शनिबार, साउन १२, २०८१
02:54 | ०७:३९

बेलायतमा बनाइएको ‘कैदीको पत्र’ नवौं सुपर-फ्लप फिल्म

नेपाली लिङ्क जुलाइ २१, २०२३


लण्डन- चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०७९/८० मा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरूको आधिकारिक कमाइ सार्वजनिक गरेको छ।

बोर्डले बिहीबार सूची जारी गर्दै गत आर्थिक वर्षमा ५७ वटा नेपाली फिल्म प्रदर्शन भएको जानकारी दिएको छ। 

यी फिल्मले ७६ करोड ७२ लाख ५६ हजार ग्रस कमाएको छ। १७ करोड ५२ लाखबढी कमाउँदै ‘छक्का पन्जा ४’ सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ भने ५२० रूपैयाँ कमाउँदै ‘शिवानी’ सुपर-फ्लप नेपाली फिल्म सावित भएको छ। 

फिल्म ‘शिवानी’ को ५ वटा मात्रै टिकट बिक्री भएको छ। दोस्रो सुपर-फ्लप फिल्म हो ‘चोर र पुलिस’। १०४ वटा टिकट बिक्री गर्दै फिल्मले १८ हजार ७ सयबढी कमाइ गरेको छ। 

सरिता लामिछाने अभिनित फिल्म ‘सरि मम’ तेस्रो सुपर-फ्लप नेपाली फिल्म हो। ११२ वटा टिकट बिक्री गर्दै फिल्मले २३ हजार ६ सयबढी कमाएको छ। 

‘आँधी तुफान २’ चौथो सुपर-फ्लप नेपाली फिल्म हो। १४५ वटा टिकट बिक्री गर्दै फिल्मले २८ हजार ४ सयबढी कमाइ गरेको छ। 

वर्षा सिवाकोटी अभिनित फिल्म ‘ए साथी सुन’ पाँचौं सुपर-फ्लप नेपाली फिल्म हो। २१२ वटा टिकट बिक्री गर्दै फिल्मले ६० हजार ५ सयबढी कमाएको छ।

सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘प्रेमा’ छैटौं सुपर-फ्लप नेपाली फिल्म हो। ३८५ वटा टिकट बिक्री गर्दै फिल्मले १ लाख १७ हजारबढी कमाइ गरेको छ। 

रिस्ता बस्नेत अभिनित फिल्म ‘पासो’ सातौं सुपर-फ्लप नेपाली फिल्म हो। ४३० वटा टिकट बिक्री गर्दै फिल्मले १ लाख १८ हजारबढी कमाइ गरेको छ।

बेलायतबाट कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ आठौं सुपर-फ्लप नेपाली फिल्म हो। ३९० वटा टिकट बिक्री गर्दै फिल्मले १ लाख ४३ हजार कमाएको छ।

‘कैदीको पत्र’का कलाकार

बेलायतबाटै बनाइएको सनमकुमार बैराग निर्देशित ‘कैदीको पत्र’ नवौं सुपर-फ्लप नेपाली फिल्म हो। ५७५ वटा टिकट बिक्री गर्दै फिल्मले १ लाख ६० हजार कमाएको छ।

दशौं सुपर-फ्लप नेपाली फिल्म हो ‘शोल अफ द कमान्डो’। १ हजार ८८ वटा टिकट बिक्री गर्दै फिल्मले २ लाख ४३ हजार कमाएको छ। 

गोर्खा सैनिककै कथामा बनाइएको उक्त फिल्मका मुख्य पात्र राजकुमार राई क्यानडा बस्छन् । सन् १९८६ मा साउथ कोरियामा आयोजित एसियन गेम्समा राईले तेक्वान्दोमा नेपालका लागि तेस्रो मेडल जितेका थिए भने नेपालमा भएको आठौं साउथ एसियन गेम्समा स्वर्ण पदक जितेका थिए ।  

सुपर-फ्लप यी नेपाली फिल्मले के पाठ सिकाएका छन् भने विदेशमा बनाउँदैमा फिल्म चल्दैनन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू