शनिबार, साउन १२, २०८१
02:30 | ०७:१५

डाटफोर्ड नेपाली समाजमा सर्वसम्मत् नयाँ नेतृत्व, अध्यक्ष बनिन् डा बिना पाण्डे

नेपाली लिङ्क जुलाइ २५, २०२३

लन्डन। डाटफोर्ड नेपाली समाज यूकेले नयाँ नेतृत्व चयन भएको छ। आइतबार स्थानीय फ्लिटडाउन फुटबल क्लब मैदानमा सम्पन्न समाजको अधिवेशनले डा बिना पाण्डे घिमिरेको अध्यक्षतामा १५ सदस्यीय सर्वसम्मत् कार्यसमिति निर्वाचित गरेको छ। 

नवनिर्वाचित समितिका पदाधिकारीहरुमा उपाध्यक्ष तारा सिम्खडा भट्ट र तीर्थ पौड्याल, महासचिव अनुक्रम रिजाल, सचिव शशी गुरुङ र कोषाध्यक्ष प्रभात पौडेल छन्।

त्यस्तै, सदस्यहरुमा तिलक भट्टराई, अञ्जु थापा बस्नेत, शेष आचार्य, हरिकला कंडेल, पूजा पाण्डे र उत्तम गौतम चुनिएका छन्। रिक्त तीन सदस्य निर्वाचित समितिले पछि मनोनयन गर्नेछ। 

नवनिर्वाचित अध्यक्ष डा बिना पाण्डे

नवनिर्वाचित अध्यक्ष डा पाण्डे पब्लिक हेल्थमा पीएचडी होल्डर हुन्। उनले ब्रुनेल युनिभर्सिटी लन्डनमा अध्यापन गर्छिन् ।

यसअघि निवर्तमान समिति अध्यक्ष लेखनाथ खरेलको अध्यक्षतामा सम्पन्न अधिवेशनमा संस्थाका गतिविधिहरुको समिक्षा गर्दै भावी योजनाबारे छलफल गरिएको थियो।  

त्यस अवसरमा अध्यक्ष खरेलले पेश गरेको संस्थाको प्रगति विवरणमा कोभिड महामारीपछि संस्थाले व्यापक सहभागिता र उत्साहपूर्ण वातावरणमा नियमित कार्यक्रम सफलतापूर्वक गर्दै आएको उल्लेख गरेका थिए।   

संस्थाका आजीवन सदस्यता ८२ बाट बढेर १ सय ४० पुगेको उनले जानकारी गराए। नवीनतम कार्यक्रम समावेश गरी संस्थालाई अझै सक्रिय बनाउन उनले नवनिर्वाचित कार्यसमितिलाई सुझावसहित शुभकमाना दिए। 

संस्थाकी कोषाध्यक्ष पारिजात पाठकले कार्यकालको आर्थिक विवरण प्रस्तुत गरेकी थिइन्।  

कार्यक्रममा संस्थाका आजीवन सदस्य रामकृष्ण श्रेष्ठको केही महिनाअघि भएको निधनमा दुख व्यक्त गर्दै मौनधारण गरिएको थियो।

सोही अवसरमा हरेक वर्ष गरिंदै आएको वार्षिक खेलकूद कार्यक्रम पनि सञ्चालन गरिएको थियो। साना बालबालिकादेखि नेपालबाट आएका ज्येष्ठ नागरिकहरुसमेतले खेलकुदमा उत्साहजनक रुपमा भाग लिएका थिए।

खेलकूद संयोजक रुद्र कोइरालाले खेलकुद संयोजन गरेका थिए भने हरि पन्थ र बिना पाण्डे घिमिरेले खेलको तयारीमा सघाएका थिए। दिपा कोइराला, अमृता भट्टराई,  दिपक पाण्डे, वेदप्रकाश भट्टराई साथै नयाँ पुस्ताका वृष्टि, महिमा, शितल, निकिता, नियति, रिजु, रियासहितका स्वयमसेवकले पनि खेलकुद सञ्चालनमा सहयोग पुर्‍याएका थिए। खेलमा विजयी सबैलाई मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो।  

सो अवसरमा संस्थाका निवर्तमान अध्यक्ष खरेलले आफ्नो कार्यकाल सफल पार्न योगदान गर्ने सबैप्रति आभार व्यक्त गरेका  थिए। उनले संस्थामा विशेष योगदान गर्ने सचिव हरि हड्खले र पूर्व उपाध्यक्ष भरत लामिछानेलाई पनि धन्यवाद दिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू