शनिबार, साउन १२, २०८१
06:03 | १०:४८

पूर्व गोर्खा पूर्जाको रेकर्ड तोड्दै तेन्जिङ र क्रिस्टिनले बनाए नयाँ कीर्तिमान

नेपाली लिङ्क जुलाइ २७, २०२३


लण्डन— सगरमाथासहित विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल ९२ औं दिनमा आरोहण गर्दै नेपाली पर्वतारोही तेन्जिङ शेर्पा (लामा) र नर्वेजियन पर्वतारोही क्रिस्टिन हरिलाले नयाँ कीर्तिमान कायम गरेका गरेका छन् ।

काठमाडौंस्थित सेभन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाका अनुसार, उनकै कम्पनीमा गाइडका रुपमा कार्यरत तेन्जिङ र क्रिस्टिनले बिहीबार बिहान पाकिस्तानमा रहेको विश्वकै दोस्रो अग्लो हिमाल केटू आरोहण गरेका थिए ।

योसँगै उनीहरुले ९२ औं दिनमा संसारकै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल सबैभन्दा छिटो आरोहण गरेको रेकर्ड बनाएका छन् ।

यसअघि निर्मल पूर्जाले विश्वकै १४ अग्ला हिमाल ६ महिना ६ दिनमा आरोहण गर्दै ‘सबैभन्दा छिटो आरोहणको कीर्तिमान’ बनाएका थिए । 

पूर्जाको कीर्तिमानलाई नेपाली आरोही तेन्जिङ शेर्पा र नर्वेजियन पर्वतारोही क्रिस्टिन हरिलाले ९२ औं दिनमा सकेर नयाँ कीर्तिमान बनाएका हुन् । ‘निर्मल पूर्जाको रेकर्ड संखुभासभाका तेन्जिङ र नर्वेकी आरोही क्रिस्टिनले तोडेकी छन्,’ सेभेन समिटका अध्यक्ष मिग्माले भने, ‘नेपाली मूलका निर्मल पूर्जाले नागरिकता त्यागिसकेकाले विश्वकै १४ वटा हिमाल सबैभन्दा चाँडो आरोहण गर्ने तेन्जिङ अब एक मात्र नेपाली भएका छन् ।’

विश्वकै १४ औं अग्लो हिमाल सिसापाङमा वैशाख १३ गते आरोहण गर्दै यी दुईले आरोहण यात्रा थालनी गरेका थिए । विश्वका १४ अग्ला हिमाल आरोहण गर्ने करिब ४ दर्जन आरोहीमध्ये थोरै महिला छन् । जसमा ३७ वर्षीया क्रिस्टिन पनि परेकी छन् । 

आरोहणअघि उनी क्रस–कन्ट्री स्कीकी खेलाडी थिइन् । एजेन्सीहरुका अनुसार, हिमाल आरोहणमा उनी ८ वर्षयता मात्रै संलग्न भएकी हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू