शनिबार, साउन १२, २०८१
03:18 | ०८:०३

मन्डेला दिवसमा लण्डनका व्यवसायी रविन्द्रजंग लामिछानेलाई अवार्ड

नेपाली लिङ्क जुलाइ २७, २०२३

लन्डन- विश्वका झन्डै ७ सय प्रभावशाली व्यक्तित्व एवम् सेलिब्रेटीहरुले हस्ताक्षर गरेको दक्षिण अफ्रिकाली नेता नेल्सन मन्डेलाप्रति समर्पित एक पुस्तिकामा पहिलोपटक एक नेपालीले हस्ताक्षर गरेका छन्।

मण्डेलाप्रति श्रद्धाञ्जली व्यक्त गर्न बेलायती संसदमा राखिएको हस्तलिखित ‘हाउस अफ कमन नेल्सन मन्डेला मेमोरियल बुक’ मा बेलायतस्थित सफल नेपाली व्यवसायी एवम् समाजसेवी रविन्द्रजंग लामिछानेले हस्ताक्षर गरेका हुन्। 

बेलायती अभियानकर्मी निक क्यारमको पहलमा स्थापित पुस्तिकामा अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामा, बेलायती पूर्व प्रधानमन्त्रीहरु टोनी ब्लेयर र डेभिड क्यामरनदेखि चर्चित फुटबलर डेभिड बेकह्याम, संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानसम्मले श्रद्धाञ्जली सन्देश लेखेका छन्।

राजनीति, कला, संगीत, खेलकुद,व्यवसायलगायतका विविध क्षेत्रमा अन्तरार्ष्ट्रिय स्तरमै ख्यातिप्राप्त व्यक्तित्वहरुको सन्देश  पुस्तिकामा समेटिएको छ।

पुस्तिका संस्थापक क्यारमले एक प्रेस वक्तव्य जारी गर्दै बेलायतस्थित नेपाली व्यवसायी रविन्द्रजंग लामिछानेले उक्त पुस्तिकामा पहिलो नेपालीका रुपमा सन्देश लेखेको जानकारी दिएका छन्।

उनले भनेका छन्, ‘२० औं शताब्दी नायक मण्डेलाप्रति समर्पित पुस्तिकामा रविन्द्रजंग लामिछाने पछिल्लो हस्ताक्षरकर्ता बनेकोमा मलाई गौरव लागेको छ।’

यता, पुस्तिकामा हस्ताक्षर गर्ने अवसरका लागि लामिछानेले पनि गौरव व्यक्त गरेका छन्।  

‘संसारका ७ सय शीर्ष नेता तथा सेलिब्रेटीहरुले हस्ताक्षर गरेको पुस्तिकामा मन्डेलाप्रति श्रद्धाञ्जली व्यक्त गर्न आमन्त्रित हुँदा मलाई ठूलो सम्मान महशुस् भएको छ’, उनको भनाइ छ।  

मन्डेला दिवसमा लामिछानेलाई अवार्ड

यसैबीच, लामिछाने एक प्रतिष्ठित अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित भएका छन्।

‘हाउस अफ कमन मेमोरियल बुक’ स्थापनाको २५ औं वर्षको अवसरमा उनले ‘फिन इन्टरनेशनल एन्ड फोर्ब्स् बेस्ट अफ अफ्रिका’ अवार्ड प्राप्त गरेका हुन्।

मन्डेला दिवसको सन्दर्भ पारेर गतसाता लन्डन हिल्टन होटलमा आयोजित विशेष समारोहमा लामिछानेलाई ’लिडिङ फिलान्थ्रोपिस्ट अफ द इयर २०२३’ अवार्डले सम्मान गरिएको हो ।

वेष्ट इन्डिजका पूर्व कप्तान समेत रहेका चर्चित पूर्व क्रिकेटर सर क्लाइभ ह्युबर्ट लोयड (सिबीई एओ) ले उनलाई अवार्ड हस्तान्तरण गरे।

लामिछानेले व्यवसायसंगै सामाजिक कार्यमा पनि पुर्‍याएको विशिष्ट योगदानको कदरस्वरूप यो अवार्ड प्रदान गरिएको हो।

सो अवसरमा लामिछानेसंगै विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने कुल ४० व्यक्तित्वलाई सम्मान  गरिएको थियो । सम्मानित हुनेहरुमा बेलायती मन्त्री, सांसद, सेलिब्रेटीहरुदेखि भारतीय मूलका ब्रिटिश धनाड्य गोपी हिन्दूजाकी छोरी रितु हिन्दूजासम्म छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू