शनिबार, साउन १२, २०८१
06:55 | ११:४०

बाल अस्पताल निर्माणका लागि बेलायतबाट २३ लाख बढी संकलन

नेपाली लिङ्क जुलाइ २१, २०२३

तस्बिर- मिलन तमु

लन्डन – वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान कोइरालाको नेतृत्वमा नेपालमा शुरु गरिएको बाल अस्पताल निर्माण परियोजनाका लागि बेलायतबाट रु २३ लाखभन्दा बढी सहयोग संकलन भएको छ।

गत जुलाई ८ तारिख  अल्डरशटमा आयोजित च्यारिटी डिनरबाट खर्च कटाएर १३,७७१.८० पाउन्ड वचत भएको च्यारिटी डिनर आयोजक समितिका एक सदस्य चार्टर्ड एकाउन्टेन्ट सचिन श्रेष्ठले बताए। 

यसबाहेक नेप्लिज डक्टर्स एसोसिएशन यूकेले उक्त परियोजनाका लागि ५,००५ पाउन्ड सहयोग प्रदान गरेको छ भने हेल्थ एक्सचेन्ज नेपालले खोलेको जस्ट गिभिङ पेजबाट ६,००० पाउन्ड संकलन भइसकेको छ । 

तमुधिं यूकेले रु एक लाख सहयोग गरेको थियो। यसरी अहिलेसम्म रू २३ लाखभन्दा बढी जम्मा भैसकेको श्रेष्ठले बताए। 

यसैगरी नेप्लिज एकाउनटेन्टस एसोसिएसन यूके तथा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) ले पनि सहयोग संकलन गरिरहेका छन्। सहयोग संकलन हुने क्रम जारी छ।

डा कोइराला अध्यक्ष रहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) ले नेपालका सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाएको छ। 

काठमाडौंको हेपाली हाइटमा बाल अस्पताल निर्माणाधीन छ भने दमकमा निर्माण भइरहेको अस्पतालले सेवा शुरु गरिसकेको छ।

कार्यक्रममा नेप्लिज डक्टर्स एसोसिएसन यूके र कियोचबीच तालिम, प्रशिक्षण, सीप हस्तान्तरण लगायत क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी एक समझदारी पत्रमा पनि हस्ताक्षर गरिएको थियो।

यस अघि ब्रिटिश संसदको तल्लो सदन हाउस अफ कमन्सका सभामुखको कार्यालयमा आयोजित एक कार्यक्रममा सभामुख सर लिन्ड्से होयलले डा कोइरालाको कामबारे सुनेर आफू निकै प्रभावित भएको बताएका थिए । 

उनले नेपालप्रति आफ्नो गहिरो प्रेम रहेको बताउंदै नेपालमा बाल अस्पताल निर्माण परियोजनालाई सघाउन सबैलाई आग्रह गरेका थिए।

फ्रेन्ड्स अफ कियोच युकेका संयोजक ओजेश सिंहले नेपालमा निर्माणाधीन अस्पताल परियोजनालाई सघाउने बेलायत निवासी सबै मनकारी नेपालीहरुलाई हार्दिक धन्यवाद दिएका छन्। 

उनले उक्त परियोजना सफल बनाई सातै प्रदेशमा बालबालिकाहरुलाई  सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा पुराउने यो अभियानलाई तन, मन र धनले सघाउन अपिल पनि गरेका छन्। 

यस लिंकमा गएर उक्त परियोजनालाई सघाउन सकिन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू