शनिबार, साउन १२, २०८१
11:24 | १६:०९

क्याट यूके नेतृत्व कृष्ण तिवारीलाई

नेपाली लिङ्क अगस्ट १, २०२३


लन्डन । बेलायतस्थित नेपाली समुदायको अग्रणी सामाजिक संस्था चितवन एड ट्रस्ट (क्याट) यूकेको नेतृत्व कृष्ण तिवारीले पाएका छन्।

आइतबार नेप्लिज् कम्युनिटी सेन्टर सर्रेमा सम्पन्न संस्थाको दशौँ  अधिवेशनले अध्यक्षमा तिवारीलाई सर्वसम्मत् निर्वाचित गरेको छ।  

अध्यक्ष निर्वाचित तिवारीले यसअघि संस्थामा ट्रस्टी, दुई कार्यकाल उपाध्यक्ष एवम् कार्यसमितिको महासचिवजस्ता महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका छन्।

उनले क्याट यूकेले चितवन कविलासमा स्कुल निर्माण गरेको प्रोजेक्टमा पनि संयोजकका रुपमा काम गरेका थिए।

अधिवेशनले क्याट यूकेको सञ्चालन अब १५ सदस्यीय ट्रस्टी बोर्डबाट गराउने निर्णय गरेको छ । हाल कायम ९ ट्रस्टीलाई निरन्तर राख्दै थप ६ जना ट्रस्टी मनोनित गरिने अध्यक्ष तिवारीले जानकारी दिए। ट्रस्टीहरुमध्येबाटै एकएक जनालाई सचिव र कोषाध्यक्षको जिम्मेवारी दिइनेछ।

यसअघि संस्थाका निवर्तमान समिति अध्यक्ष रितेशराज पाण्डेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा महासचिव रमेश श्रेष्ठ र कोषाध्यक्ष डा सुरज पौडेलले क्रमश: प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै, कृष्ण तिवारीले स्वागत गरेका थिए।

सो अवसरमा प्रमुख अतिथि एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ, विशेष अतिथि तमुधिं यूके वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, यती नेपाली एशोसिएसन पूर्व अध्यक्ष उमेशराज मोक्तानलगायतको उपस्थिति थियो।

क्याट यूके बेलायतमा बस्ने चितवनेलीहरुको साझा संस्थाका रुपमा सन् २००४ मा स्थापना भएको थियो । जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याउने मुख्य लक्ष्यसहित शुरु भएको संस्थाले जिल्लाका विकट गाउँहरुमा एम्बुलेन्स वितरण, स्कुल तथा स्वास्थ्यचौकी निर्माणदेखि भरतपुरमा ब्लड बैंक स्थापनासम्मका अभियानमा बेलायतबाट दशौँ लाख रुपैयाँको सहयोग पठाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू