शनिबार, साउन १२, २०८१
07:01 | ११:४६

एघारौं ग्रीनवीचकपको उपाधि वाटरमेलन एफसीलाई, भेटेरानमा ढुकु एफसी विजेता

नेपाली लिङ्क जुलाइ २२, २०२३

तस्विर: विरेन्द्र नेपाल

लन्डन- नेपाली युथ एशोसिएसन यूकेद्वारा शनिबार साउथ इष्ट लन्डनमा आयोजित एघारौं ग्रीनवीचकपको उपाधि वाटरमेलन एफसीले जितेको छ।

बेलायतभरबाट आएका एक दर्जनभन्दा धेरै टीमबीचको प्रतिस्पर्धामा वाटरमेलनले पहिलो स्थान हासिल गर्दै उपाधि जितेको हो ।  

उपाधि जित्ने क्रममा प्रतिस्पर्धात्मक फाइनल खेलमा वाटरमेलनले नेपाली ड्रिम टीमलाई पेनाल्टीमा हराएको थियो।

विजेता टीमले ट्रफीसंगै १५ सय पाउन्ड नगद, प्रमाणपत्र र मेडलसहितको पुरस्कार प्राप्त गर्‍यो।उपविजेता नेपाली ड्रिम टीम ७ सय पाउन्ड नगद, प्रमाणपत्र र मेडलबाट पुरस्कृत भयो।

प्रतियोगितामा भेटेरान समूहमा पाँच टीमबीचको प्रतिस्पर्धामा ढुकु एफसी विजेता बन्यो। उसले ट्रफीसंगै नगद ५ सय पाउन्ड  ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्‍यो। उपविजेता वीकेन्ड एफसी सिनियरलाई २ सय ५० पाउन्ड नगद, प्रमाणपत्र र मेडलको पुरस्कार प्रदान गरियो।  

सो अवसरमा मुख्य र भेटेरान दुवै समूहमा उत्कृष्ट प्रदर्शन गर्ने बेस्ट प्लेयर तथा हाई स्कोरर खेलाडीलाई सम्मान गरिएको थियो।

विजयी खेलाडीहरुलाई स्थानीय रोयल ग्रीनवीच बरो उपमेयर जीत रानाभाट, यती नेपाली एशोसिएसन यूके अध्यक्ष पिपला देवान, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल, साउथ इष्ट रिजनल तमुधिं अध्यक्ष पिके लामा, ओएनएफ ग्लोबल कमिटीका विनोद ज्ञवाली, आरजीएनएस अध्यक्ष पूण्य रेग्मी, आयोजक नेपाली युथ एशोसिएसनका अध्यक्ष लछुमन गुरुङ, पूर्व अध्यक्ष ह्यारी गुरुङ, सल्लाहकारहरु फडिन्द्र भट्टराई र प्रसिद्ध प्रधान, उपाध्यक्ष तथा कार्यक्रम संयोजक राजन खकुराल, सहसंयोजक देवेन श्रेष्ठ, फुटबल कोआर्डिनेटर विशाल गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए।

त्यसअघि कार्यक्रम उद्घाटन प्रमुख अतिथि ग्रीनवीच बरोका मेयर डोमिनिक एम्बान, लन्डन दूतावासका सेकेन्ड सेक्रेटरी रामबाबु नेपाललगायतले गरेका थिए।  

दिनभरको निरन्तर वर्षाका बाबजुद खेलाडी र उपस्थित सयौं खेलप्रेमी दर्शकले उत्साहजनक रुपमा कार्यक्रम इन्जोइ गरेका थिए।

महोत्सवकै स्वरूपमा आयोजित कार्यक्रममा दिलु थापाको संयोजनमा बालबालिकाहरुबाट सांस्कृतिक नाच देखाइएको थियो भने नेपालबाट आएकी कलाकार रिना केसीले सांगीतिक प्रस्तुति गरेकी थिइन्। पूर्व निर्धारित लाइभ म्यूजिक र अन्य मनोरञ्जनात्मक कार्यक्रम भने प्रतिकुल मौसमका कारण प्रस्तुत हुन सकेनन्।  

सो अवसरमा हाईब्रिड बाइकसहितका आकर्षक पुरस्कारहरुसहित ‘राफल ड्र’ गराइएको थियो। 

कार्यक्रमस्थलमा नेपाली खानासहित केही व्यापारिक र च्यारिटी स्टलहरु समेत राखिएका थिए। 

आयोजकले महोत्सवको मुख्य स्पोन्सर साउथ इष्ट रिजनल तमुधिं र गोल्ड स्पोन्सर नेपाली साईक्लिङ क्लब यूके, क्यानन सेक्युरिटी, आर्क स्टोन म्यानेजमेन्टलगायतलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू