शनिबार, साउन १२, २०८१
03:25 | ०८:१०

ब्रिटिश सेनामा प्रत्यक्ष भोगेको लडाईं अन्तराष्ट्रिय फिल्ममा

नेपाली लिङ्क जुलाइ २१, २०२३


लन्डन । ब्रिटिश आर्मीमा २४ वर्ष काम गरेपछि पूर्व गोर्खा निकेश लिम्बुले नजिकबाट अनुभूति गरे लडाईं । जागिरका क्रममा उनी अफगानिस्तानमा तीनपटक, सियरा लियोनमा दुईसहित बोस्निया र अन्य कयौं देशमा ‘फ्रण्टलाइन’ मा परिचालित भए ।

उनको प्रत्यक्ष भोगाइमा युद्ध जहिले अप्रिय र सांच्चिकै निर्दयी हुन्छ । परिवार र आफ्नो इच्छा, सपना पन्छाएर आफू युद्धमा होमिनु एक सैनिकका लागि कम कठोर र पीडादायी हुन्न । 

युद्धमैदानमा उत्रंदा फिल्ममा देखिएजस्तो सहज हुन्न परिस्थिति । मानव भावना सम्हाल्न ज्यादै कठोर हुन्छ । युद्धको प्रत्यक्षदर्शी हुन निकेशलाई कहिल्यै इच्छा थिएन तर जागिरका क्रममा उनले त्यो कुरा भोगे । 

लन्डन फिल्म एकेडेमीबाट फिल्म मेकिङको सर्टिफिकेट लिएपछि निकेशले आफ्नो युद्धको भोगाइ समेटेर पहिलो सर्ट मुभी निर्देशन गरे ‘अ सोल्जर ।’ १० मिनेट ३० सेकेन्ड लामो अ सोल्जर काल्पनिक भन्दा पनि सत्य घट्नामा आधारित रहेको बताउंछन् निकेश । 

युद्ध मैदानमा धेरै सैनिक र तिनका परिवारले भोगेको कथा हो अ सोल्जर । फिल्मका मुख्य पात्र ब्रिटिश आर्मीमै काम गरेका सैनिक हुन् भने महिला पात्र तिनै सैनिककी श्रीमति हुन् । 

निर्देशक निकेश लिम्बु

युद्धमैदानमा होमिएको एक जना सिपाही आफ्नी श्रीमति गर्भवती हुंदा समेत आफ्नो कर्तव्य र जिम्मेवारी पुरा गर्न दृढ छ । ऊ केवल परिवार र जन्मथलोलाई मनमा संगाल्दै युद्ध मैदानमा शत्रु परास्त गर्न कटिवद्ध छ । उसलाई परिवार भन्दा कर्तव्यले बढी थिचेको हुन्छ ।  

यसमा लेखन निर्देशन निकेशकै छ भने निर्माता हुन् ज्ञानेन्द्र राउत ।

अ सोल्जरले कयौं अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुमा  सहभागिता जनाएर अवार्ड समेत जितेको छ । पाइनउड स्टुडियोज लन्डनमा भएको ‘लिफ्ट अफ ग्लोवल नेटवर्क सेसन २०२३’ मा फाइनलिष्टमा पुगेको उक्त मुभी सोही महोत्सवमा अडियन्स च्वाइस अवार्ड पाउन सफल भयो । 


त्यसैगरि, फ्रान्समा आयोजित ब्रिज अफ पिस इन्टरनेशनल फिल्म फेस्टिभल २०२३ मा पनि फाइनलिष्टमा परेको थियो र उक्त महोत्सवमा अडियन्स च्वाइस अवार्ड प्राप्त गर्‍यो । 

अमेरिकाको लस एन्जलसमा भएको ‘एसियन फिडब्याक फिल्म फेस्टिभल २०२३’ मा अफिसियल सेलेक्सनमा पर्न सफल भएको थियो ‘अ सोल्जर ।’ 

आउंदो नोभेम्बरमा पप्पी डेको साता ओडिटीबाट ‘अ सोल्जर’ रिलिज गर्ने योजनामा छन् निकेश ।

बेलायतमा बसोवास गर्ने निकेशको फिल्मसंग निकै लामो र घनिष्ट सम्बन्ध छ । उनी यसअघि हंसिया, रातोघर जस्ता फिल्ममा सह-निर्माता थिए भने राष्ट्रिय अवार्ड पाउन सफल चर्चित फिल्म ‘ब्लाइन्ड रक्स’ को निर्माण तथा परिकल्पना उनैले गरेका थिए । उनको निर्माणमा बनेको अर्को फिचर फिल्म ‘हृदय भरी’ छिट्टै प्रदर्शनमा आउंदैछ ।

पहिलो छोटो फिल्म सफल भएपछि निकै सन्तुष्ट भएका निकेश भविष्यमा फिचर फिल्म समेत निर्देशन गर्ने सोचमा छन् । ‘नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय मञ्चमा पुरयाउने मेरो धोको हो’ उनले सुनाए ।

गत वर्ष सेनाको जागिरबाट अवकास लिएका निकेश अहिले  बेलायतको रोयल एयरफोर्समा मिडिया विभागमा छन् जहां नेपाली अहिलेसम्म कार्यरत छैन् । ‘मिडिया रिलेटेड जागिरले पनि फिल्मलाई बढी समय दिने सोच छ’ उनले भने । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू