शनिबार, साउन १२, २०८१
02:14 | ०६:५९

एनआरएनए यूके फुटले दुई चिरा: एकातिर चुनाव, अर्कातिर छुट्टै समितिको शपथ

नेपाली लिङ्क जुलाइ २१, २०२३


लन्डन- बेलायतवासी नेपालीहरुको अभिभावक भनिने गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेलाई फुटले दुई चिरा पारेको छ ।

फलस्वरूप शनिबार एकातिर निर्वाचन भइरहंदा अर्कोतिर छुट्टै कार्यसमितिको शपथग्रहण गर्ने तयारी छ।

एनआरएनए आइसीसीको साथप्राप्त सुनिलबाबु खड्का अध्यक्ष रहेको एनआरएनए यूकेमा शनिबार बिहान ६ देखि बेलुका मध्यरातसम्म अनलाइन मतदान हुँदैछ। 

नयाँ कार्यकालको अध्यक्षका लागि दिनेश घिमिरे, डा नारायण कंडेल र हित काजी गुरुङबीच त्रिपक्षीय प्रतिस्पर्धा छ भने उपाध्यक्ष, महासचिव, सहकोषाध्यक्ष, युवा संयोजक, इंग्ल्याण्ड तथा स्कटल्यान्ड परिषद अध्यक्ष एवम् आइसीसी सदस्यलगायतका पदमा पनि निर्वाचन हुँदैछ।

एनआरएनए यूके निर्वाचनका लागि अनलाइन मतदान चलिरहंदा शनिबार दिउंसो अल्डरसटको एम्प्यायर हलमा भने ‘एनआरएनए यूके’ कै निर्विरोध निर्वाचित छुट्टै कार्यसमितिको घोषणा तथा शपथग्रहण कार्यक्रम हुनेछ। 

दुई वर्षअघि निर्वाचित भएर केही महिनाअघि आइसीसीबाट पदमुक्त गरिएका प्रेम गाहामगर समर्थित समूहले छुट्टै अधिवेशन गर्दैछ। सो अधिवेशनले गाहामगरकै अध्यक्षतामा निर्विरोध सिंगो कार्यसमिति घोषणा गर्नेछ।  

शनिबारको निर्वाचनबाट निर्वाचित हुने नयाँ कार्यसमितिलाई आइतबार शपथग्रहण गराइएपछि बेलायतमा एनआरएनए यूके नामका दुई नवनिर्वाचित कार्यसमितिहरु रहनेछन्। जसले संस्थाभित्रको विभाजन समाधान गर्न भन्दापनि थप चर्काउने निश्चित छ।  

यही विभाजित संस्थालाई एकबद्ध पारेर अघि बढाउनु नै अब नेतृत्वमा आउनेहरुको प्रमुख चुनौति रहनेछ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू