शनिबार, साउन १२, २०८१
02:17 | ०७:०२

आइसीसी सदस्यमा मत माग्दै कोभिड सहायता अभियानका लिडर डा साह

नेपाली लिङ्क जुलाइ १८, २०२३


लन्डन । एनआरएनए यूकेको यही जुलाई २२ मा तय निर्वाचनका लागि केही दिन मात्र बाँकी रहँदा चुनावी सरगर्मी उत्कर्षनजिक पुगेको छ। अध्यक्षमा पेचिलो त्रिपक्षीय भिडन्त हुंदैछ भने उपाध्यक्ष, महासचिव, आइसीसी सदस्यलगायतका पदमा पनि रोचक प्रतिस्पर्धा छ ।

एनआरएनए यूकेबाट अन्तरर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) मा प्रतिनिधित्व गर्ने चार सदस्यका लागि जम्मा ६ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये एक हुन् डा सुनिल साह।

एनआरएनए यूके वृत्तमा डा साहले पछिल्ला केहि वर्षमा गतिलो चर्चा कमाएका छन् । पुनम गुरुङ नेतृत्वको सन् २०१९-२०२१ को कार्यसमिति सदस्य पदमा निर्वाचित भएका उनले उपल्लै तहका पदाधिकारीले भन्दा पनि बढी काम देखाएर सबैको प्रशंसा बटुलेका थिए ।

कोभिड महामारीका बेला एनआरएनए यूकेले सञ्चालन गरेको राहत अभियानको नेतृत्व नै डा. साहले गरेका थिए । उनकै अगुवाइमा कोभिडको पहिलो उत्कर्षका बेला हरेक प्रदेशमा दुईका दरले जम्मा १४ वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाइएको थियो।

पछि दोस्रो चरणमा एनआरएनए यूकेले बेलायतमै झण्डै २ लाख ५० हजार पाउण्ड सहयोग जुटाएर आइसीसीमार्फत् नेपालमा सहयोग पठाउने अभियानको अगुवाइमा पनि डा साह थिए ।


त्यसबाहेक उनकै संयोजनमा बेलायतको नेपाली समुदायलाई कोभिडबारे सचेतना र परामर्श दिन नेपाली डाक्टर, नर्सको प्रत्यक्ष सहभागितामा लाइभ संवादका विभिन्न २६ वटा श्रृंखला सञ्चालन गरिएको थियो ।

बेलायतका चारै राज्यस्थित नेपाली समुदायलाई हजारौं औषधि, मास्कसहितका अत्यावश्यक सुरक्षा सामग्री वितरण गर्ने कार्य पनि उनले संयोजन गरेका थिए।

एनआरएनए यूकेको स्वास्थ्य विभाग संयोजन गरेका डा साहले आइसीसीको हेल्थ कमिटीमा पनि सेक्रेटरीका रुपमा योगदान गरे । सोहि कमिटीद्वारा दुई वर्षअघि लन्डनमा आयोजित ग्लोबल हेल्थ कन्फरेन्सको प्रमुख संयोजकको जिम्मेवारी पनि उनले नै सम्हालेका थिए ।

बेलायतको एनएचएसअन्तर्गत मिड योर्कशायर हस्पिटल ट्रस्टमा ‘कन्सल्टेन्ट ओरल एण्ड म्याक्सिलोफेसियल सर्जन’ का रुपमा कार्यरत छन् डा साह । उनलेयुनिभर्सिटी अफ लिड्स र हडर्सफिल्ड युनिभर्सिटीमा भिजिटिङ प्रोफेसरका रुपमा प्राध्यापन पनि गर्छन् ।

डेन्टिस्ट र एमबिबिएस दुवै योग्यता हासिल गर्ने नेपालकै पहिलो डाक्टर बन्न पाएकोमा गौरवान्वित छन् उनी ।

एनआरएनए आइसीसी सदस्य उम्मेदवार साहले बेलायतवासी नेपालीहरुको मतको अपेक्षा राखेका छन् ।

आफ्नो पेशा र परोपकारी कार्यमा कमाएको लामो अनुभवका साथै एनआरएनए यूके सदस्यका रुपमा निर्वाह गरेको भूमिकाका आधारमा पनि आफू थप जिम्मेवारी लिन उत्सुक बनेको उनी बताउँछन् ।

एनआरएनएको अन्तरर्राष्ट्रिय सञ्जालमार्फत संस्था र कम्युनिटीलाई जोड्ने, संस्थाभित्र फैलिंदै गएको इगोको भावना हटाउनेजस्ता कार्यमा पनि आफूले बेलायतमा सफल प्रयास गरिसकेको उनको दाबी छ ।

बेलायतवासी नेपालीको मत पाएर निर्वाचित हुन पाए समुदाय र संस्थाको लागि अझ बढि योगदान गर्ने उनको आकांक्षा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू