शनिबार, साउन १२, २०८१
06:40 | ११:२५

लन्डनमा स्वास्थ्यमन्त्रीको बेलायती मन्त्रीसंग भेटवार्ता

अनौपचारिक भ्रमणमा झन् व्यस्तता

नेपाली लिङ्क जुलाइ १७, २०२३

लन्डन । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले आज संयुक्त अधिराज्यका स्वास्थ्य राज्यमन्त्री वील क्वीन्ससँग संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता गरेका छन् ।

भेटमा मन्त्री बस्नेतले बेलायत सरकारले नेपालको आर्थिक-सामाजिक विकास विशेष गरी स्वास्थ्य क्षेत्रमा पुरयाएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा यसमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

नेपाल र बेलायतबीच हालै सम्पन्न बेलायतमा नेपाली नर्सहरु नियुक्ति सम्बन्धी सम्झौताप्रति खुशी व्यक्त गर्दै मन्त्रीले नेपाली स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धिका लागि सहयोग गर्न अनुरोध समेत गरेका थिए ।

बेलायती स्वास्थ्य मन्त्रीले नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग भइरहने, नेपालको नर्सिङ क्षेत्रको क्षमता अभिवृद्धिमा थप सहयोगका लागि कार्य भइरहेको र नेपाली नर्सहरुको बेलायत आगमनबाट दुई देशका लागि फाइदा पुग्ने व्यक्त गरेको लन्डनस्थित नेपाली दूतावासले सोमबार बेलुका एक विज्ञप्तिमार्फत जनाएको छ ।

उक्त भेटका अवसरमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसमेत सहभागी थिए ।

यसैबीच, स्वास्थ्यमन्त्री बस्नेतले १६ जुलाई आइतबार वीन्चेस्टरमा रहेको रोयल ह्याम्सायर काउन्टी हस्पिटलको तालिम केन्द्र, इमर्जेन्सी विभाग तथा वार्डहरूको भ्रमण गरी त्यहाँ नेपालबाट ल्याइने नर्सहरुको तालिम तथा स्थानान्तरण प्रक्रियाबारे जानकारी लिएका छन् ।

यसका साथै मन्त्रीले नेपाली राजदूतावासद्वारा आइतबारै आयोजित २१० औं भानु जयन्ती समारोहमा सहभागी भई बेलायतमा रहेका नेपाली साहित्यकार तथा साहित्यप्रेमीहरुको भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गरे ।

भ्रमणका अवसरमा उनले नेपाली डक्टर्स एसोशियसन यूके, नेपाली नर्सिङ्ग एशोसिएसन यूकेका पदाधिकारीहरु एवं बेलायतमा रहेका अन्य नेपाली समुदायसँग भेट गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेत जुलाई १४ मा संयुक्त अधिराज्य (यूके) को अनौपचारिक भ्रमणमा आएका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू