शनिबार, साउन १२, २०८१
03:05 | ०७:५०

एनआरएनए यूके नवनिर्वाचित कमिटीको धन्यवाद सभा र पहिलो पूर्ण बैठक अगस्ट २० मा

नेपाली लिङ्क जुलाइ २७, २०२३

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नवनिर्वाचित कमिटीका पदाधिकारीहरुबीच परिचयात्मक बैठक सम्पन्न भएको छ।

गतसाता निर्वाचित एघारौं कार्यसमितिका अध्यक्ष हित काजी गुरुङको अध्यक्षतामा बिहीबार बसेको भर्चुअल बैठकमार्फत् टीमको परिचय गराइएको हो।

सो अवसरमा अध्यक्ष गुरुङसहित सबै पदाधिकारीहरुले आ-आफ्नो पृष्‍ठभूमि, एनआरएनएसँगको आबद्धतालगायत जानकारी गराएका थिए।  

बैठकले आगामी अगस्ट २० तारिख आइतबार अल्डरसटको एम्पायर हलमा धन्यवाद सभा गर्ने निर्णय गरेको छ।  उक्त अवसरमा एनआरएनए यूकेका पूर्व अध्यक्ष, सल्लाहकार, निवर्तमान समितिका पदाधिकारी, समुदायका अगुवालगायतलाई निम्त्याएर नवनिर्वाचित कार्यसमितिको तर्फबाट धन्यवाद ज्ञापन गर्ने तथा उनीहरुबाट शुभकामना लिने कार्यक्रम छ।

त्यस्तै, बैठकले कार्यासमितिको पहिलो पूर्ण बैठक पनि अगस्ट २० मै बस्ने निर्णय गरेको छ।  

उक्त बैठकमा निवर्तमान कार्यसमिति र नयाँ कार्यसमितिबीच बुझबुझारथको कार्यक्रम राखिने महासचिव गोविन्द शर्मा खरेलले जानकारी दिए ।

बैठकले कार्यसमितिका सबै पदाधिकारीलाई संस्थाका बैठक तथा कार्यक्रमहरुमा अनिवार्य उपस्थितिको लागि आव्हान गर्ने र उपस्थित हुन असमर्थ हुनेले महासचिवलाई जानकारी गराउनुपर्ने निर्णय पनि गरेको छ ।  

बैठकमा नवनिर्वाचित कार्यसमितिका अधिकांश पदाधिकारीसंगै आइसीसी सदस्य निर्वाचित ले. चन्द्र गुरुङ र दिलरस गुरुङ, इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष शम्भु अर्याल, नर्दन आयरल्यान्ड अध्यक्ष बलबहादुर थापालगायत सहभागी थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू