शनिबार, साउन १२, २०८१
07:10 | ११:५५

बेलायतका नेपाली योग र ध्यानप्रति आकर्षित

नेपाली लिङ्क जुलाइ ३०, २०२३

लन्डन–जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले नेपालले आगामी दश वर्षमा विश्व गुरु बन्ने दीर्घकालीन सोच राख्नु पर्ने बताएका छन् । 

दक्षिण पूर्वी लन्डनस्थित प्लमस्टीडमा आयोजित शिविर समापन समारोहलाई सम्बोधन गर्दै शर्माले भने, “नेपाल विगतमा पनि विश्व गुरु थियो।  बुद्धको ज्ञान र शिवको ध्यानलाई लिएर अगाडि बढ्यौं भने अध्यात्मको माध्यमबाट नेपाल विश्व गुरु बन्न सक्छ।”  

उनले बेलायतमा क्रियाशील नेपाली संघसंस्थाहरुलाई ज्ञानको खोजी, राम्रो अभ्यासहरुको सिको र अध्यात्मको प्रवर्द्धन गर्न आग्रह गरे । ‘टाइम जोनको हिसाबले बेलायतलाई संसारकै केन्द्र मानिन्छ। हामीले पनि बेलायतलाई अध्यात्मको केन्द्र बनाउन सक्छौं र नेपालीले त्यसको नेतृत्व लिनु पर्छ’, उनले भने, ‘सबै नेपाली मिलेर एउटा पुनर्जागरण शुरु गरौँ। नेपालीहरुले नयाँ काम गर्न सक्छन् भन्ने प्रमाणित  गरौँ ।’

समापन समारोहमा सहभागीहरुलाई सम्बोधन गर्दै जीवन विज्ञानका सह-संस्थापक तथा जीवन विकाश विशेषज्ञ रमेश नेपालले आफूलाई मन नपर्ने व्यवहार अरु कसैप्रति पनि नगर्न प्रशिक्षार्थीहरुलाई सुझाव दिए। 

“यो एउटा सूत्रले मात्रै तपाईंको जीवनमा रुपान्तरण ल्याउन सक्छ। तपाईं सुखी, शान्त र स्वस्थ हुनु भयो भने तपाईंको घर, परिवार र समाजमै सकारात्मक असर पर्छ”, उनले भने, ‘हाम्रो शरीरमा रहेका प्रमुख सात चक्रहरुको जागरणबाट स्वस्थ शरीर, सक्रिय मन, सकारात्मक भाव र आध्यात्मिक प्रगतिको मार्ग खुल्छ ।’

उनले काठमाडौँ आएर लय विज्ञ, बोध विज्ञान, ऐश्वर्य विज्ञान प्रशिक्षण लिन पनि सबैलाई आग्रह गरे ।

समापन कार्यक्रममा युरोप र बेलायतबाट सहभागी प्रशिक्षार्थीहरुले आफ्ना अनुभव सुनाएका थिए। जीवन विज्ञान यूकेका ट्रष्टी प्रेम खड्काले संस्थाका गतिविधिहरुबारे जानकारी गराएका थिए। 

युरोप र बेलायतबाट झन्डै एक सय जना प्रशिक्षार्थीले सात दिने शिविरमा भाग लिएको जीवन विज्ञान यूकेकी ट्रष्टी तथा प्रशिक्षक सरिता शर्माले बताइन् ।

शिविर उद्घाटन बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गरेका थिए।

समापन समारोहमा प्रशिक्षार्थीहरुले आफ्नो अनुभव पनि सुनाएका थिए। बेल्जियमको लुभेन सहरबाट सात दिने शिविर मा भाग लिन आएका एक व्यवसायी नारायण अधिकारीले कोभिड पछि संसारभरि मानसिक र शारीरिक स्वास्थ्य समस्या बढ्दै गएको बेला यो प्रशिक्षण निकै फाइदाजनक भएको बताए।  “मैले सिकेको पाठ मेरो परिवार र समाजका लागि मात्रै हैन, पुरै विश्वका लागि अनुकरणीय हुने ठानेको छु,” उनले भने। 

आफ्नो बेलायत बसाइका क्रममा गुरुद्वय एलपी भानु शर्मा तथा रमेश नेपालले विभिन्न नेपाली संस्थाहरुको आयोजनामा योग तथा ध्यान सम्बन्धी प्रशिक्षण तथा प्रवचन दिएका थिए ।

गुरुद्वयसहित गुरु माँ देवी शर्मा तथा जीवन विज्ञान काठमाडौँका व्यवस्थापक किरण रुपाखेती मंगलबार नेपाल फर्कँदै छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू