शनिबार, साउन १२, २०८१
06:04 | १०:४९

ब्रिटिश नेप्लिज प्रिमियर लिग क्रिकेट प्रतियोगिता ६ अगष्टमा, तयारी तीव्र

नेपाली लिङ्क जुलाइ २४, २०२३

लन्डन । ब्रिटिश नेप्लिज प्रिमियर लिग क्रिकेट प्रतियोगिताको दोश्रो संस्करण आउंदो ६ अगष्ट लन्डनमा हुने भएको छ ।

पहिलो प्रतियोगिता सन् २०१९ अगष्ट ११ मा भएको थियो । कोभिड महामारी र अन्य कारणले तीन वर्ष रोकिएको प्रतियोगिता आउंदो ६ अगष्टमा हुन लागेको हो ।

आइतबार लन्डन बोस्टन म्यानरस्थित नेपाल रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा लिगको मुख्य आयोजक ’केटिएम ट्राभल एण्ड टुर्स’ का अपरेसन डाइरेक्टर सुनिल थापाले साउथलस्थित ‘लन्डन टाइगर स्पोर्टस् भेन्यू’ मा प्रतियोगिता तयारी भएको जनाए ।

थापाले प्रतियोगितामा खुकुरी क्रिकेट क्लव, एडिनबरा फायरबल, लन्डन सुपर स्पोर्टस, नयां युवा क्रिकेट क्लव, गोर्खा क्रिकेट क्लव र मिडल्यान्ड वारियर्ससहित ६ टिमले प्रतिस्पर्धा गर्ने बताए ।

दोश्रो संस्करण पहिलो भन्दा परिष्कृत गराइने जनाउंदै सुनिल थापाले प्रतियोगिता हेर्न आमदर्शकहरुलाई आमन्त्रण समेत गरेका छन् । प्रवेश र कार पार्क निशुल्क गरिएको छ ।

इभेन्टका दिन खेलाडी, आयोजकलाई केटिएम ट्राभलबाट लन्च डिनर व्यवस्था हुने थापाले बताए ।

पत्रकार सम्मेलनमा टुर्नामेन्ट डाइरेक्टर विनोदविकास सिम्खडाले अन्तर्राष्ट्रिय स्तरको मैदान, एम्पायर र खेल हुने जानकारी दिए ।

प्रतियोगिता बिहान ८ बजे शुरु भएर अपरान्ह ७ बजेसम्म निरन्तर हुनेछ । सुपर ८ (८ ओभर) 
संरचनाअनुसार सबै टिमले कम्तीमा दुईवटा खेल्ने र फाइनलमा पुग्नेले थप एक खेल खेल्ने सिम्खडाले बताए । टुर्नामेन्टमा जम्मा सातवटा खेल हुनेछन् । खेलाडी सबै नेपाली नै हुनेछन् ।

बायांबाट अभिषेक भट्टराई, सुनिल थापा र विनोद सिम्खडा । तस्बिर- शिव भण्डारी

प्रतियोगितामा प्रति टिम ८ खेलाडी, प्रति इनिङ ८ ओभर खेल, पिंक बल र इंग्ल्याण्ड क्रिकेट बोर्डमा दर्ता भएका एम्पायरहरुको व्यवस्था गरिएको सिम्खडाले बताए ।

उनले प्रतियोगिता अवलोकनका लागि स्थानीय सांसद वीरेन्द्र शर्मा, लन्डनस्थित नेपाली दूतावास प्रतिनिधिलगायत करिब तीन हजार दर्शक सहभागी रहने अपेक्षा गरिएको पनि जानकारी दिए ।

१२ टिमले खेल्ने इच्छा देखाएपनि संयोजन गर्न नसकिएको आयोजकले जनाएका छन् । पत्रकार सम्मेलनमा गोला प्रथाद्धारा समूह विभाजन समेत गरियो ।

मार्केटिङ डाइरेक्टर अभिषेक भट्टराईले क्रिक्रेट प्रतियोगितामात्र नभएर त्यस दिन नयां र स्थापित नेपाली व्यवसायको शो केस, पारिवारिक भेटघाट एवं मनोरन्जन हुने बताए ।

उक्त अवसरमा खेलकुदबाहेक डिजे, बाउन्सी क्यासल, स्ट्रिट फुड, कमर्सियल स्टलको व्यवस्था गरिने मार्केटिङ डाइरेक्टर भट्टराईले बताए ।

‘हाम्रो उद्देश्य व्यापारिक मुनाफा भन्दा पनि सामुदायिक एकता हो’, भट्टराईले भने, ‘नेपालले क्रिकेटका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा आफूलाई चिनाइरहेको अवस्थामा बेलायतमा समेत नेपाली क्रिकेटर रहेछन् भन्ने सन्देश इभेन्टबाट जाने हाम्रो विश्वास छ ।’

प्रतियोगितालाई गोर्खाज् कन्सट्रक्सन, सोलिसिटर रोजन भन्डारी, एफिनिटी अकाउन्टेन्ट, खुकुरी बियर, माया सपोर्टेड लिभिङ, एचटीआर रिक्रुटमेन्ट, अक्सब्रीज मःम, नेपाल रेष्टुरेन्ट लगायतले प्रायोजन गरेका छन् ।

आयोजकले प्रतियोगिताका विजेतालाई अहिलेसम्मकै आकर्षक राशीको पुरस्कार दिइने जनाएका छन्।

उत्कृष्ट प्रदर्शन गर्ने ६ जना खेलाडीलाई प्रोत्साहनस्वरूप प्लेयर अफ द म्याच, प्लेयर अफ द फाइनल, बलर अफ द टुर्नामेन्ट, ब्याटर अफ द टुर्नामेन्ट, वेष्ट क्याच अफ द टुर्नामेन्ट, प्लेयर अफ द सिरिज लगायत विद्यामा पुरस्कारसमेत दिइने छ ।


पत्रकार सम्मेलनमा प्रायोजकसमेत सहभागी थिए । प्रायोजकहरुमध्ये एकजना राज पाण्डेले आफू पनि क्रिकेट खेल्न सौखिन, उदयीमान व्यवसायी र क्रिकेट तथा खेलाडीको क्षमता अभिवृद्धिमा साथ दिएको बताए ।

अर्का प्रायोजक टंक भट्टराईले एउटा निजी कम्पनीले निस्वार्थ भावना राखेर त्यति ठूलो इभेन्ट गर्न लागेकाले सहयोग गरिएको प्रष्टयाए ।

होमराज विष्टले मानिसहरु अहिले ग्याजेट र सामाजिक सञ्जालमै रुमल्लिएको बेला क्रिकेट जस्तो प्रत्यक्ष खेल इभेन्ट हुनु ज्यादै सराहनीय भएको बताए । उनले प्रतियोगिताले नेपाली समुदायलाई एकवद्ध गराउने समेत बताए ।

उक्त पत्रकार सम्मेलनमा होमराज विष्ट, सुरज तुलाचन, टंक भट्टराई, राज पाण्डे, गौरव आचार्य, सुलभ लोहनी, सोलिसिटर रोजन भण्डारी, रवि थापा, विनोद तामाङ, राजिव मानन्धर, ध्रुव दत्त, शम्भुकुमार केसी लगायत सहभागी थिए ।

आयोजकले भेन्यू उपलब्ध गराउने नेपाल रेष्टुरेन्टका आजेश सिंह र दीपेन्द्र कार्कीप्रति आभार समेत व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू