व प्रशिद्ध प्रतिस्पर्धामा नेपाली मसला चिया (चाय) ले ‘ग्रेट टेष्ट अवार्ड २०२३’ हात पार्न सफल भएको  छ ।

खाना तथा पेय पदार्थको क्षेत्रमा विश्वमै लोकप्रिय ‘गिल्ड अफ फाइन फुड’ ले आयोजना गरेको प्रतिस्पर्धामा विश्वभरका १४ हजार भन्दा बढी खाना तथा पेय पदार्थहरुले सहभागिता जनाएका थिए ।

बेलायतमा स्थापित नेपाल फुड्सको उत्पादन नेपाली चियाले ‘ग्रेट टेष्ट अवार्ड २०२३’ मा टु स्टार प्राप्त गरेको हो । प्रतिस्पर्धीहरुमध्ये चार हजार ८८ उत्पादनलाई  ‘ग्रेट टेष्ट वान स्टार’, एक हजार ५ सय ६८ लाई ‘दुई स्टार ग्रेट टेष्ट ‘ र २ सय ४८ लाई ‘थ्री स्टार ग्रेट टेष्ट’ अवार्ड प्रदान गरिएको थियो ।

उक्त अवार्ड कार्यक्रममा नेपाली मसला चियालाई निर्णायकहरुले प्रशंसा गर्दै ‘हग इन मग’ को संज्ञा दिएका थिए । नेपालको पूर्वी भागमा उत्पादित अलैंची, अदुवा, कालो मरिच, दालचिनी जस्ता मसलासहितको समिश्रणले बनेको नेपाली मसला चियालाई निर्णायक मण्डलले स्वादिष्ट र उत्कृष्ट मसलाहरुको समिश्रण रहेको बताए ।

‘ग्रेट टेष्ट अवार्ड २०२३’ जितेकोमा हामी नेपाली उत्पादनप्रति गौरव गर्छौं, कालो र सुनौलो रंगको उत्कृष्ट स्वादको ब्याजबाट सम्मानित हुन पाउँदा अत्यन्त हर्षित छौं, हाम्रो नेपाली उत्पादनलाई अवार्ड  गरिएको यो तेस्रो उत्पादन हो’- नेपाल फुड्स कम्पनीका ब्रान्ड निर्देशक विकास नेपालले भने ।

यसअघि नेपाल फुड्सकै उत्पादन राँगाको सुकुटी र नेपालमै बनेको लप्सीको अचारले पनि अवार्ड जितेका थिए ।

त्यस्तै नेपाल फुड्सकी सुष्मा शर्माले भनिन्- ‘उत्कृष्ट टु स्टारको अवार्ड प्राप्त गर्नु भनेको आफूजस्ता स्वतन्त्र उत्पादकहरुको लागि निकै महत्वपूर्ण हो किनकि यसले कडा परिश्रम र दृढ संकल्पलाई थप सार्थक र मजबुत बनाउँछ । ‘ग्रेट टेष्ट’ खाना र पेय पदार्थ उत्पादन क्षेत्रमा स्वाद र गुणस्तरको लागि सबैभन्दा ठूलो प्रशंसा भएकाले यो हाम्रो लागि महत्वपूर्ण क्षण हो ।’

नेपाली खानालाई विश्वभरि चिनाउने अभियानस्वरुप नेपाल फुड्सले दुई दर्जन बढी मुलुकमा नेपाली उत्पादन वितरण गर्दै आएको छ । बीबीसी मास्टर सेफका उपविजेता सन्तोष शाहसंगको रेसिपीमा विभिन्न प्रकारका तयारी खानेकुराहरु पनि नेपाल फुड्सले वितरण गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू